• १३ वैशाख २०८३, आइतबार

अपराधका घटना बढ्दै, दोषी उम्कँदै

blog

बोमलाल गिरी
नवलपुर, वैशाख १३ गते ।
गत वर्ष फागुन १३ गते गैँडाकोट–२, शान्तिनगरमा डेरा गरी बसिरहेकी गुल्मीको मुसिकोट–९ की २४ वर्षीया बबिता सापकोटाको धारिलो हतियार प्रहार गरी विभत्स रूपमा हत्या भयो । हत्यापछि उहाँको कोठा बाहिरबाट ताला लगाइएको अवस्थामा फेला परेको थियो ।

त्यसैगरी चैत २३ गते नवलपुरको देवचुली–१६, टाँगिकोटमा घरमै सुतिरहेको अवस्थामा ७५ वर्षीय जीवनराम थनेतको हत्या भयो । घटनामा उहाँकी ७० वर्षीया श्रीमती गुलबसिनिया थनेत गम्भीर घाइते हुनुभयो । यो घटनाबारे प्रतिनिधिसभामा समेत प्रश्न उठाइएको थियो ।

यस्तै, वैशाख ११ गते शुक्रबार गैँडाकोट नगरपालिका–९, धबाह ताल नजिकैको जङ्गलमा अन्दाजी १५, १६ वर्षीया एक युवतीको शव फेला परेको छ । युवतीको पहिचान हालसम्म खुल्न सकेको छैन । शवलाई पोस्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले उक्त घटनालाई पनि हत्या भएको आशङ्का गरेको छ । घटनास्थलमा खटिनुभएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार जङ्गलमा युवतीको शव भेटिनु र घटनाको प्रकृति हेर्दा हत्या भएको आशङ्का गरिएको छ, तर शवको पहिचान र पोस्टमार्टम रिपोर्ट नआएकाले यकिन भन्न नसकिने अवस्था रहेको छ ।

जिल्लामा लगातार हत्याका घटना भइरहे पनि हालसम्म दोषी पहिचान हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय प्रमुख, प्रहरी उपरीक्षक युवराज खड्काले विशेष टोली परिचालन गरी अनुसन्धान जारी रहेको र दोषी पत्ता लगाउने नजिक पुगेको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “हामी विशेष टोली परिचालन गरी अनुसन्धान गरिरहेका छौँ, नतिजा नआएसम्म पूर्ण रूपमा निष्कर्षमा पुग्न सकिँदैन ।”

यसरी हत्याका घटना बढ्दै जाँदा दोषी पहिचान नहुँदा समाजमा त्रास फैलिएको स्थानीयको भनाइ छ । प्रतिनिधिसभा सदस्य राजन गौतमले आफ्नै वडामा वृद्ध दम्पतीमाथि आक्रमण हुँदा पनि दोषी पत्ता नलाग्दा त्रास बढेको भन्दै प्रहरीलाई छिटो निष्कर्षमा पुग्न आग्रह गर्नुभएको छ ।

उहाँले भन्नुभयो, “मैले प्रहरी प्रमुखलाई निरन्तर आग्रह गरिरहेको छु, उहाँले अनुसन्धान भइरहेको भन्नुहुन्छ,” सांसद गौतमले भन्नुभयो, “आशा गरौँ, प्रहरीले छिट्टै दोषी पहिचान गर्न सफल हुने छ ।”