चन्द्र पन्दाक
ताप्लेजुङ, वैशाख १३ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१०, फुरुम्बुका महिलालाई उद्घोषण तालिम प्रदान गरिएको छ ।
बोल्ने क्षमतासँगै महिला नेतृत्व विकास गर्ने उद्देश्यले फुरुम्बुका महिलालाई उद्घोषण तालिम प्रदान गरिएको हो ।
फुरुम्बुका वडाध्यक्ष सन्तोष लिम्बूका अनुसार ३० जना महिलालाई क्षमता विकास तथा उद्घोषणसम्बन्धी तालिम प्रदान गरिएको छ ।
फुरुम्बु वडावासी महिलालाई वैशाख ८ देखि १२ गते शनिबारसम्म पाँच दिने उद्घोषण तालिम प्रदान गरिएको वडाध्यक्ष लिम्बूले जानकारी दिनुभयो । वडाध्यक्ष लिम्बूका अनुसार उद्घोषण तालिममा सहभागी महिलालाई बोल्ने सीप र कला सिकाइएको थियो।
वडाभित्रका महिलाको बोल्ने क्षमता अर्थात अभिव्यक्ति कलाको विकासमा टेवा पुर्याउने गरी तालिम आयोजना गरेको उहाँले जानकारी दिनुभयो ।
यता तालिमबाट महिलाको बोल्ने शैली तथा अभिव्यक्ति क्षमताको विकास भएको आफूले अनुभूति गरेको लिम्बूले बताउनुभयो ।शनिबार सकिएको तालिमका सहभागीलाई फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेन लगायतले प्रमाणपत्र वितरण गर्नुभयो।
प्रमाणपत्र वितरण गर्नुहुँदै नगर प्रमुख मादेनले तालिममा सिकेको सिपलाई व्यवहारमा उतार्दै आफूलाई महिला नेतृत्वका रूपमा स्थापित गर्न सहभागीलाई आग्रह गर्नुभयो ।
अभिव्यक्ति कलाले नेतृत्व विकासमा सघाउ पुर्याउने भएकाले तालिमबाट प्राप्त सिपलाई व्यवहारिक जीवनमा प्रयोग गरेमा मात्र सफलता हासिल गर्न सकिने उहाँले बताउनुभयो ।
तालिमको सहजीकरण नेपाल पत्रकार महासङ्घ ताप्लेजुङका पूर्वअध्यक्ष तथा उज्यालो पोस्ट दैनिकका सम्पादक खगेन्द्र अधिकारीले गर्नुभएको थियो ।
समापन कार्यक्रममा तालिममा सिकेको सिपबारे सहभागीले आफ्नो अनुभूति भनाइ राखेका फुरुम्बुका वडासचिव सचिन रेग्मीले जानकारी दिनुभयो ।