• १३ वैशाख २०८३, आइतबार

चौथो बुट्टाबारी गोल्डकपको उपाधि आयोजक बुट्टाबारी युनाइटेडलाई

blog

उपाधि विजेता बुट्टाबारी युनाइटेड । तस्बिर : लीलाराज खड्का

लीलाराज खड्का
वैशाख १३ गते ।
झापाको बिर्तामोडमा जारी चौथो बुट्टाबारी गोल्डकपको उपाधि आयोजक बुट्टाबारी युनाइटेडले जितेको छ । घरेलु मैदान र दर्शकको साथ पाएको आयोजकले धरानस्थित फेयर क्लबविरुद्ध शनिबार भएको फाइनल खेलमा २–१ गोल अन्तरको कठिन जित निकाल्दै उपाधि रक्षा गरेको हो ।

उपाधिसँगै आयोजकले नगद २ लाख २२ हजार २२२ रुपियाँ प्राप्त गरेको छ । उपविजेता बनेको धरानले १ लाख १ हजार १११ रुपियाँमा चित्त बुझाएको छ ।

बिर्तामोड–६ स्थित हरियाली खेल मैदानमा भएको खेलमा सबै गोल दोस्रो हाफमा सम्भव भएका थिए । आयोजकका लागि खेलको ७६ औँ र ८६ औँ मिनेटमा प्रताप राईले एक्लै दुई गोल गर्नुभयो । उहाँको प्रदर्शनसँगै आयोजक खेलमा हावी भएको थियो ।

खेलको अन्तिम समयमा धरानका तर्फबाट कृष्ण राईले एक गोल गर्नुभयो, तर त्यो सान्त्वना गोलमा सीमित रह्यो ।  फाइनल खेलको प्लेयर अफ द म्याच बुट्टाबारीका दुई गोलकर्ता प्रताप राई घोषित हुनुभयो । उहाँले नगद ३ हजार रुपियाँ प्राप्त गर्नुभयो ।

आयोजकका विवेक मगर उत्कृष्ट गोलकिपर, करण लिम्बू राइजिङ प्लेयर र धरानका सौरा राउत हाईस्कोरर घोषित हुनुभयो । उनीहरूले जनही १० हजार रुपियाँ प्राप्त गरे । आयोजककै सनम राई प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै नगद १५ हजार रुपियाँ प्राप्त गर्नुभयो ।