साहारा लिम्बू
फुङलिङ, वैशाख १३ गते । मालपोत कार्यालय ताप्लेजुङले गत आर्थिक वर्षभन्दा साढे ३८ लाख बढी राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्ष २०८१–८२ को तुलनामा चालु आर्थिक वर्ष २०८२–८३ मा ३८ लाख ६७ हजार १३७ रुपियाँ बढी राजस्व सङ्कलन गरेको हो ।
आर्थिक वर्ष २०८२–८३ को पछिल्लो नौ महिना अर्थात चैत मसान्तसम्ममा दुई करोड ७३ लाख २७ हजार १९३ रुपियाँ राजस्व सङ्कलन भएको कार्यालय प्रमुख निर्मल शेर्पाले जानकारी दिनुभयो । गत आर्थिक वर्षको सोही अवधिमा दुई करोड ३४ लाख ६० हजार ५५ रुपियाँ मात्र राजश्व सङ्कलन भएको थियो ।
गत आर्थिक वर्षमा रजिस्ट्रेसन दस्तुर, न्यायिक सेवा, मोठ रोक्का तथा प्रतिलिपि प्रदानबाट एक करोड २६ लाख ३९ हजार ७९८ रुपियाँ र पूँजीगततर्फ एक करोड आठ लाख २० हजार २५७ रुपियाँ गरी कुल दुई करोड ३४ लाख ६० हजार ५५ रुपियाँ राजस्व सङ्कलन भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्ममा रजिस्ट्रेसन दस्तुरमार्फत एक करोड ५५ लाख ८९ हजार ७९३ रुपियाँ, न्यायिक सेवामार्फत चार लाख ५६ हजार ९०७ रुपियाँ राजश्व सङ्कलन भएको कार्यालय प्रमुख शेर्पाको भनाइ छ । उहाँका अनुसार मोठ रोक्का ७७ हजार चार सय र प्रतिलिपि ९५ हजार एक सय रुपियाँ राजस्व सङ्कलन भएको छ ।
कार्यालय प्रमुख शेर्पाका अनुसार सबैभन्दा बढी चैतमा ५१ लाख दुई हजार १०५ रुपियाँ र सबैभन्दा कम कात्तिकमा १२ लाख ४५ हजार १३ रुपियाँ राजश्व सङ्कलन भएको छ । त्यस्तै, चालु आवको साउनमा १६ लाख ४१ हजार ४३२ रुपियाँ, भदौमा १४ लाख ७१ हजार ३७७, असोजमा २४ लाख ४१ हजार ५०३, मङ्सिरमा ४२ लाख ८६ हजार ८०७, पुषमा ४२ लाख ९१ हजार २१०, माघमा ४८ लाख ९७ हजार ४२२ र फागुनमा १९ लाख ५० हजार ३२३ रुपियाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । गत आर्थिक वर्षमा पनि सोही अवधिको चैतमा सबैभन्दा बढी ५२ लाख ४० हजार १३१ रुपियाँ राजस्व सङ्कलन भएको थियो ।