• १३ वैशाख २०८३, आइतबार

थाहामा हावाहुरीबाट १९ लाखभन्दा बढीको क्षति

blog

हावाहुरीले थाहाको माझगाउँमा पुर्‍याएको क्षति । तस्बिर : अनिल पराजुली

अनिल पराजुली
हेटौँडा, वैशाख १३ गते ।
हावाहुरीसँगै परेको वर्षाका कारण मकवानपुरको थाहा नगरपालिका–९, माझगाउँमा करिब १९ लाख रुपियाँभन्दा बढीको क्षति भएको छ । शुक्रबार र शनिबार आएको हावाहुरीका कारण स्थानीय १० जनाका घर तथा गोठमा क्षति पुग्दा १९ लाख ५ हजार रुपियाँ बराबरको नोक्सानी भएको प्रारम्भिक अनुमान बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार कर्ण बलामीको दुई वटा घरमा रहेका जस्तापाता, काठ, फर्निचर, झ्यालढोका, गहुँ, धान, मकैलगायत सामग्रीमा करिब १२ लाख रुपियाँ बराबरको क्षति भएको छ ।

यस्तै, गोपाल बलामीको ट्रस, जस्तापाता, इँट्टा र काठमा करिब १ लाख, घटोकप बलामीको भेडा–बाख्राको गोठ तथा घरमा १ लाख ५० हजार, जनकदास बलामीको घरको छानामा १ लाख तथा बुद्धिबहादुर बलामीको घरमा करिब १ लाख रुपियाँ बराबरको क्षति भएको छ ।

त्यसैगरी कृष्ण बलामीको घरको छाना तथा जस्तापातामा ५० हजार, रमेश बलामीको घरमा ५० हजार, राजन बलामीको बाख्रा गोठ र जस्तापातामा ९० हजार, हेमकुमारी बलामीको घरको छानामा ४० हजार तथा ओमबहादुर बलामीको घरको झ्याल र सिसामा २५ हजार रुपियाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय चित्लाङका प्रहरी सहायक निरीक्षक रमेशप्रसाद यादवको नेतृत्वमा खटिएको टोलीले क्षतिको विवरण सङ्कलन गरेको हो ।