• १३ वैशाख २०८३, आइतबार

गुल्मीको ग्वादीकाचौरमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड हुँदै

blog

प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिको बैठक । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा (गुल्मी), वैशाख १३ गते ।
गुल्मीको मुसिकोट नगरपालिका–४, ग्वादीकाचौरमा १६औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ ।

जिल्ला खेलकुद विकास समिति, तम्घासमा बसेको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिको बैठकले आगामी वैशाख २८ गतेदेखि ३० गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य महेश काउछाले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लाका स्थानीय तहबाट प्रतियोगितामा सहभागी हुने खेलाडीहरूको नाम दर्ता वैशाख २५ गतेभित्र जिल्ला खेलकुद विकास समितिको कार्यालयमा गरी सक्नुपर्ने छ ।

चिदीचौर खेलमैदान निर्माणाधीन रहेकाले पछिल्ला दुई वर्षदेखि जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड सदरमुकाम तम्घास बाहिर आयोजना हुँदै आएको छ । १५औँ संस्करण रुरुक्षेत्र गाउँपालिकाको घिउबेँसी खेल मैदानमा सम्पन्न भएको थियो ।

जिल्लाका १२ वटै स्थानीय तहका खेलाडीहरूको व्यवस्थापन चुनौतीपूर्ण भए पनि उनीहरूलाई मुसिकोटमा सहभागी गराउनु पहिचान र प्रचारका दृष्टिले महत्त्वपूर्ण हुने भएकाले व्यवस्थापनमा नगरपालिकाले सहजीकरण गर्ने मुसिकोट नगर खेलकुद विकास समितिका अध्यक्ष सन्दीप क्षेत्रीले बताउनुभयो ।

ग्वादीकाचौरमै वैशाख २५ देखि २७ गतेसम्म मुसिकोट राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पनि सञ्चालन हुने छ । त्यस्तै, वैशाख ३१ देखि जेठ २ गतेसम्म तेस्रो मुसिकोट मेयर रनिङ कप आयोजना हुने छ । उक्त प्रतियोगिताअन्तर्गत जिल्ला भित्रको खुला अन्तरपालिका स्तरीय पुरुष भलिबल, पालिका स्तरीय कबड्डी तथा ब्याडमिन्टन प्रतियोगिता समावेश गरिएका छन् ।