काबुल, वैशाख १५ गते । पछिल्लो समयमा अफगानिस्तानले सार्वजनिक सेवामा महिलाको गम्भीर र बढ्दो अभावको सामना गरिरहेको जनाइएको छ । बालिका तथा केटीको शिक्षा र महिलाको रोजगारीमा प्रतिबन्धका कारण सन् २०३० सम्ममा २५ हजार भन्दा बढी महिला शिक्षक र स्वास्थ्य कार्यकर्ता गुमाउने संयुक्त राष्ट्रसङ्घीय एजेन्सी युनिसेफले चेतावनी दिएको छ ।
युनिसेफले अफगानीस्तानको पछिल्लो परिस्थितिलाई दोहोरो सङ्कटको रूपमा वर्णन गर्दै महिलालाई उच्च शिक्षामा बहिष्कारको विरुद्धमा कार्य गर्दै उनीहरूलाई शैक्षिक पहुँच विहिन हुनुबाट रोकेको जनाएको छ । प्रतिवेदनका अनुसार चालु दशकको अन्त्य सम्ममा देशले २० हजार महिला शिक्षक र पाँच हजार चार सय स्वास्थ्यकर्मी गुमाउन सक्ने अनुमान गरिएको छ ।
सन् २०२१ सेप्टेम्बरबाट अफगान सरकारले बालिकालाई माध्यमिक शिक्षामा प्रतिबन्ध लगाएपछि, १० लाख भन्दा बढी बालिका आफ्नो सिकाइ अधिकारबाट बञ्चित भएको युनिसेफले जनाएको छ । यदि यो प्रतिबन्ध सन् २०३० सम्म कायम रह्यो भने २० लाख भन्दा बढी बालिका प्राथमिक तहकै विद्यालय पहुँचभन्दा बाहिर रहने चेतावनी युनिसेफले जनाएको छ ।
अफगानिस्तानमा केटीलाई हाल कक्षा–छ भन्दा माथिको शिक्षाका लागि प्रतिबन्ध लगाइएको भने महिलालाई अर्को सूचना नआएसम्म विश्वविद्यालयमा उपस्थित हुन निषेध गरिएको छ । प्रतिवेदनले अफगान सरकारलाई केटीको माध्यमिक शिक्षामा लगाइएको प्रतिबन्ध तुरुन्तै हटाउन आग्रह गरेको छ , भने अन्तर्राष्ट्रिय समुदायलाई अफगान बालिकाको शिक्षाको मौलिक अधिकारको संरक्षणमा सहयोग गर्न आह्वान गरेको छ । रासस/सिन्ह्वा