युद्ध सुरु गरेपछि कति दिनमा अन्त्य हुन्छ भन्न सकिँदैन । अमेरिका र इजरायलले संयुक्त रूपमा इरानसँग सुरु गरेको युद्ध एक साताभित्र अन्त्य हुने ठानिएको थियो । इरानका सर्वोच्च नेतासहित थुप्रै अधिकारी मारिएसँगै इरानले तत्काल हात उठाउने अपेक्षा गरिएको थियो तर इरान झन् आक्रामक बन्यो । एक महिना बितिसक्दा पनि इरान पछि हटेन । युद्ध टुङ्गिने लक्षण देखिएन । उसले त नयाँ नयाँ सर्त तेस्र्याएर चुनौती दिएको छ । युद्ध लम्बिँदै जाँदा यसको असर प्रत्येक विश्ववासीलाई परेको छ । घरको भान्सादेखि खेतबारीसमेत प्रभावित भएको छ । यसले विश्वव्यापी महँगी बढाएको छ भने भीषण भोकमरी बढाउने सङ्केत गरेको छ ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध अन्त्य गर्न १५ बुँदे शान्ति योजना अघि सार्नुभएको छ । यो योजना पाकिस्तानमार्फत इरानमा पु¥याइएको छ । जसमा युद्ध अन्त्यका सर्तहरूमा वार्ता चलिरहँदा एक महिनाको युद्धविराम गर्ने कुरा पनि समावेश छ । पाकिस्तानले युद्ध अन्त्य गराउन शान्तिवार्ताको आयोजना गर्ने तयारी गरेको छ । जारी युद्धले खतरनाक मोड लिने विश्लेषण गर्दै राष्ट्रपति ट्रम्पले ल्याउनुभएको १५ बुँदे शान्ति योजनालाई इरानले भने अस्वीकार गरेको छ ।
शान्ति योजनामा नतान्ज, इस्फाहान र फोर्डोमा रहेका इरानका आणविक सुविधा नष्ट गर्ने, इरानले कहिल्यै आणविक हतियार विकास नगर्ने स्थायी प्रतिबद्धता जनाउनुपर्ने, इरानले आफूसँग भएको संवर्धित युरेनियमको भण्डार अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) लाई हस्तान्तरण गर्ने, देशको बाँकी आणविक पूर्वाधारका सबै तत्वको अनुगमन गर्न आइएइएलाई अनुमति दिने प्रतिबद्धतासहित इरानले अब देशभित्र युरेनियम संवर्धन गर्न नपाउने रहेका छन् । त्यसै गरी इरानका क्षेप्यास्त्रको दायरा र सङ्ख्यामा सीमा तोक्ने, क्षेत्रीय विद्रोही/प्रोक्सी समूहलाई इरानले दिने समर्थन अन्त्य गर्ने, क्षेत्रीय ऊर्जा सुविधामा इरानी आक्रमण रोक्ने, हर्मुज जलमार्ग सधैँ खुला गर्ने, इरानमाथि लगाइएका सबै प्रतिबन्ध हटाउने । प्रतिबन्ध पुनः लगाउन अनुमति दिने संयुक्त राष्ट्रसङ्घीय संयन्त्रको अन्त्य गर्ने, इरानको बुसेहर नागरिक आणविक प्लान्टमा विद्युत् उत्पादनका लागि अमेरिकी सहयोग उपलब्ध गराउनेलगायतका छन् । अमेरिकाले सहयोग उपलब्ध गराउने भनेको यो बुसेहर पावर प्लान्ट, तेहरानबाट करिब ७५० किलोमिटर दक्षिणमा अवस्थित छ । यो इरानको एक मात्र व्यावसायिक आणविक ऊर्जा केन्द्र हो । यो रुसमा उत्पादित युरेनियमबाट चल्छ ।
अमेरिकासँग इरानको वार्ता चलिरहेकै बेला गएको फेब्रुअरी २८ मा अमेरिका र इजरायलले सुरु गरेको यस युद्धले विकराल रूप लिएको छ । यसले विश्वभरको ऊर्जा र सेयर बजारलाई अस्थिर बनाएको छ, पानीजहाजको आवागमनमा अवरोध पु¥याएको छ र पश्चिम एसियाभरि मानवीय क्षति निम्त्याएको छ । इरानमा मात्रै दुई हजार जनाको मृत्यु भएको छ भने २० हजार जना घाइते भएका छन् । ३० लाख मानिस विस्थापित भएका छन् ।
अमेरिका र इजरायलले इरानमा आक्रमण सुरु गरेको केही दिनपछि इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आइआरजिसी) पर्सियाको खाडीस्थित हर्मुज जलमार्ग पानीजहाजका लागि बन्द गरिएको घोषणा ग¥यो । सीमा जोडिए पनि हर्मुज जलमार्ग इरानको निजी सम्पत्ति होइन । यो अन्तर्राष्ट्रिय जलमार्ग हो तर अतिवादी इरानी नेतृत्वले विश्ववासीलाई तड्पाउन यो जलमार्गमा अवरोध पु¥याएको छ । यसका साथै खाडी क्षेत्रमा राष्ट्रहरू, अमेरिकी सैन्य सम्पत्ति र ऊर्जा पूर्वाधारमा इरानको आक्रमणले तेलको मूल्य प्रतिब्यारेल सय डलरभन्दा माथि पु¥याएको छ जबकि युद्धअघि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य करिब ६५ डलर थियो ।
गत वर्ष जुनमा इरान र इजरायलबिचको १२ दिने युद्धका क्रममा अमेरिकाले इरानका नतान्ज, इस्फाहान र फोर्डो आणविक भट्टीमा बमबारी गरी ठुलो क्षति पु¥याएको थियो । यी युरेनियम संवर्धन सुविधा हुन्, जहाँ सैद्धान्तिक रूपमा परमाणु बम उत्पादन गर्न सक्ने स्तरसम्म युरेनियम संवर्धन गर्न सकिन्छ । सन् सन् २०१५ मा इरानले छ शक्ति राष्ट्रहरूसँग गरेको संयुक्त विस्तृत कार्ययोजना सम्झौता (जेसिपिओए) का सर्त अन्तर्गत इरानले नागरिक प्रयोगभन्दा बाहिर युरेनियम संवर्धन नगर्ने प्रतिबद्धता जनाएको थियो र आवधिक निरीक्षणको दायरामा थियो । ट्रम्पले तीन वर्षपछि एकतर्फी रूपमा अमेरिकालाई उक्त सम्झौताबाट बाहिर निकालेसँगै विवाद बल्झियो । १२ दिने युद्धमा अमेरिका र इजरायलले इरानको आणविक कार्यव्रmममा ध्यान केन्द्रित गरेका थिए । जारी युद्धमा उनीहरूले इरानको अतिवादी इस्लामिक सत्ता परिवर्तनका साथै तेलमाथि कब्जा प्राथमिकतामा राखेका छन् । यस पटक युद्धको सुरुवातमै अमेरिकी र इजरायली आक्रमणमा इरानका ८६ वर्षीय सर्वोच्च नेता आयातोल्लाह अली खामेनीसहित ५० जनाभन्दा बढी उच्च नेता तथा पदाधिकारी मारिएका थिए । यो घटनासँगै इरानले छिट्टै आत्मसमर्पण गर्छ भन्ने ठानिएको थियो तर इरान झन् कठोर र विवेकविहीन भएर छिमेकी खाडी राष्ट्रहरूमा आक्रमण गर्दै युद्धलाई निरन्तरता दिएको छ ।
खामेनी मारिएको एक सातापछि माइला छोरा मोज्तबा खामेनीलाई इरानको नयाँ सर्वोच्च नेताको रूपमा चयन ग¥यो । यो निर्णयबाट अमेरिका र इजरायल असन्तुष्ट बने । नयाँ सर्वोच्च नेता नियुक्त भएपछि ट्रम्पले भन्नुभएको थियो, “मलाई लाग्छ उनीहरूले ठुलो गल्ती गरे । मलाई थाहा छैन यो टिक्छ कि टिक्दैन ।” हवाई आक्रमणबाट इरान नझुकेपछि अहिले अमेरिकाले वार्ता प्रयास सँगसँगै स्थल युद्धको व्यापक तयारी गरेको छ । यसका लागि अत्याधुनिक हतियारसहित हजारौँ सेनालाई पश्चिम एसियातिर केन्द्रित गरिएको छ । यसबाट युद्धले भयावह रूप लिने चिन्ता बढाएको छ । इरानको जीवनरेखाका रूपमा रहेको खर्ग टापु कब्जा गर्ने उद्देश्यसहित स्थल युद्धको तयारी गरिएको छ ।
सन् १९७९ मा निर्वासनबाट फर्केका आयतोल्लाह रुहोल्लाह खामेनीको नेतृत्वमा भएको इस्लामिक क्रान्तिद्वारा अमेरिका समर्थित राजा रेजा पह्लवी शाहलाई सत्ताच्युत गरिएपछि इरान इस्लामिक गणतन्त्र बन्यो । त्यसपछि तेहरानस्थित अमेरिकी दूतावासमा भएको ४४४ दिने बन्धक सङ्कटपछि अमेरिकाले सम्बन्ध विच्छेद गर्दै इरानमाथि कडा प्रतिबन्ध लगायो । यसले इरानको आम्दानी, तेल राजस्व र उड्ययन क्षेत्रमा गम्भीर असर पारेको छ । त्यसयता अहिलेसम्म अमेरिका र इरानबिच कटुता कायमै छ ।
अरूका कुरा नसुन्ने राष्ट्रपति ट्रम्पले इरानमाथिको यो आक्रमणले आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि चुनाव आफ्नो पक्षमा आउने दाबी गर्नुभएको छ तर धेरै अमेरिकी जनता युद्धको विपक्षमा छन् । सारा युरोप र एसियाका मित्र राष्ट्रहरू पनि युद्धबाट टाढा रहन चाहेका छन् । यस्तो अवस्थामा ट्रम्पलाई मध्यावधि चुनावअघि नै युद्ध अन्त्य गराएर शान्त पार्नुपर्ने व्यापक दबाब र चुनौती खडा छ । यस्तो अवस्थामा इरानले राखेका नयाँ सर्तहरूले उहाँ थप अप्ठेरोमा पर्नुभएको छ ।
इरानले भविष्यमा फेरि युद्ध नहुने ग्यारेन्टी हुनुपर्ने, यस क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डा बन्द गरिनुपर्ने, इरानले बेहोरेको क्षतिको क्षतिपूर्ति दिनुपर्ने, सम्पूर्ण क्षेत्रमा भइरहेका युद्ध अन्त्य गरिनुपर्ने, हर्मुज जलमार्गमा इरानको पूर्ण स्वामित्व हुनुपर्ने, सबै अन्तर्राष्ट्रिय प्रतिबन्ध फुकुवा हुनुपर्नेलगायतका सर्त तेस्र्याएको छ । इरान विश्वकै सबैभन्दा धेरै प्रतिबन्ध लगाइएका देशहरूमध्ये एक हो । उसका यी सर्त पूरा गर्न तत्काल सम्भव छैन । अहिले यो युद्धमा लेबनानको विद्रोही समूह हेजबुल्लाह र यमनको विद्रोही हुथी समूहले इरानलाई साथ दिएका छन् । यमनको सत्ता कब्जा गरेको हुथी समूह शक्तिशाली छ । यसलाई इरानले नै हातहतियार, क्षेप्यास्त्र र ड्रोन दिएर सशस्त्र पारेको छ । हुथीले रक्त सागरको जलमार्ग अवरुद्ध पारेर अन्तर्राष्ट्रिय व्यापारमा बाधा उत्पन्न गर्ने चेतावनी दिएको छ । यस्तो परिस्थितिमा युद्ध कति समयसम्म लम्ब्याउने ? अमेरिकी र इजरायली नेतृत्वले परिस्थितिको सही मूल्याङ्कन गरेर छिटो युद्ध अन्त्य गराउनेतर्फ कदम चाल्नु उपयुक्त हुने छ । नत्र यो युद्धले झन् ठुलो विनाश र विपत्ति निम्त्याउने खतरा बढाएको छ ।
अर्कोतर्फ रुस र युक्रेनबिच जारी युद्ध अन्त्य गर्ने सम्बन्धमा भइरहेको प्रयास पनि सफल हुन सकेको छैन । विगत पाँच वर्षदेखि युद्ध गरिरहेका रुस र युक्रेनलाई युद्ध अन्त्यका लागि पछिल्ला दिनमा विभिन्न क्षेत्रबाट व्यापक दबाब दिइएको छ । युद्ध लम्बिँदै जाँदा त्यसको असर दुई देशमा सीमित रहेन । यस युद्धको असर विश्वव्यापी परेको छ । अमेरिकाको अलास्कामा गत अगस्त १५ मा युद्ध अन्त्य गर्ने विषयमा अमेरिका र रुसबिच शिखर वार्ता भयो । अमेरिकाका राष्ट्रपति ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शिखर वार्ता गर्नुभयो । यसमा रुस–युक्रेन युद्धविरामबारे सहमति हुने अपेक्षा गरिएको थियो । वार्तामा युद्धविरामबारे सहमति भएन । दोस्रो पटक निर्वाचित भएपछि टम्पले पुटिनसँग गर्नुभएका यो पहिलो प्रत्यक्ष भेटवार्ता थियो । उहाँहरूबिच जारी युद्ध अन्त्य गर्ने विषयमा गम्भीर छलफल भयो तर देखिने गरी कुनै सहमति भएन । पुटिनले युद्धविरामका लागि चार अडान राख्नुभएको छ । युव्रmेनको केही भूभाग रुसी नियन्त्रणमा जाने, युक्रेनको सेना घटाउने, युक्रेनलाई नेटोमा सहभागी नगराउने र युक्रेनको सरकार परिवर्तन गर्ने पक्षमा पुटिन उभिनुभएको छ ।
पुटिनसँगको वार्तापछि ट्रम्पले युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीसहित युरोपेली नेताहरूसँग गत अगस्त १८ मा अमेरिकामा गहन वार्ता गर्नुभयो । जेलेन्स्कीले युद्धविराम गर्न चाहनुभएको छ तर भूमि गुमाउन चाहनुभएको छैन । पुटिन भने भूभाग ओगटेर युद्ध रोक्ने अडान लिएर बस्नुभएको छ । अहिले अमेरिका इरानसँगको युद्धमा होमिएका कारण पुटिनको हात माथि परेको छ । युक्रेनलाई अमेरिका र युरोपले निरन्तर सहयोग गर्ने अवस्था छैन । सन् २०२२ को फेबु्रअरी २४ देखि जारी रुस–युक्रेन युद्धमा सबैभन्दा मारमा युक्रेन छ ।
युक्रेनसँगको जारी यो युद्धले अन्तर्राष्ट्रिय जगत्मा आलोचित बने पनि राष्ट्रपति पुटिनको मुलुकभित्र भने शक्ति झन् बढेको छ । युद्धबिचमा सन् २०२४ मा राष्ट्रपतिको चुनाव गराएर पुटिनले आपूmलाई सन् २०३० सम्म सत्तामा रहने सुनिश्चित गर्नुभयो । यसअघि सन् २०१८ मा निर्वाचित भएका पुटिनले २०२१ मा थप दुई कार्यकाल राष्ट्रपति बन्न बाटो खुला गर्ने गरी संविधानमा संशोधन गरी आफू सत्तामा रहिरहन मार्गप्रसस्त गर्नुभएको थियो । पछिल्लो चुनावलाई युक्रेनमाथि आक्रमण गर्ने पुटिनको निर्णयप्रतिको जनमतसङ्ग्रहका रूपमा पनि हेरिएको थियो ।
पश्चिमा युद्ध विश्लेषकले युक्रेनसँगको युद्धसँगै रुसी अर्थतन्त्र समस्याग्रस्त हुने र त्यसको प्रत्यक्ष असर राष्ट्रपति पुटिनमाथि पर्ने अनुमान गरेका थिए । रुसलाई जसरी पनि हराउने र युक्रेनलाई जिताउने रणनीति अमेरिकालगायत पश्चिमा देशहरूको छ । त्यसका लागि उनीहरूले युव्रmेनलाई सैन्य सहयोग, हतियारदेखि आर्थिक सहयोगसमेत गरे । युद्ध जिताउने आश्वासन दिए तर रुसलाई हराउनसक्ने अवस्था देखिएन । युक्रेनसँगको युद्ध अझै लम्बिँदै जाँदा रुसको निकटता चीन, उत्तर कोरिया र भारतसँग बढ्ने कुराले अमेरिका चिन्तित छ । पछिल्लो समय अमेरिका र युरोपेली देशहरू रुस–युक्रेन युद्ध छिट्टै अन्त्य गराउने पक्षमा छन् ।
युक्रेनमा सन् २०२४ को मार्च ३१ म आवधिक राष्ट्रपतीय चुनाव हुनुपर्ने थियो । राष्ट्रपति जेलेन्स्कीले युद्धको कारण देखाएर चुनाव गराउन सक्नुभएन । उहाँका लागि चुनाव सहज पनि छैन । अहिले अनिर्वाचित सत्ता चलाइरहनुभएका जेलेन्स्कीका कारण युद्धमा युव्रmेनले २५ प्रतिशत भूभाग गुमाइसकेको छ । युद्ध जित्ने सम्भावना पनि देखिएको छैन । युक्रेनी जनताले उहाँलाई विश्वास गर्ने आधार कमजोर बनेको छ । त्यहाँ नयाँ नेतृत्वको खोजी भएको छ । अहिले युक्रेनलाई पश्चिमा सहयोग कम हुनु र अमेरिका इरानसँगको युद्धमा फस्नुले रुसको हात माथि परेको छ । अतः पूरै विश्ववासीलाई नै पीडा दिएका रुस–युक्रेन युद्ध र पश्चिम एसिया युद्ध तत्काल अन्त्य गरी शान्ति पुनस्र्थापना गर्न ढिला गर्नु हुन्न । आपसी विश्वास, सहयोग, सहकार्य र मित्रताको बाटो त्यागी युद्ध गर्नु मानवताविरोधी काम हो ।