मुक्तिनाथ समाचारदाता
मुक्तिनाथ (मुस्ताङ), वैशाख १३ गते । मुस्ताङको थासाङ गाउँपालिका अन्तर्गत लाम्चो आकारको टिटीताल हेर्न पर्यटकको सङ्ख्या वृद्धि भइरहेको छ । ताल अवलोकन भ्रमणमा आउनुभएकी छिमेकी जिल्ला म्याग्दीको अन्नपूर्ण गाउँपालिकाकी उपाध्यक्ष दिवाकुमारी पुन तिलिजाले पौडिँदै गरेका हाँस र तालको बिच भागमा रहेको थुम्कामा हाँसको गुँड देखेर दङ्ग पर्नुभयो ।
आकर्षक पूर्वाधार, चारैतिर धुपी र सल्लाका रुखको जङ्गल रहेको टिटीतालको मनोरम प्राकृतिक वातावरणले तिलिजा जस्तै दैनिक घुम्न जाने पर्यटक लोभिने गरेका छन् । धवलागिरि र नीलगिरि हिमालसहित प्राकृतिक सुन्दरता, भौगोलिक बनावटका कारण टिटीतालको अवलोकनका लागि जाने पर्यटक सन्तुष्ट भएर फर्किने गरेका छन् ।
समुद्री सतहबाट दुई हजार ६७९ मिटर उचाइमा रहेको तालमा हाँसको बथानको अवलोकनले फरक अनुभूति हुने स्याङ्जाबाट अवलोकन गर्न आउनुभएका दर्शन न्यौपानेले बताउनुभयो । बेनी–जोमसोम सडक अन्तर्गत लेते छयो, धम्पु र सिर्खुमबाट झोलुङ्गे पुल हँुदै अवलोकनका लागि आउने गरेका पर्यटकलाई कालीगण्डकी नदीमाथि निर्माणाधीन लेते–छयो पक्की पुल अलपत्रका कारण सास्ती हुने गरेको छ ।
मुस्ताङमा रहेकामध्ये सबैभन्दा ठुलो ताल रहेकाले आकर्षक गन्तव्य बनाउन गाउँपालिकाले हरेक वर्ष पूर्वाधार विस्तारमा प्राथमिकता दिएको प्रमुख प्रशासकीय अधिकृत विकास परियारले बताउनुभयो । परियारले भन्नुभयो, “पूर्वाधार थपिएपछि चहलपहल बढेको छ । घुम्नैपर्ने पर्यटकीय स्थल थप व्यवस्थित बनाउँछौँ ।” परियारका अनुसार चालु आव २०८२/८३ मा ढुङ्गा बिछ्याउनका लागि १२ लाख रुपियाँ विनियोजन गरिएको छ ।
ताल धार्मिक महत्वको क्षेत्र भएकाले मन्दिर निर्माणसहित भक्तजनलाई समेत सहज हुने अन्य पूर्वाधारमा समेत खर्च गरिएको प्रमुख प्रशासकीय अधिकृत परियारको भनाइ छ । तालमा सङ्घीय सरकारको पर्यटन बोर्ड, गण्डकी प्रदेश सरकारले समेत पूर्वाधार निर्माणमा सघाइरहेको छ ।
ताल क्षेत्रमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय जोमसोमले संरक्षण तथा प्रवर्धनका क्षेत्रमा खर्च गर्ने गरेको एक्याप प्रमुख राजेश गुप्ताले बताउनुभयो । तालको महìव तथा संरक्षणमा विद्यार्थी, समुदायस्तरको अध्ययन अवलोकन भ्रमणसहित विभिन्न प्रजातिका चराको संरक्षणसमेत गरिएको गुप्ताको भनाइ छ ।
तालमा नेपालका अन्य स्थानमा नपाइने ‘मालार्ड’ प्रजातिको हाँसको वासस्थान रहेको र कुल १८६ प्रजातिका चराको वासस्थान रेकर्ड भएकाले एक्यापले संरक्षणमा विशेष ध्यान दिएको छ । थासाङ गाउँपालिकाभित्र टिटीताल, सेकुङ, भूतर्छोताल रहेको छ । गाउँपालिकामा रहेको ताल, गुफा प्रचारप्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेका छन् ।