• १३ वैशाख २०८३, आइतबार

डोजर दुर्घटनामा एक जना बेपत्ता

blog

बाजुरा–कालीकोट सिमानास्थित लैफुडाँडाको भिरमा दुर्घटनाग्रस्त डोजर (जेसिभी) ।

शेरबहादुर सार्की
बाजुरा, वैशाख १३ गते ।
बाजुरा र कालीकोट जिल्लाको सिमानास्थित लैफुडाँडाको भिरबाट डोजर दुर्घटना हुँदा एक जना बेपत्ता भएका छन् ।

कर्णाली काेरिडोर सडक अन्तर्गत चलिरहेको डोजर करिब १५० मिटर तल भिरमा खसेको हो । डोजरमा चालकसहित तीन जना सवार रहेकामा चालक र एक जना भने सकुशल रहेका छन् भने अर्को एक जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी नरेशबहादुर शाहीका अनुसार घटनास्थलमा प्रहरी टोली पुगेको छ । उहाँले भन्नुभयो, “डोजरमा चालकसहित तीन जना रहेका थिए । चालक र एक जना सुरक्षित छन् भने अर्को एक जना बेपत्ता छन् ।”

बेपत्ता व्यक्तिको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको छ । साथै, थप खोजी तथा उद्धारका लागि कालीकोटबाट नेपाली सेनाको टोली परिचालन गर्ने तयारी भइरहेको सूचना अधिकारी शाहीले बताउनुभयो ।