• १३ वैशाख २०८३, आइतबार

फोहोर नउठ्दा नगर दुर्गन्धित

blog

एक सातादेखि भैरहवाको लुम्बिनी गेटनजिकै थुप्रिएको फोहोर ।

भैरहवा समाचारदाता

भैरहवा, वैशाख १३ गते । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका एक सातादेखि फोहोर नउठ्दा दुर्गन्धित बनेको छ । सर्वोच्च अदालतले डन्डा नदी किनारमा फोहोर डम्प गर्न रोक लगाएपछि नगरपालिकाको फोहोर व्यवस्थापन प्रणाली ठप्प भएको हो । विगत एक सातादेखि फोहोर सङ्कलन हुन नसक्दा मुख्य बजारदेखि भित्री टोलसम्म दुर्गन्ध फैलिएको छ भने स्थानीयवासीको दैनिकी प्रभावित बनेको छ ।

नगरपालिकाले विगत दुई वर्षदेखि डन्डा नदी किनारमा अस्थायी रूपमा फोहोर व्यवस्थापन गर्दै आएको थियो । तर सो स्थानमा फोहोर फाल्दा वातावरणीय असर पर्ने भन्दै अधिवक्ता विवेक बख्रेल र कानुनकी विद्यार्थी अञ्जली सिलवालले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । अदालतले गत वैशाख ४ मा उक्त स्थानमा फोहोर फाल्न रोक लगाउने आदेश दिएपछि नगरको फोहोर व्यवस्थापन सङ्कटमा परेको हो ।

यसअघि पनि नगरपालिकाले विभिन्न स्थानमा फोहोर व्यवस्थापन प्रयास गर्दै आएको थियो । सुरुमा नगरपालिका वडा नम्बर १, को मेउडिहवामा डम्पिङ गरिए पनि स्थानीयको विरोधपछि त्यो स्थानमा फोहोर फाल्न छाडिएको थियो । त्यसपछि डन्डा खोला किनारलाई अस्थायी विकल्प बनाइए पनि अहिले अदालतको आदेशपछि त्यो पनि बन्द भएको छ ।

उचित डम्पिङ साइट नहुँदा नगरपालिकाको फोहोर व्यवस्थापन दीर्घकालीन समस्याका रूपमा रहँदै आएको छ । स्थानीय सरकारलाई जिम्मेवारी भए पनि राजनीतिक विवाद, जग्गा अभाव र स्थानीय विरोधका कारण समाधान हुन नसकेको हो । नगरपालिकाले ओमसतियामा करिब छ बिघा जमिन खरिद गरेको भए पनि त्यहाँ पनि विवाद र असहमतिका कारण उपयोगमा ल्याउन सकिएको छैन । यसबिच एसियाली विकास बैङ्कबाट प्राप्त ३२ करोड रुपियाँभन्दा बढी रकमसमेत उपयोग हुन नसकी फ्रिज भएको थियो ।

हाल अदालतको आदेशपछि नगरपालिकाले अस्थायी रूपमा फोहोर प्लास्टिकमा बाँधेर सडक किनारमा थुपारिरहेको छ । घरमै कुहिने र नकुहिने फोहोर छुट्याउन स्थानीयलाई आग्रह गरिएको छ । नगरपालिकाले वैकल्पिक स्थानको खोजी गरिरहेको जनाएको छ । 

नगरप्रमुख इश्तियाक अहमद खानका अनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको १० किलोमिटर आसपास फोहोर थुपार्न नपाइने नियमले समस्या झनै जटिल बनाएको छ । उहाँले भन्नुभयो, “नगरभित्र फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थान छैन । हामी विकल्प खोजिरहेका छौँ र छिट्टै समाधान गर्छौं ।” उहाँका अनुसार हाल सिद्धार्थनगर–९ मा रहेको नगरपालिकाको जग्गा प्रयोग गर्ने तयारी भइरहेको छ ।

नगरमा दैनिक २० देखि २२ टनसम्म फोहोर उत्पादन हुने गरेको छ तर एक सातादेखि फोहोर नउठ्दा होटल, अस्पताल, व्यावसायिक प्रतिष्ठानदेखि घरघरमै फोहोर थुप्रिएको छ । यसले वातावरणीय प्रदूषणसँगै स्वास्थ्य जोखिम पनि बढाएको छ ।

स्थानीय व्यवसायी तथा बासिन्दाले दुर्गन्धका कारण व्यवसाय प्रभावित भएको गुनासो गरेका छन् । सिद्धार्थनगर–१२ का व्यवसायी दीपक बनियाँका अनुसार पसल अगाडि नै फोहोर थुप्रिँदा ग्राहक आउन छाडेका छन् । उहाँले भन्नुभयो, “दुर्गन्धले पसलमा बस्न कठिन भएको छ ।” सिद्धार्थनगर–८ का व्यवसायी केशवप्रसाद ज्ञवालीले लुम्बिनी गेट क्षेत्रमै फोहोर थुप्रिँदा पर्यटनमा समेत नकारात्मक असर पर्ने खतरा बढेको बताउनुभयो । उहाँका अनुसार सङ्क्रमण फैलिने डर र व्यवसायमा गिरावट दुवै समस्या देखिएको छ । स्थानीयवासीले गर्मी मौसममा फोहोर लामो समयसम्म नउठ्दा विभिन्न रोग फैलिने जोखिम रहेको भन्दै तत्काल समाधान खोज्न आग्रह गरेका छन् ।