प्रेमराज सिम्खडा
कालीकोट, वैशाख १३ गते । कर्णाली काेरिडोरमा एक्साभेटर दुघर्टना हुँदा एक जना बेपत्ता भएका छन् ।
काेरिडोर अन्तर्गत बाजुराको जगन्नाथ गाउँपालिका–६ ,लौखुडाँडास्थित कर्णाली काेरिडोरमा स्काभेटर दुर्घटना हुँदा एक जना बेपत्ता भएका छन् भने एक जना सकुशल रहेका छन् ।
आइतबार बिहान कर्णाली काेरिडोर अवरुद्ध भएको सूचना प्राप्त भएपछि प्रहरी चौकी जुड्डीबाट प्रहरी सहायक निरीक्षक रमेश रावलको कमान्डमा खटिएको टोली घटनास्थल पुगेको थियो।
प्रहरीका अनुसार लौखु जिरो पोइन्ट–कोल्टी खण्डमा नयाँ सडक निर्माणका क्रममा निस्किएको माटो काेरिडोरमा थुप्रिँदा सडक अवरुद्ध भएको थियो ।
उक्त माटो सफा गर्ने क्रममा कर्णाली प्रदेश ३–०१–००३ क. ६३११ नम्बरको एक्साभेटर अनियन्त्रित भई सडकबाट करिब दुई सय मिटर तल भिरमा खसेको हो ।
दुर्घटनामा एक्साभेटरमा सवार कालीकोट जिल्ला नरहरीनाथ गाउँपालिका–२ निवासी अन्दाजी १८ वर्षीय महेश रावल बेपत्ता हुनुभएको छ । चालक सोही स्थानका २५ वर्षीय केशव विष्ट र सहचालक सकुशल रहेको प्रहरीले जनाएको छ। घटनापछि कर्णाली काेरिडोर अझै अवरुद्ध रहेको छ ।
बेपत्ता व्यक्तिको खोजी कार्य जारी रहेको छ । दुर्घटनाग्रस्त एक्साभेटर कालिकोट पलातागाउँपालिका–७ निवासी कल बमको रहेको खुलेको छ।
घटनास्थल प्रहरी चौकी जुड्डीबाट करिब १४ किलोमिटर पश्चिममा रहेको जिल्ला प्रहरी कार्यलय कालीकोटका प्रहरी निरीक्षक बरम यादवले जानकारी दिनुभयो ।