• १४ वैशाख २०८३, सोमबार

गाउँमै अस्पताल बनेपछि स्थानीय उत्साहित

blog

व्यास नगरपालिका–१० दुम्सीमा बनेको व्यास नगर अस्पतालको भवन । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, वैशाख १४ गते । 
व्यास नगरपालिका–१०, दुम्सीका बासिन्दा अहिले दङ्ग छन् । नगरपालिकाले आफ्नै लगानीमा सञ्चालन गरेको ‘व्यास नगर अस्पताल’ले सुविधायुक्त आफ्नै भवनबाट सेवा दिन थालेपछि स्थानीयमा खुसीयाली छाएको हो । केही समय अघिसम्म सामान्य उपचारका लागि पनि बजार धाउनुपर्ने बाध्यतामा रहेका यहाँका नागरिक अब घरआँगनमै १५ शय्याको अस्पताल पाएपछि उत्साहित भएका हुन् ।

व्यास–५, चिन्तुटारका तारापति पौडेलले गाउँमै यति राम्रो अस्पताल बन्नु स्थानीयका लागि ‘वरदान’ भएको बताउनुभयो । “उपचारका लागि टाढा जानुपर्ने झन्झट हटेको छ, उहाँले भन्नुभयो, ‘आफ्नै ठाउँमा सुविधा सम्पन्न सरकारी अस्पताल हुनु हाम्रो लागि गौरवको कुरा हो ।’ यस्तै खुसी शिवालय आमा समूहकी अध्यक्ष विष्णु लामिछानेको पनि छ । उहाँले स्वास्थ्य बिमाको सुविधा पनि यही अस्पतालबाट उपलब्ध गराउन माग गर्दै स्थानीयमा ठूलो आशा पलाएको बताउनुभयो ।

वि.सं. २०७७ सालमा तत्कालीन नेता (हाल राष्ट्रपति) रामचन्द्र पौडेलद्वारा शिलान्यास गरिएको यो अस्पतालले कोभिड महामारीको समयमा अस्थायी रूपमा सेवा सुरु गरेको थियो । अहिले ९६ लाख ३८ हजार रुपियाँको भवन र उपकरणसहित कुल दुई करोड ६६ लाख रुपियाँको लगानीमा व्यवस्थित पूर्वाधार तयार भएको नगरपालिकाका योजना शाखा प्रमुख डा. राजु पौडेलले जानकारी दिनुभयो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवम् व्यास–१० का निवर्तमान वडाध्यक्ष तुलसीराम सापकोटाका अनुसार नगरपालिकाका करिब आधा जनसङ्ख्यालाई यस अस्पतालबाट सेवा लिन सहज भएको छ ।

नगर प्रमुख वैकुण्ठ न्यौपानेले नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्न स्थानीय सरकारले आफ्नै लगानीमा अस्पताल सञ्चालन गरेको र यसलाई अझै विस्तार गरिने बताउनुभयो । नगर उपप्रमुख इन्दिरा दरैले सबै नागरिकको स्वास्थ्य पहुँच सुनिश्चित गर्न यस्ता संरचनाले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

अस्पतालले अब विशेषज्ञ सेवा र २४ सै घण्टा आकस्मिक सेवा विस्तारको तयारी अघि बढाएको छ । नव निर्मित भवनको हालै उद्घाटन गरियो । कार्यक्रममा स्तरीय सेवा प्रदान गरेकोमा अस्पतालको प्रमुख मेडिकल अधिकृत डा. नविना न्यौपानेलाई सम्मानसहित थप अध्ययनका लागि बिदाइ समेत गरिएको थियो । वडा नं. १० का अध्यक्ष खेमराज पोखरेलले अस्पताललाई दिगो बनाउन सबैको सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो ।