शालिग्राम नेपाल
चितवन, वैशाख १३ गते । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गतको आङ्गिक शिक्षालय ‘स्कूल अफ हेल्थ साइन्स’, भरतपुरले पूर्ण छात्रवृत्तिको कोटा वृद्धि गरेको छ ।
धेरै विद्यार्थीले पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने अवसर पाऊन् भन्ने उद्देश्यले पूर्ण शुल्कमा अध्ययन गराउने व्यवस्था खारेज गरी उक्त कोटालाई छात्रवृत्तिमा रूपान्तरण गरिएको हो । यसबाट प्राविधिक शिक्षामा थप विद्यार्थीले अवसर पाउने विश्वास गरिएको छ ।
शिक्षालय प्रमुख सुमन पौडेलका अनुसार अघिल्ला वर्षहरूमा २६ जनाले पूर्ण शुल्कमा अध्ययन गर्दै आएकामा सो व्यवस्था हटाई उक्त सङ्ख्यालाई पूर्ण छात्रवृत्तिमा थप गरिएको हो ।
उहाँले भन्नुभयो, “यसअघि पूर्ण शुल्कमा अध्ययन गर्ने व्यवस्था अन्तर्गत विद्यार्थीले तीन वर्षका लागि करिब एक लाख ३३ हजार रुपैयाँ तिर्नुपथ्र्यो । अब आगामी शैक्षिक सत्रदेखि उक्त सबै सङ्ख्या पूर्ण छात्रवृत्तिमा रूपान्तरण गरिएको छ ।”
उहाँका अनुसार गत वर्षसम्म २४ जनाले मात्र पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने व्यवस्था रहेकामा अब थप २४ जना गरी ४८ जनाले निःशुल्क अध्ययन गर्न पाउनेछन् ।
तीनवर्षे डिप्लोमा तहअन्तर्गत शिक्षालयले एचए, फार्मेसी, ल्याब, डेन्टल, रेडियोग्राफी, फिजियोथेरापीलगायत कार्यक्रम सञ्चालन गर्दै आएको छ । यी विषय अध्ययन गर्न आगामी वर्षदेखि छात्रवृत्ति बाहेकका विद्यार्थीले सहुलियत शुल्कस्वरूप वार्षिक ४८ हजारदेखि ५२ हजार रुपियाँसम्म तिर्नुपर्ने हुन्छ । यिनै विषय निजी प्राविधिक शिक्षालयमा अध्ययन गर्दा वार्षिक करिब एक लाख ७५ हजार रुपियाँसम्म खर्च हुने गर्दछ ।
शिक्षालयले थप २० प्रतिशत छात्रवृत्तिको व्यवस्था गरेको छ, जसमध्ये १० प्रतिशत प्रदेश कार्यालयको सिफारिसमा र १० प्रतिशत विशेष छात्रवृत्तिअन्तर्गत आवाससहित उपलब्ध गराइने जनाइएको छ । शिक्षालयका अनुसार कुल २४२ अध्ययन कोटामध्ये हाल ४८ जनाले पूर्ण छात्रवृत्तिमा अध्ययन गरिरहेका छन् ।
गत वर्षको परीक्षाफलअनुसार एचएमा ९२ प्रतिशत, फार्मेसीमा ६७ प्रतिशत, ल्याबमा ६३ प्रतिशत, रेडियोग्राफीमा ९६ प्रतिशत, फिजियोथेरापीमा ७७ प्रतिशत र डेन्टलमा ७२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
चितवन जिल्लामा सीटीईभीटीअन्तर्गत विभिन्न आङ्गिक शिक्षालयहरू सञ्चालनमा रहेका छन् । स्कूल अफ हेल्थ साइन्समा स्वास्थ्यसम्बन्धी कार्यक्रम, नारायणी बहुप्राविधिक शिक्षालयमा सिभिल इन्जिनियरिङ, भरतपुर बहुप्राविधिक शिक्षालयमा होटल व्यवस्थापन तथा दिवाकर बहुप्राविधिक शिक्षालय (माडी) मा फार्मेसी, सिभिल इन्जिनियरिङ र पशु विज्ञान अध्यापन हुँदै आएको छ ।
२०५४ सालमा स्थापना भएको यस शिक्षालयमा सुरुआती चरणमा सामान्य चिकित्सा (एचए) मात्र अध्यापन गरिन्थ्यो । हाल ६ वटा कार्यक्रम सञ्चालनमा रहेका छन् । शिक्षालयबाट हालसम्म ३ हजार ८६० विद्यार्थी उत्तीर्ण भइसकेका छन्, जो देशभरका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत छन् ।
जिल्लामा एक दर्जनभन्दा बढी निजी प्राविधिक शिक्षालय सञ्चालनमा रहेका छन् । छोटो समयमै रोजगारी तथा स्वरोजगारको अवसर प्राप्त हुने भएकाले प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या हरेक वर्ष बढ्दै गएको कालिका मेडिकल एण्ड टेक्निकल इन्स्टिच्युटका प्रमुख ध्रुवप्रसाद काफ्लेले बताउनुभयो ।