• १३ वैशाख २०८३, आइतबार

छब्बिस योजनाको अन्तिम भुक्तानी सिफारिस

blog

हुम्ला समाचारदाता

हुम्ला, वैशाख १३ गते । सामाजिक विकास कार्यालयले जिल्लाका पाँच वटा गाउँपालिकाका २६ वटा योजनाको अन्तिम भुक्तानीका लागि सिफारिस गरेको छ । निर्माण सम्पन्न भएका ती योजनाको लागत स्टिमेट अनुसारको कामको मूल्याङ्कन गर्दै अनुगमनमा निस्केको कार्यालय प्रमुख टोलीले अन्तिम भुक्तानी दिने निष्कर्ष निकालेको हो । ताँजाकोट, चङ्खेली, सर्केगार्ड, खार्पुनाथ र सिमकोट गाउँपालिकामा ती योजना सञ्चालन भएका थिए ।

कार्यालयद्वारा सञ्चालित योजनाको स्थलगत अनुमगन गर्दा कामको गुणस्तर र लागत स्टिमेट अनुसार काम भएको पाइएका कारण पाँच वटा गाउँपालिकाका २६ वटा योजनाको अन्तिम भुक्तानीका लागि सिफारिस गरिएको कार्यालय प्रमुख ईश्वरबहादुर सिंहले बताउनुभयो । 

यसअघि प्राविधिकले मात्र गर्ने मूल्याङ्कनका आधारमा निर्माण भएका योजनाको अन्तिम भुक्तानी दिने गरिएकोमा यस पटक भने कार्यालय प्रमुख, लेखा प्रमुख र प्राविधिक प्रमुखको त्रिपक्षीय स्थलगत मूल्याङ्कनका आधारमा भुक्तानी प्रक्रिया अगाडि बढाउने कार्यालयले निर्णय अनुसार यो काम गरिएको उहाँले जनाउनुभयो । उहाँका अनुसार गाउँपालिकामा कुल निर्माणाधीन योजनामध्ये ताँजाकोट गाउँपालिकामा छ वटा, चङ्खेली गाउँपालिकामा चार वटा, सर्केगार्ड गाउँपालिकामा सात वटा, खार्पुनाथ गाउँपालिकामा तीन वटा र सिमकोट गाउँपालिकामा एउटा योजनाको अन्तिम भुक्तानी दिनयोग्य भएका छन् । काम सम्पन्न भएर भुक्तानी कार्य अगाडि बढाउन लागिएका यी योजनामा विद्यालय घेरबार, खेल मैदान निर्माण, ग्याबिन लगाउने कार्य र विद्यालय भवन रहेका छन् । 

संयुक्त अनुगमन र मूल्याङ्कन गरिसकेपछि उपभोक्ता समितिलाई भुक्तानीका लागि आवश्यक कागजात सबै बोकेर कार्यालयमा आउन पनि कार्यालयले आग्रह गरेको छ । हालसम्म ३३ प्रतिशत वित्तीय प्रगति गरेको सो कार्यालयले वैशाखभित्र ५५ देखि ६० प्रतिशत भौतिक प्रगति हासिल गर्ने लक्ष्य लिएको छ । यस वर्ष सामाजिक विकास कार्यालयले ४८ वटा योजना उपभोक्तामार्फत, १९ वटा योजना टेन्डर र आठ वटा विपत्का गरी ७६ वटा योजना निर्माण गर्न लागेको जनाएको छ ।