• २९ वैशाख २०८३, मङ्गलबार

हुलाकमार्फत घरमै राहदानी वितरण सेवा सुरु

blog

हुलाकमार्फत नागरिकको घरमा राहदानी पुर्‍याउनेसम्बन्धी द्विपक्षीय सम्झौता सार्वजनिक गरिँदै । तस्बिर : प्रवीण कुमार शर्मा

प्रवीण कुमार शर्मा
रौतहट, वैशाख २९ गते ।
जिल्ला हुलाक कार्यालय रौतहटले सेवाग्राहीका राहदानी घरमै पुर्‍याउने सेवा सुरु गरेको छ । जिल्ला हुलाक कार्यालय रौतहटका प्रमुख देवनाथ यादव र रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालबीच हुलाकमार्फत सेवाग्राहीको घरमै राहदानी उपलब्ध गराउने सम्झौता भएपछि सेवा सञ्चालनमा आएको जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासन प्रमुख रामनरेश साहले जानकारी दिनुभयो ।

जिल्ला हुलाक कार्यालय रौतहटका प्रमुख यादवका अनुसार मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत बुँदा नं. २७ अनुसार सरकारी सेवा घरमै उपलब्ध गराउने उद्देश्यले हुलाक सेवालाई आधुनिकीकरण गरी ‘गभर्नमेन्ट कुरियर सर्भिस’का रूपमा विकास गर्ने व्यवस्था गरिएको हो । यसअन्तर्गत राहदानी, नागरिकता प्रतिलिपि, सवारी चालक अनुमति पत्रलगायतका सरकारी कागजात घरमै पुर्‍याउने व्यवस्था रहेको छ । सोहीअनुसार रौतहटमा पहिलो चरणमा राहदानी घरमै पुर्‍याउने कार्य सुरु गरिएको उहाँले बताउनुभयो ।

घरमै राहदानी प्राप्त हुने भएपछि सेवाग्राहीमा उत्साह देखिएको छ । सेवा शुल्कसहितको भएकाले सबै सेवाग्राहीले यो सेवा नलिने गरेको राहदानी शाखामा कार्यरत कम्प्युटर अपरेटर राष्ट्र गिरीले बताउनुभयो । नजिक घर भएका सेवाग्राही कार्यालयमै आएर राहदानी लैजाने गरे पनि टाढा घर भएकाहरूले हुलाकमार्फत सेवा लिने गरेको उहाँले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय रौतहटमा राहदानी बनाउन आउनुभएका राजपुर नगरपालिकाका रोहितकुमार प्रसादले यो सेवाले आवत–जावत खर्च घट्नुका साथै समयको बचत हुने बताउनुभयो ।

घरदैलोमै राहदानी लिन इच्छुक सेवाग्राहीले राहदानी फारम भरेकै दिन हुलाक सेवाबाट राहदानी प्राप्त गर्न इच्छुक रहेको व्यहोराको छुट्टै फारम भरेर सोबापत ५५ रुपियाँ अग्रिम जिल्ला प्रशासन कार्यालय रौतहटमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ । दर्ता भएका सेवाग्राहीका राहदानी जिल्ला प्रशासन कार्यालयबाट प्राप्त गरी सम्बन्धित सेवाग्राहीलाई घरमै पुर्‍याइने जिल्ला हुलाक कार्यालय रौतहटले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी भुषालले सदरमुकामदेखि टाढा रहेका सेवाग्राहीलाई राहदानी लिनका लागि मात्र सदरमुकाम आउनुपर्ने झन्झट हटेको तथा समय र स्रोतको बचत हुने बताउनुभयो ।

सरकारले हुलाक सेवामार्फत सरकारी कागजात घरमै पुर्‍याउने निर्णय गरे पनि हुलाक दस्तुर निःशुल्क नभएकाले सेवाग्राहीबाट शुल्क लिएर सेवा प्रदान गरिने जिल्ला हुलाक कार्यालय रौतहटले जनाएको छ ।

करिब १ हजार ८ सय राहदानी जिल्ला प्रशासन कार्यालय रौतहटमा थन्किएको अवस्थामा रहेकाले ती राहदानी सम्बन्धित सेवाग्राहीको घरदैलोमा पुर्‍याउन सम्बन्धित पालिकासँग समन्वय भइरहेको जिल्ला हुलाक कार्यालय रौतहटका प्रमुख यादवले जानकारी दिनुभयो ।