सिराज खान
नेपालगन्ज, वैशाख १५ गते । बाँके बैजनाथ गाउँपालिका–६ का एक महिलाको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएपछि मृतकका आफन्तहरूले अस्पतालका चिकित्सकमाथि अभद्र व्यवहार गरेका छन् ।
सुरक्षाको मागसहित भेरी अस्पतालका चिकित्सकहरूले मङ्गलबार ओपिडी सेवा बन्द गरेका छन् । बैजनाथ–६ की ६२ वर्षिया महिला दिलसरा विकको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको विषयलाई लिएर सोमबारदेखि नै अस्पतालमा तनाव रहँदै आएको थियो ।
मृतकका आफन्तहरूले अस्पतालको लापरवाही र चिकित्सकको कमजोरीबाट बिरामीको मृत्यु भएको भन्दै क्षतिपूर्ती र चिकित्सकमाथि कारबाहीको माग गर्दै आएका छन् ।
सोही विषयलाई लिएर भइरहेको छलफलका क्रममा मृतकका आफन्तले अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीलगायत चिकित्सकमाथि हातपात र अभद्र व्यवहार गरेकोले असुरक्षा भएको जनाउँदै मङ्गलबार ओपिडी लगायतका कामकाज बन्द गरिएको अस्पतालका चिकित्सक डा. देवेन्द्र आचार्यले बताउनुभयो ।
उहाँले चिकित्सक र स्वास्थ्यकर्मीले असुरक्षा भएको जनाउँदै काम गर्न नमानेकाले ओपिडी बन्द गरिएको बताउनुभयो । सोमबार पीडितको पक्षबाट प्रहरीमा उजुरी दर्ता गर्ने र छानबिनका लागि मेडिकल काउन्सिलमा निवेदन दिने सहमति भएपछि मृतकको शव आफन्तले बुझ्ने क्रममा आफन्तमध्येबाट अस्पतालका प्रमुख, चिकित्सकहरू तथा स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार हुँदा अवस्था बिग्रिएको अस्पताल विकास समितिका पदाधिकारीले जनाएका छन् ।
मुटुको समस्या रहेकी विक मोटरसाइकलमा बसेर सामान्य अवस्थामा नै उपचारका लागि अस्पताल आएकोमा उपचारको क्रममा चिकित्सकको कमजोरी र अस्पतालको लापरवाहीबाट उहाँको मृत्यु भएको मृतकका छोरा सुरेश विश्वकर्माले आरोप लगाउनुभयो ।
उहाँले जिल्ला प्रहरी कार्यालय बाँकेका सो बारेमा किटानी जाहेरी दिइएको पनि बताउनुभयो । महिलाको उपचार भेरी अस्पतालका मुटुरोग विशेषज्ञ डा. विकास नेपालको निगरानीमा सुरु गरिएको थियो । डा. नेपालको निगरानीमा उपचार चलिरहेको अवस्थामा डाक्टरले जुनियर कर्मचारीको जिम्मा लगाएर आफु नेपालगन्ज बाहिर गएको कारण विरामीको मृत्यु भएको आफन्तको आरोप छ ।
अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले काम गर्ने वातावरण नभएको तथा मनोबल घटेको भन्दै ओपिडी सेवा बन्द गरेको अस्पताल विकास समितिका सदस्य डा. डक्टप्रसाद धितालले बताउनुभयो ।
उपचारको क्रममा महिलाको मृत्य भएपछि भेरी अस्पताल नेपालगन्जमा सोमबार पनि दिनभर तनावको अवस्था सिर्जना भएको थियो । सोमबार समस्या समाधानका लागि बाँके–३ का प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनार समेत अस्पताल पुग्नु भएको थियो ।
उहाँलाई पनि चिकित्सकको पक्ष लिएको भन्दै मृतकको आफन्तहरुले त्यहाबाट बाहिर जान भनेका थिए । मङ्गलबार मृतकको शवलाई पोस्टमार्टमपछि आफन्तले बुझेको र अन्तिम संस्कार गर्न लागिएको मृतकका भान्जा कुशल दर्लामीले बताउनुभयो ।