• १३ वैशाख २०८३, आइतबार

हलेसी गुफा झैँ बटुक केभ

blog

हिन्दु धर्मग्रन्थमा कार्तिकेयलाई युद्धका देवता वा देवताहरूका सेनाध्यक्षका रूपमा चित्रण गरिएको छ । यिनलाई षडानन, षण्मुख, स्कन्ध र सुब्रमण्यम पनि भनिन्छ । यी एकादश रुद्रमध्येका एक रुद्र हुन् ।

मलेसियाको सेलाङ्गल राज्यमा प्रसिद्ध बटुक/कार्तिकेयको मन्दिर छ । मलेसियामा बटुक केभ नामको विश्वप्रसिद्ध तीर्थस्थल क्वालालम्पुरबाट उत्तर पहाडको काखमा अवस्थित छ । क्वालालम्पुरबाट बटुक केभसम्मको दुरी १५  किलोमिटर छ ।

बटुक केभ गुफामा मन्दिर रहेको छ । भनिन्छ, “यो गुफा ४० करोड वर्ष पुरानो हो र प्रारम्भमा यस गुफालाई ओराङ अस्ली जनजातिका टेमुआन समुदायले आश्रय स्थल बनाएको बताइन्छ । सन् १८९० मा मलेसियाली भारतीय व्यापारी के थाम्बुसामी पिल्लिईले यस गुफामा कार्तिकेयको मूर्ति स्थापना गरेका थिए ।”

सन् १८९१ मा त्यो मूर्तिलाई मन्दिर बनाई संरक्षण प्रदान गरियो । गुफामा अवस्थित यही मन्दिर ‘बटुक केभ’ को नामबाट विश्वप्रसिद्ध छ । यहाँ मुख्य मन्दिरमा पुग्नका लागि सिँढी उक्लिनु पर्छ । सिँढीमा २७२ खुट्किला रहेका छन् ।

सिँढीको फेदमा १४० फिट अग्लो बटुक/कार्तिकेयको मूर्ति छ । भनिन्छ, मूर्तिको निर्माणमा तीन टन स्टिलबार, सुनको पाँच लाख लिटर रङ र २५० घनमिटर कङक्रिट लागेको थियो । यस मूर्तिको निर्माण गर्न ४३ वर्ष लागेको बताइन्छ । 

हिन्दु धर्मग्रन्थमा कार्तिकेयलाई युद्धका देवता वा देवताहरूका सेनाध्यक्षका रूपमा चित्रण गरिएको छ । यिनलाई षडानन, षण्मुख, स्कन्ध र सुब्रमण्यम पनि भनिन्छ । यी एकादश रुद्रमध्येका एक रुद्र हुन् । कार्तिकेयको मन्दिर तामिलको बसोबास रहेको श्रीलङ्का, सिङ्गापुर, इन्डोनेसिया पनि रहेको छ ।         

बटुक/कार्तिकेय हिन्दु धर्मग्रन्थमा उत्पादक, रक्षक र ब्रह्माण्डको विनाशकर्ताका रूपमा चित्रित शिव र प्रजनन, प्रेम र भक्तिको देवका  रूपमा चित्रित पार्वतीका कान्छा सन्तान हुन् । यिनलाई शिवको ज्योति र बुद्धिको अवतार मानिन्छ । यी गणेशका कान्छा भाइ हुन् र योद्धाका रूपमा चित्रित छन् । दक्षिण भारतलाई मूल थलोका रूपमा अपनाउने तामिलका आराध्य देव हुन् कार्तिकेय ।

मन्दिर दर्शनका दिन भक्तहरू सुङ्घाई बाटु नदीमा स्नान गर्छन् । यहाँ प्रत्येक वर्ष जनवरी १४ र फेब्रुअरी १५ बीचमा थाइपुसम नामको ठुलो धार्मिक मेला लाग्छ ।  मेलामा मलेसिया र अन्य देशबाट भक्तजन र पर्यटक गरी झन्डै १५ लाख मानिसले मन्दिरमा प्रवेश गर्छन् ।

यस मन्दिरमा सबै धर्मावलम्बीलाई प्रवेश खुला छ । यहाँ बर्सेनि लाखौँ हिन्दु तीर्थयात्री र पर्यटक पुग्ने गर्छन् । मन्दिर जमिनबाट झन्डै सय मिटर उचाइमा रहेको छ । 

त्यहाँ तीन मुख्य गुफा छन् र अन्य ससाना गुफा पनि देख्न सकिन्छ । यी गुफामध्ये मुख्य गुफालाई ‘टेम्पल केभ’ नामबाट चिनिन्छ । मुख्य गुफामा आकाश हेर्न सकिने जमिनको खुला भाग छ । यस्तै जमिनबाट आकाश हेर्न सकिने खुला भाग नेपालको प्रसिद्ध तीर्थस्थल हलेसीमा पनि रहेको छ ।

खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलबाट २४ किलोमिटर पश्चिममा हलेसी महादेव नामक प्रसिद्ध तीर्थस्थल छ । हाल यो तीर्थस्थल हलेसी तुवाचुङ नगरपालिकामा पर्छ । पहाडका उकालीओराली र समथर भूभाग समेटिएको यस नगरपालिकाका भूभाग समुद्र सतहबाट ३१ सय फिटदेखि चार हजार ७३६ फिटको उचाइमा पर्छन् । 

हलेसी महादेवलाई हिन्दु र बौद्ध धर्मावलम्बी पवित्र तीर्थस्थल मान्छन् । महादेवको मन्दिर रहेको गुफाभित्र बौद्ध भिक्षु पवित्र बौद्ध ग्रन्थ पाठ गरिरहेको देख्न सकिन्छ । सातौँ शताब्दीमा बौद्ध धर्मावलम्बीका बीच सुप्रसिद्ध भिक्षु पद्मसम्भवले यहाँ तपस्या गरेका थिए भनिन्छ ।

पद्मसम्भव नामका बौद्ध भिक्षुले अतिसा नामका बौद्ध भिक्षुभन्दा पहिले भारतबाट नेपाल आई तिब्बतसम्म पुगी बौद्ध धर्मको उपदेश दिएका थिए । त्यसैले बौद्ध धर्मावलम्बीहरू हलेसी महादेवको स्थललाई तपोभूमिका रूपमा मान्छन् ।


हलेसी क्षेत्रमा हलेसो नामको चरा पाइने हुनाले यस क्षेत्रको नाम हलेसी रहन गएको हो भन्ने गरिन्छ ।

उपलब्ध भूदृश्यका आधारमा हेर्दा मलेसियाको बटुक केभ र हलेसीको हलेसी गुफाका बीचमा समानता देखिन्छ । एक त यी दुवै गुफा चुनढुङ्गाबाट बनेका छन् । अर्को हलेसीमा ‘बसाहा स्थान’ का रूपमा चर्चित गुफाको भित्री भागमा ठुलो छिद्र/प्वाल छ र यसबाट आकाशको ठुलो खण्ड देखिन्छ । त्यस्तै बटुक केभको भित्री भागमा ठुलो प्वाल छ र त्यसबाट पनि आकाशको ठुलो खण्ड देख्न सकिन्छ ।

बटुक केभ पहाडको फेदीमा छ भने हलेसी महादेव तीर्थस्थलको मुख्य भाग र बसाहा स्थान दुवै पहाडमा अवस्थित छन् । बटुक केभमा मेट्रो रेल र सडक यातायातको सहज पहुँच छ । नेपालको तीर्थस्थल हलेसीमा समेत सडक यातायातबाट पुग्न सकिन्छ । 

–ईश्वर पोखरेल 

–युवामञ्च