रामकृष्ण बोहरा
बागलुङ, चैत २१ गते । ज्येष्ठ नागरिक र असक्तहरुको लागि दिवा सेवा कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले बागलुङमा श्रीमद भागवत महापुराण पितृ सप्ताह सुरु भएको छ ।
बागलुङ नगरपालिका –३ चिप्लेटी बसपार्कमा सामुदायिक सेवा केन्द्रद्वारा आयोजित पितृ सप्ताहको शुभारम्भ गर्दै स्वामी कमलनयनाचार्यले दिवा सेवा केन्द्रले ज्येष्ठ नागरिक, असहाय, विपन्न बालबालिका, अपाङ्ग र अशक्तको क्षेत्रमा कल्याण हुने बताउनुभयो ।
चैत २७ गतेसम्म चल्ने सप्ताहमा पण्डित तीर्थराज उपाध्याय कृष्ण कथा वाचन गर्नुहुनेछ । सप्ताहमा पितृ उद्धारको कार्य पनि हुने भएकाले उत्साहजनक सहभागिता जुट्ने केन्द्रले अपेक्षा गरेको छ । सप्ताहमा हरेक दिन भजनकृतन, योग र उत्प्रेरणात्मक क्रियाकलाप गरिने छ । मानवताको रक्षाको लागि विद्वानहरुले प्रवचन दिनुहुनेछ ।
सप्ताहमा संकलित दानबाट गरिब, जेहेन्दार, असक्त, अपाङ्ग भएका र अभिभावकबिहीन विद्यार्थीको लागि कोष स्थापना गर्ने, सामाजिक सद्भाव र भातृत्व कायम गर्ने तथा लागूऔषध अपराध, घरेलु तथा महिला हिंसा, बालश्रम शोषण विरुद्वका कार्यक्रम पनि सञ्चालन गर्ने लक्ष्य रहेको सामुदायिक सेवा केन्द्रका अध्यक्ष लिलादेवी खड्काले जानकारी दिनुभयो ।
१६ लाख रुपियाँ खर्च अनुमान गरिएको सप्ताहमा १ करोड रुपियाँ संकलन गरेर हाल भइरहेका संरचनामा दिवा सेवा कार्यक्रम सञ्चालन गर्ने केन्द्रको योजना छ । ज्येष्ठ नागरिकलाई मनोरञ्जन दिने, भजन गाउने, चिया खाजाको व्यवस्थापन गर्न केन्द्र सञ्चालित हुनेछ ।