• १४ वैशाख २०८३, सोमबार

सुकुमवासी व्यवस्थापन

blog

सुकुमवासी व्यवस्थापन चुनौतीपूर्ण काम हो । दसकौँदेखि बल्झिँदै र राजनीतीकरण गरिँदै आएको यो समस्याको स्थायी समाधानका लागि झन्डै दुई तिहाइको शक्तिशाली जननिर्वाचित सरकारले ठोस योजनासहित व्यवस्थापनको काम सुरु गरेको छ । सुकुमवासी बन्न कसैलाई पनि रहर हुँदैन । बाध्यताले सुकुमवासी बनेका नागरिकको व्यवस्थापन गर्नु राज्यको दायित्व र जिम्मेवारी दुवै हो । नेपालमा सुकुम्वासी हुने कारण अनेक छन् । कोही द्वन्द्वका कारण सुकुम्वासी भएका छन् । कोही बाढीपहिरो, भूकम्प, महामारी जस्ता विपत्का कारण सुकुम्वासी बन्न विवश छन् । पछिल्लो समय धेरैलाई त उपचार खर्चको पासोले पनि सुकुम्वासी बनाएको छ । यस्तै अवसरको खोजीमा हुने बसाइँसराइ र कतिपय गलत नीतिले पनि सुकुम्वासी बनेका छन् । समग्रमा यसको मूल कारण चाहिँ गरिबी नै हो । आफू वा आफ्नो परिवारका नाममा कतै पनि जग्गाजमिन नभएका र आर्थिक स्रोतले जग्गा खरिद गर्ने हैसियत पनि नराख्ने व्यक्ति सुकुम्वासी हुन् । राज्यले बेला बेला जग्गा बाँडेर भूमिहीन सुकुम्वासीको समस्या समाधानको प्रयास गरे पनि त्यो पर्याप्त थिएन । खर्चिलो बन्दै गएको जीवनशैलीले सुकुम्वासीको सङ्ख्या घट्दै जानुको साटो दिनप्रतिदिन बढ्दो छ । कतिपय नक्कली सुकुम्वासी पनि छन् । सुकुम्वासीका नाममा उनीहरूले सरकारी र सार्वजनिक जग्गा हडप्ने मात्रै गरेका छैनन्, सुकुमवासीकै शोषण पनि गर्दै आएका छन् । बर्सौंसम्म सुकुम्वासी समस्या समाधान नभएको तिनै नक्कली सुकुम्वासीका कारणले हो; जसलाई अहिले सरकारले लगत सङ्कलन र ‘स्क्रिनिङ’ मार्फत छुट्याइरहेको छ ।

 

भूमि समस्या समाधान आयोगका अनुसार देशमा कुल भूमिहीन सुकुमवासीको सङ्ख्या चार लाख छ । त्यसमध्ये करिब ९० हजार दलित समुदायका छन् । सङ्घीय राजधानीसमेत रहेको काठमाडौँ उपत्यकामा सुकुम्वासी तथा अव्यवस्थित बसोबासी खोलाकिनारमा जोखिमपूर्ण अवस्थामा बसेका छन् । यही कारण सरकारले अहिले थापाथली, गैरीगाउँ, मनहरालगायतका स्थानबाट सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई स्थानान्तरण गर्न सुरु गरेको हो । अव्यवस्थित बस्ती विस्तार गरेर बागमती नदीकिनारमा गरिएको अतिक्रमण दसकौँपछि बल्ल हटाइँदै छ । सरकारले सहमति बनाएरै काठमाडौँ महानगरपालिका–११ स्थित थापाथली, वडा नं. ९ स्थित गैरीगाउँ र सिनामङ्गलमा बागमती नदीकिनार कब्जा गरेर बनाइएका घरटहरा शनिबार भत्काएको छ । थापाथलीका घरटहरा भत्काउन थालेपछि गैरीगाउँ, सिनामङ्गल र शान्तिनगरमा रहेका सुकुमवासी बस्तीका बासिन्दाले धेरै जसो घरटहरा आफैँ भत्काएर सरसामान सारे । प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार सुकुमवासी व्यवस्थापन गर्ने सार्वजनिक प्रतिबद्धता व्यक्त गरेपछि शान्तिपूर्ण रूपमा घरटहरा हटाउन थालिएको हो ।  यसअघि सरकारी निकायबिचमै समन्वय नहुँदा सुकुमवासी बस्तीका घरटहरा भत्काएर बागमती नदीकिनार खाली बनाउने प्रयास असफल हुँदै आएको थियो । सरकारले वास्तविक सुकुमवासी पहिचान गरी व्यवस्थापन जिम्मा लिएपछि यो काम बल्ल सार्थक हुँदै छ । नदी र खोलाकिनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएको घरटहरा खाली गराउने अभियान तीव्र पारिएको छ । काठमाडौँ महानगरपछि कागेश्वरी मनोहरा नगरपालिका–८ को गोठाटार बुद्धचोक र वडा नं. ९ को मनोहराटोलमा रहेका अनधिकृत रूपमा विस्तार गरिएका बस्ती खाली गराइँदै छ । 


विभिन्न स्थानमा बसोबास गरिरहेका १४४ परिवार सरकारको सम्पर्कमा आएका र अन्य स्थानबाट पनि सम्पर्कमा आउने क्रम जारी छ । सम्पर्कमा आएका परिवारलाई दशरथ रङ्गशाला पु¥याएर विवरण सङ्कलन गरी काठमाडौँका होटेलमा राखिएको छ । घरायसी सामान कीर्तिपुरको सुन्दरीघाटस्थित राधास्वामी सत्सङ्ग व्यास नेपालमा सुरक्षित राखिएको छ । होटेलमा राखिएका परिवारमध्ये वास्तविक सुकुमवासी पहिचान गर्न सुरु गरिएको छ । पहिचान गर्दा वास्तविक सुकुमवासी ठहरिएकालाई दुई साताभित्र नागार्जुन नगरपालिका–१ स्थित सरकारी अपार्टमेन्टमा राखेर दीर्घकालीन व्यवस्थापन कार्य गरिने छ । काठमाडौँ, भक्तपुर र ललितपुरका नदी तथा खोलाकिनारमा अव्यवस्थित घरटहराले सहरको सौन्दर्य बिगार्नुका साथै जोखिम बढाएको छ । त्यहाँ तीन हजार ४९६ घरधुरी अव्यवस्थित रूपमा बस्दै आएका देखिएको छ । यो समस्या पञ्चायतकालदेखिकै हो । बहुदलीय व्यवस्था आएपछि समस्या झन् बढ्यो । यसले राजनीतिक रूप लियो । सुकुम्वासी बस्तीलाई भोट बैङ्क बनाइयो । यसले गर्दा यो समस्या पेचिलो बन्यो । समस्या समाधानका प्रयास देखावटी मात्र भए । बल्ल सङ्घीय सरकार र स्थानीय सरकारको समन्वयमा शान्तिपूर्ण तरिकाले सुकुमवासी बस्ती हटाउन सुरु गरिएको छ । सुकुम्वासी बस्ती हटाउने मात्र होइन, व्यवस्थापनको काम पनि सँगै सुरु गरिएको छ । सहरी गरिब र सुकुमवासीको बसोबासका लागि भनी राजधानीको इचङ्गुनारायणमा सार्वजनिक भवन (अपार्टमेन्ट) बनाइएको छ । २०७१ सालमै करिब छ रोपनी क्षेत्रफलमा सो भवन निर्माण गरिएको हो । यो भवनलाई आवश्यक मर्मत गरेर सुकुम्वासी परिवार राखिने तयारी गरिँदै छ ।