• १३ वैशाख २०८३, आइतबार

गण्डक नहरको अतिक्रमण हटाउन सुरु

blog

नारायणी सिँचाइ व्यवस्थापन कार्यालय, वीरगन्जले गण्डक नहरको किनारमा अतिक्रमण गरी बनाइएका संरचना भत्काइँदै । तस्बिर : कन्हैयालाल केशरी

कन्हैयालाल केशरी
वैशाख १३ गते ।
नारायणी सिँचाइ व्यवस्थापन कार्यालय, वीरगन्जले गण्डक नहरको किनारमा अतिक्रमण गरी बनाइएका पक्की तथा कच्ची घर, टहरा, भकारी र झुप्रोहरू हटाउन आइतबार बिहान ६ बजेदेखि सुरक्षाकर्मी परिचालन गरी अभियान सुरु गरेको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगन्ज र गुठी संस्थानको आग्रहमा वीरगन्ज गण्डक चोकदेखि पर्सा जिल्लाको जानकी टोलासम्मको करिब २६ किलोमिटर गण्डक नहरको दायाँ–बायाँ (डिल) अतिक्रमण गरी बनाइएका करिब ४८० वटा पक्की तथा कच्ची संरचना हटाउने कार्य भइरहेको छ ।

उहाँले गुठी संस्थान पर्साको आग्रहमा पर्सा जिल्लाको महुवन मठ वरपर गुठीको जग्गा अतिक्रमण गरी बनाइएका ४८ वटा कच्ची तथा पक्की घर–टहरा पनि आइतबार साँझसम्म हटाइसकिने गरी काम भइरहेको जानकारी दिनुभयो ।


नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगन्जका प्रमुख मनोज पटेलका अनुसार वीरगन्ज गण्डक चोक र पर्साको जानकी टोलाबाट एकैसाथ चार वटा डोजर (ब्याकहो लोडर) तथा प्राविधिक र जनशक्ति परिचालन गरी अतिक्रमित संरचना हटाउने काम भइरहेको छ ।

उहाँले पहिलो चरणमा गण्डक नहरको मुख्य भाग र दोस्रो चरणमा सहायक नहरको डिलमा बनेका संरचना हटाइने जानकारी दिनुभयो ।

नहरको किनारमा अव्यवस्थित बसोबास र संरचनाका कारण सरसफाइमा समस्या हुँदै आएको तथा फोहोर थुप्रिँदा पानी जम्ने र पानी प्रवाहमा समेत असर परेको छ ।

वर्षायाम अघि नै नहर सरसफाइ आवश्यक रहेको भन्दै समयमै काम नहुँदा चैत २७ गतेको गोरखापत्र दैनिकमा “डिल अतिक्रमण हुँदा गण्डक नहरको सरसफाइ प्रभावित” शीर्षकमा समाचार प्रकाशित भएपछि सम्बन्धित निकायको ध्यानाकर्षण भएको जनाइएको छ ।