• १३ वैशाख २०८३, आइतबार

नवलपरासीका सबै स्थानीय तहमा भोलिबाट पठनपाठन सुरु गर्ने निर्णय

blog

अन्तरपालिका बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलन । तस्बिरः बिकास अधिकारी

बिकास अधिकारी
पश्चिम नवलपरासी, वैशाख १३ गते ।
सङ्घीय सरकारको परिपत्र विपरित पश्चिम  नवलपरासीका स्थानीय तहहरूले भोलि (वैशाख १४ गते)देखि विद्यालयहरूमा पठनपाठन सुरु गर्ने भएका छन् ।  जिल्लामा रहेका सबै (सात) पालिकाका प्रमुख तथा अध्यक्षहरूको अन्तरपालिका समन्वय बैठकले भोलिबाट विद्यालय सञ्चालन गर्ने निर्णय गरेको रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले बताउनुभयो ।

बैठकले सङ्घीय सरकारको निर्णयले शैक्षिक क्षेत्रमा अन्यौल सिर्जना गरेको निष्कर्ष निकाल्दै भोलीदेखि विद्यालयहरूमा पठनपाठनसहित सम्पूर्ण शैक्षिक गतिविधि सञ्चालन गर्ने निर्णय गरेको हो ।  सङ्घीय सरकारको निर्णय अनुसार वैशाख १५ गतेबाट भर्ना अभियान सुरु गरी २१ गतेबाट पठनपाठन सुरु गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै स्थानीय तहलाई निर्देशन दिएको थियो । तर जिल्लाका स्थानीय तहहरूले पछिल्लो समय हप्तामा दुई दिन बिदा, वैशाख लागेपछि पनि लामो समय सम्म विद्यालय नखुल्दा बालबालिकाको पठनपाठनमा गम्भीर असर परेको ठहर गर्दे भोलिबाट विद्यालय सञ्चालन गर्ने निर्णय गरेको बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनुभयो ।

“सङ्घको निर्णय अव्यवहारिक छ, विद्यालय तत्काल सञ्चालन गर्नुपर्ने अभिभावको पनि दबाब छ, सोहि कुरालाई मध्यनजर गरेर सबै पालिकाले विद्यालय सञ्चालनको निर्णय गरेका छौँ, श्रेष्ठले भन्नुभयो ।” जिल्लामा विद्यालयहरूले भर्ना अभियान सञ्चालन गरी सकेका छन् । पालिकाहरूको संयुक्त निर्णयले भोलिबाट सबै विद्यालय सञ्चालनमा आउने छन् ।