शेरबहादुर राई
ओखलढुङ्गा, वैशाख १३ गते । ओखलढुङ्गाको सिद्धिचरण लोकमार्ग अन्तर्गत हर्कपुरदेखि ठाडेसम्मका जोखिमयुक्त मोडहरूमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ‘कन्भेक्स ऐना’ जडान गरिएको छ ।
सडक डिभिजन कार्यालय हर्कपुरका अनुसार मानेभन्ज्याङ गाउँपालिका–७, हर्कपुरदेखि सिद्धिचरण नगरपालिका–६, ठाडेसम्मका विभिन्न खतरनाक मोडहरूमा नयाँ ऐना राख्ने तथा पुराना प्रतिस्थापन गर्ने गरी कुल २६ वटा कन्भेक्स ऐना जडान गरिएको हो । यस कार्यका लागि तीन लाख ५० हजार रुपियाँ बजेट खर्च गरिएको कार्यालयले जनाएको छ ।
कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सविन जोशीले चालु आर्थिक वर्षको विनियोजित बजेटबाट दुर्घटना न्युनीकरण गर्ने लक्ष्यसहित ऐना जडान गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार कन्भेक्स ऐना राखिएपछि मोडमा विपरीत दिशाबाट आउने सवारी साधन सजिलै देखिने भएकाले दुर्घटना कम हुने अपेक्षा गरिएको छ ।
उहाँले जोखिमयुक्त अन्य मोडहरूमा पनि आवश्यकता अनुसार थप ऐना जडान गर्ने योजना रहेको बताउनुभयो । प्राविधिक अध्ययनका आधारमा आगामी दिनमा थप स्थानहरू पहिचान गरी विस्तार गरिने उहाँको भनाइ छ ।
यसैबिच, सोही लोकमार्ग अन्तर्गत सोलुखुम्बु क्षेत्रमा पनि दुई लाख ५० हजार रुपियाँ बजेटमा १९ वटा जोखिमपूर्ण मोडहरूमा कन्भेक्स ऐना जडान गरिएको छ ।
कार्यालयका अनुसार ओखलढुङ्गा र सोलुखुम्बु गरी कुल ४५ वटा जोखिमयुक्त मोडहरूमा कन्भेक्स ऐना राखिएको छ । यसअघि जडान गरिएका कतिपय ऐनाहरू हावाहुरी तथा मानवीय कारणले क्षतिग्रस्त भएका थिए ।