• १३ वैशाख २०८३, आइतबार

शालिग्राम शिलामा मूर्ति बनाइँदै

blog

मुक्तिनाथ समाचारदाता

मुक्तिनाथ (मुस्ताङ), वैशाख १३ गते । मुस्ताङको घरपझोङ गाउँपालिका अन्तर्गत जोमसोमस्थित कालीगण्डकी नदीको किनारामा २२ फिट अग्लो शालिग्राम शिलामा मूर्तिका लागि ढुङ्गा काट्ने र स्केच बनाउन मूर्तिकार व्यस्त हुनुहुन्छ । दिनेश्वर महतोसहितका २१ जना अनुभवी मूर्तिकार शालिग्राम शिलामा मूर्ति कुँद्न छिनो, हथौडा, ग्रेन्डर जस्ता औजारको प्रयोग गरिरहनुभएको छ । मुस्ताङ घुम्न गाएका पर्यटक, स्थानीयवासीले समेत यो कामलाई निकै चासोपूर्वक हेर्ने गरेका छन् । 

घरपझोङ गाउँपालिका र ललितकला प्रज्ञाप्रतिष्ठानको संयुक्त आयोजनामा १५ दिने घरपझोङ राष्ट्रिय मूर्तिकला कार्यशालामा स्थानीयलाई समेत सिक्ने अवसर दिइएको घरपझोङ गाउँपालिकाका प्रमुख मोहनसिंह लालचनले बताउनुभयो । गाउँपालिका अध्यक्ष लालचनले भन्नुभयो, “भगवान्सँगै हिमाली भेकको जैविक विविधता झल्काउन जनावरको मूर्ति बन्ने छन् । यहाँको धार्मिक पर्यटकको बसाइ अवधि बढाउने गरी थप नयाँ योजना बनाइरहेका छौँ ।” गाउँपालिका अध्यक्ष लालचनका अनुसार २१ जना मूर्तिकारले कार्यशाला अवधिभर मुस्ताङ जिल्लाको धार्मिक तीर्थस्थल मुक्तिनाथ, दामोदरकुण्डलगायतका धार्मिक स्थलमा पूजा गरिने गणेश, शिव पार्वती, विष्णु, बुद्धलगायतका भगवान्को मूर्तिलाई पहिलो प्राथमिकतामा राखिएको छ । 

त्यसै गरी मुस्ताङको हिमाली क्षेत्रमा वासस्थान रहेको हिउँचितुवा, याकनाकलगायत अन्य जङ्गली र घरपालुवा जनावरलगायत आकर्षक पार्क बनाउन अन्य विभिन्न मूर्ति बनाउने सम्झौता भएको अध्यक्ष लालचनको भनाइ छ । 

शालिग्रामको महिमा, सभ्यता र शालिग्राम लोप हुनबाट जोगाउनसमेत पार्कले सघाउने अध्यक्ष लालचनले बताउनुभयो । मूर्तिकार महतोले भन्नुभयो, “हिमाली जिल्लामा आयोजना भएको यो कार्यशालाले नयाँ अनुभव दिएको छ ।”