काठमाडौँ, वैशाख १५ गते । सरकारले ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ मार्फत संविधान संशोधनको औपचारिक गृहकार्यलाई तीव्रता दिएको छ । प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरूसँग विशेष छलफल गरेको छ ।
सोमबार भएको छलफल विशेष गरी संविधान संशोधनका कानुनी र संवैधानिक जटिलता एवं आवश्यक परिमार्जनका विषयमा केन्द्रित थियो । कार्यदलले विज्ञसँगको परामर्शलाई निरन्तरता दिएको हो ।
मन्त्रिपरिषद्को २०८२ चैत १६ गतेको निर्णय अनुसार गठित यस कार्यदलले वैशाख १० गतेको बैठकको निर्णयानुसार परामर्श प्रक्रियालाई अघि बढाएको हो । कार्यदलले सबै सरोकारवालासँगको छलफलबाट सङ्कलित सुझावका आधारमा संविधान संशोधनको ठोस बहसपत्र तयार गरी सरकारलाई बुझाउने तयारी गरेको छ ।