सुलीकोट समाचारदाता
सुलीकोट, वैशाख १३ गते । गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको महाविनाशकारी गोरखा भूकम्पको १२ वर्ष पूरा भएको छ । २०७२ साल वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा गएको ७.८ रेक्टर स्केलको विनाशकारी भूकम्पले गोरखा जिल्लामा मात्र ४७१ जनाले ज्यान गुमाएका थिए ।
विनाशकारी भूकम्पबाट गोरखासहित १४ जिल्लामा अत्यधिक मात्रामा क्षति पुगेको थियो । जसबाट हजारौँ घर भत्किए, सयौँले ज्यान गुमाए र बाँचेकाको जीवन पनि बदलियो तर भूकम्प गएको लामो समय बितिसक्दा पनि बारपाक सुलिकोट गाउँपालिका–१, गैह्रागाउँस्थित दलित बस्तीका केही परिवारका अझै पनि अस्थायी टहरामै बस्न बाध्य छन् ।
भूकम्पपछि अधिकांश स्थानमा पुनर्निर्माणको काम सम्पन्न भइसकेको छ । पक्की घर, विद्यालय, स्वास्थ्य संस्था र सडक संरचना बनेका छन् तर दलित बस्तीका करिब १५ भन्दा बढी परिवार भने अझै स्थायी घरको पर्खाइमा छन् । पुरानो बस्ती जोखिमयुक्त भएकाले त्यही घर बनाउन नपाइने नयाँ ठाउँमा बसोवासका लागि घडेरी नपाइने यी दुई समस्याबिच उनीहरूको जीवन अल्झिएको छ ।
स्थानीय तुलबहादुर विकले भन्नुभयो, “बारपाकको गैह्रगाउँमा अहिले रातभरि निद्रा पर्दैन । बर्खा लाग्न साथ असिना र पानीले टहरोको भित्र पानी पसेर बालबालिका र वृद्धवृद्धालाई जोगाउँदै रात काट्दै बस्नुपर्ने बाध्यता रहेको छ ।” वडा सदस्य लक्ष्मी विकका अनुसार घर बनाउने चाहना सबैको छ तर जग्गा नहुँदा समस्या झन् जटिल बनेको छ । केही परिवार पुरानो थलोमा फर्कन चाहन्छन् भने केही सुरक्षित स्थानमा सर्न तयार छन् तर दुवै अवस्थामा जग्गा व्यवस्थापन नहुँदा उनीहरू अन्योलमा परेको उहाँले बताउनुभयो ।
भूकम्पपछि गैह्रागाउँलाई जीवित सङ्ग्रहालय बनाउने योजना ल्याइएको थियो तर स्थानीयस्तरमा सहमति नजुट्दा योजना कार्यान्वयन हुन सकेन । यसले बस्ती व्यवस्थापनको काम अझै पछाडि धकेलिएको छ । जसको प्रत्यक्ष असर दलित समुदायले भोगिरहेका छन् । दलित बस्तीको समस्या समाधानका लागि जग्गा व्यवस्थापन मुख्य चुनौती रहेको बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले दलित परिवारलाई सुरक्षित स्थानमा स्थायी बसोबासको व्यवस्था गर्न पहल गरिरहेका छौँ तर घडेरी अभावले समस्या आए पनि समस्या समाधान गर्ने गरी काम अघि बढिरहेको छ ।”
बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले भूकम्पपछि गाउँका रूपमा रहेको बारपाक अहिले पहाडको नयाँ सहरका रूपमा स्थापित हुँदै गएको बताउनुभयो । भूकम्पपछि बारपाक कस्तो भयो होला भनेर बारपाक पुग्नेको चहलपहल बढेको उहाँको भनाइ छ । एघार वर्षपछि पनि बारपाकको दलित बस्तीका बासिन्दाका लागि पुनर्निर्माण अधुरो छ । उहाँहरूको पीडा केवल घरको अभाव मात्र होइन, अवसर र समानताको अभाव पनि हो ।