• १३ वैशाख २०८३, आइतबार

बारपाकको हुडिफाँटमा आधारभुत अस्पताल निर्माण

blog

गोरखाको बारपाक सुलिकोट गाउँपालिका –४, हुडिफाँटमा १५ शय्याको निर्माण सम्पन्न आधारभुत अस्पताल । तस्बिर : सुबास आले

गुणबहादुर रोका 

सुलीकोट, वैशाख १३ गते । गोरखाको बारपाक सुलिकोट गाउँपालिक–४, हुडिफाँटमा निर्माधिन १५ शय्याको आधारभुत अस्पताल निर्माणको काम सम्पन्न भएको छ ।

देशभरका सबै पालिकाहरूमा आधारभुत अस्पताल निर्माण गर्ने सङ्घिय सरकारको योजना अनुसार बारपाक सुलिकोट गाउँपालिकाको हुडिफाँटमा आधारभुत अस्पताल निर्माणको काम सम्पन्न भएको हो ।

सरकारको विनियोजित बजेटबाट भ्याटसहित १४ करोड ४० लाख सात हजार ८१३ रुपियाँमा लागतमा ठेक्का सम्झौता भएर आधारभुत अस्पतालको निर्माणको काम सम्पन्न भएको बारपाक सुलिकोट गाउँपालिकाका इन्जिनियर मेघनाथ यादवले जानकारी दिनुभयो । 

दुई तला ढलानको ४८ कोठे सुविधा सम्पन्न भवनमा रङरोगन गरेर चिटिक्कै पारिएको छ । प्रमुख प्रशासकीय अधिकृत सुवास आलेले भन्नुभयो, “बाहिरी बाल र कम्पाउन्डको काम पनि लगभग अन्तिम चरणमा पुगेकाले अबको केही दिनमै पुर्णरूपमा सञ्चालनमा ल्याउने तयारी भइरहेका छ ।”

१५ शय्याको अस्पताल निर्माण गर्न पालिका र निर्माण कम्पनीबिच २०७८ साल असार १३ गते ओमबुद्ध नब कान्तिपुर प्रालिसँग ठेक्का सम्झौता भएर अस्पताल निर्माणको काम सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।

ठेक्का सम्झौता अनुसार २०७९ पुस १४ गते अस्पताल निर्माणको काम सम्पन्न गर्नुपर्ने भएता पनि निर्माण कम्पनीले विभिन्न ढिलासुस्तीको कारण तीन पटक म्याद थपेपछि मात्र आधारभुत अस्पताल निर्माण सम्पन्न भएको हो ।

गोरखाको बारपाक सुलिकोट गाउँपाकिाकाको सबै भन्दा मध्यभागमा सबैलाई पाइपर्ने हुडिफाँटमा अस्पताल निर्माणले पालिकाका नागरिकलाई स्वास्थ्य सेवा दिन सहज हुने देखिएको पालिकाका स्वास्थ्य शाखा अधिकृत कृष्ण भट्टले बताउनुभयो ।

बारपाक सुलिकोट गाउँपालिका भित्र अपस्ताल नहुदाँ उक्त पालिकाका बिरामीलाई सामान्य उपचारका लागि पनि गोरखा अस्पताल, चितवन, पोखरा र काठमाडौँ लैजानु पर्ने बाध्यता अन्त्य भएको गाउँपालिकाका अध्यक्ष विष्णु भट्टको भनाइ छ ।

 गाउँपालिका भित्र आधारभुत अस्पताल निर्माण सम्पन्न भइसकेकाले अबको केही दिनमा औपचारिक रूपमा विज्ञ चिकित्सकसहितको सेवा दिने गरी तयारी गरेको अध्यक्ष भट्टले जानकारी दिनुभयो ।