• २१ फागुन २०८२, बिहिबार

शान्तिका लागि बल प्रयोग

blog

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बल प्रयोग गरेर शान्ति ल्याउने नीति अख्तियार गर्नु भएको छ । यो नीति आफैँमा जोखिममुक्त छैन । तत्कालका लागि भने यस नीतिले जोखिम मोलेर भए पनि परिणाम देखाउँछ । विश्वकै सर्वाधिक शक्तिशाली अमेरिकासँग अत्याधुनिक प्रविधियुक्त सैन्य शक्ति छ । स्थल सेनाभन्दा पनि हवाई सेना र जल सेना अब्बल छ । अमेरिकी सेनाले विश्वका जुनसुकै देशमा पनि आक्रमण गर्न सक्ने हैसियत राख्छ । आफ्नोतर्फ कमभन्दा कम क्षतिमा परिणाम निकाल्न सक्ने बृहत् सैन्य संरचना बनाएको अमेरिकाका पछिल्ला दबाबमूलक कारबाहीले धेरै मुलुकका नेतृत्वलाई झस्काएको छ । राष्ट्रपति ट्रम्पले दोस्रो कार्यकालमा आफ्नो प्रशासनले पहिलो वर्षमा अमेरिकाका लागि दीर्घकालीन महत्वपूर्ण परिवर्तन ल्याइदिएको दाबी गर्नुभएको छ । 

अमेरिकी संसद् (कङ्ग्रेस) मा राष्ट्रपति ट्रम्पले गर्नु भएको वार्षिक सम्बोधन (स्टेट अफ दी युनियन) मा उहाँले अमेरिका पहिलेभन्दा ठुलो, राम्रो, धनी र बलियो भएको दाबी गर्नुभयो । उहाँको दाबीलाई सत्तारूढ रिपब्लिकन समर्थकहरूले ताली बजाएर र नारा लगाएर स्वागत गरे । विपक्षी डेमेक्रेटलाई भने चुप लागे । केही डेमोक्रेट सांसदहरू हलबाट बाहिरिए । राष्ट्रपति ट्रम्पले कङ्ग्रेसमा अहिलेसम्मकै लामो एक घण्टा ५० मिनेट सम्बोधन गर्नुभयो । उहाँको आक्रामक आप्रवासन र विदेश नीतिले विश्व राजनीतिलाई नै प्रभावित बनाएको छ । गत महिना भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरेर अमेरिका ल्याइएको प्रसङ्ग निकाल्दै उहाँले ‘बलमार्फत शान्ति’ ल्याउने आफ्नो नीति रहेको खुलासा गर्नुभयो । समकालीन विश्वमा ट्रम्पका आक्रामक कदमविरुद्ध दह्रो रूपमा प्रतिवाद र विरोध गर्ने हैसियत कमजोर भएको छ । ट्रम्पले इरानलाई परमाणु हतियार नबनाउन चेतावनी दिनुभयो । कूटनीतिमार्फत समस्या समाधान नभए बल प्रयोग गर्ने तयारी गर्नुभयो । चरणबद्ध वार्ता पनि भए तर निकास निस्केन । अनि अमेरिका र इजरायल मिलेर गएको शनिबार बिहानैदेखि इरानविरुद्ध भीषण आक्रमण सुरु भयो । इरान पनि प्रत्याक्रमणमा उत्रियो । इरानले इजरायलसहित अमेरिकी सैन्य अखडा रहेका मध्यपूर्वका सबै मुलुकमा क्षेप्यास्त्र र ड्रोन प्रहार गर्न थालेसँगै त्यस क्षेत्रका सबै हवाई उडान अवरुद्ध भए । एकाएक शान्ति खलबलियो । मध्यपूर्वको आकाश असुरक्षित भयो । लाखौँ यात्रु अलपत्र परे । युद्ध सुरु गरेकै दोस्रो दिन आइतबार बिहानै अमेरिका र इजरायलको हवाई आक्रमणमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी, पत्नी, छोरी, ज्वाइँ, नातिनातिना, रक्षामन्त्री, सेना प्रमुखसहित थुप्रै नेता र उच्च अधिकारी मारिए । ३७ वर्षदेखि इरानको नेतृत्व गर्नुभएका ८६ वर्षीय सर्वोच्च नेता खामेनी मारिएसँगै इरान अत्यन्तै सङ्कटमा फसेको छ । इस्लामिक अतिवादी सत्ताले जनताको हितलाई भन्दा आफ्नो स्वार्थलाई प्राथमिकता दिँदै आएको छ, जसले गर्दा त्यहाँका धेरै जनताले नेतृत्वको विकल्प खोजेका छन् । गत डिसेम्बर २८ देखि सुरु भएको जनविद्रोहमाथि सरकारले चरम दमन गर्दा हजारौँ नागरिक मारिएका छन् । 

अमेरिकालगायत पश्चिमी मुलुक इरानले आणविक हतियार बनाउने कार्यलाई निरन्तरता दिएकोमा विश्वस्त छन् तर इरानी नेतृत्वले बारम्बार आफ्नो आणविक कार्यक्रम आणविक हतियार बनाउन नभएर शान्तिपूर्ण ऊर्जा प्रयोजनका लागि मात्र भएको जिकिरलाई दोहो¥याउँदै आएको छ । इरानले आणविक हतियार बनाए मध्यपूर्व मात्र होइन, अमेरिकाको सार्वभौम सुरक्षामाथि नै खतरा उत्पन्न हुने विश्लेषण गरिरहेका पश्चिमी मुलुक इरानलाई कुनै पनि हालतमा आणविक हतियार बनाउन दिनु हुँदैन भन्ने कुरामा एकमत छन् । अमेरिकाले गत वर्ष नै इरानको आणविक केन्द्रमा शक्तिशाली बम प्रहार गरेर इरानी नेतृत्वको नाडी छामिसकेको छ । अमेरिकाको भित्री चाहना मध्यपूर्वमा इजरायलसँग मात्र आणविक हतियार हुनु पर्छ भन्ने छ । अहिले इजरायल भनेकै मध्यपूर्वको शक्तिशाली सानो अमेरिका हो । मध्यपूर्वको शान्ति र स्थिरताकै लागि इरानको अतिवादी नीति र शैली नै मुख्य समस्या रहेको निष्कर्ष अमेरिकी र इजरायली नेतृत्वको छ । इरानको कट््टरवादी सत्ता ढालेर उदारवादी सत्ता ल्याउन सके इरानीहरूको जीवनस्तरमा सुधार आउने साथै मध्यपूर्वमा स्थायी शान्ति र विकास हुन्छ भन्ने धेरैको मत पनि रहेको छ । इरानका बहुसङ्ख्यक जनता पनि सत्ता परिवर्तनको पक्षमा छन् । राष्ट्रपति ट्रम्पले इरानको सत्ता परिवर्तन गराएर मात्र युद्ध रोक्ने पक्षमा हुनुहुन्छ । 

इरानको आणविक कार्यक्रमलाई लिएर बर्सौंदेखिको अन्तर्राष्ट्रिय नाकाबन्दीले इरानी अर्थ व्यवस्था अत्यन्तै कमजोर अवस्थामा पुगेको छ । महँगी र बेरोजगारी समस्याले जनजीविका कष्टकर बनेको छ । खामेनीको अतिवादी शासन नै समस्याको मूल कारण मानिएको छ । वंशै विनाश गरिदिएसँगै खामेनी युग अन्त्य भएको छ । जनताको आवाज दबाएर र छिमेकी देशहरूलाई छद्म भेषमा तर्साएर शासन गर्ने रणनीति विफल हुँदै गएको छ । हमास, हेजबुल्लाह, हुथी, आइएसआई जस्ता लडाकु समूहलाई प्रयोग गरेर क्षेत्रीय आतङ्क सिर्जना गर्ने इरानी सत्ताको प्रयोग स्वयम्का लागि आत्मघाती बन्दै छ । इरानले आफूसँग रहेका क्षेप्यास्त्र र ड्रोन प्रयोग गरी केही साता युद्ध लडेर मध्यपूर्वमा केही क्षति पु¥याए पनि लामो समयसम्म टिक्न नसक्ने अवस्थामा पुगेको छ । उसँगको सैन्यशक्ति र क्षेप्यास्त्र क्षमता सीमित छन् । सर्वोच्च नेता, रक्षामन्त्री, सेना प्रमुख नै मारिएसँगै सेनाको मनोबल पनि गिरेको छ । अहिले अमेरिकाका राष्ट्रपति ट्रम्पको कारबाहीलाई रोक्ने सामथ्र्य अरूसँग नभएकोले तत्काल हात उठाएन भने इरानले निकै चर्को मूल्य चुकाउनुपर्ने अवस्था छ । संयुक्त राष्ट्रसङ्घलगायत विश्व समुदायबाट आएका प्रतिक्रिया र वक्तव्यवाजीलाई सुन्ने पक्षमा अमेरिका छैन । उसले इरानलाई झुकाएरै छाड्ने पूर्ण तयारीका साथ युद्ध गरिरहेको छ । अमेरिकालाई टक्कर दिने भनेको रुसले हो । ऊ विगत चार वर्षदेखि युक्रेनसँग युद्ध लडिरहेको छ । आर्थिक र वाक् युद्ध गरे पनि सैन्य युद्धको पक्षमा नभएको उदीयमान शक्ति चीनलाई ताइबान र तिब्बतकै पिर छ । एक चीन नीतिलाई समर्थन गरेसम्म चिनियाँ नेतृत्व अरू राष्ट्रको विषयलाई लिएर आक्रामक रूपमा प्रस्तुत नहुने मनस्थितिमा छ । 

अर्कोतर्फ विश्व संस्था राष्ट्रसङ्घले चाहेर मात्र युद्ध रोकिने अवस्था छैन । यो संस्थाको आर्थिक र वैचारिक धरातल कमजोर भएको छ । युद्ध र द्वन्द्व समाधान गरी शान्ति स्थापना गर्ने राष्ट्रसङ्घको मूल उद्देश्य पूरा हुन सकेको छैैन । राष्ट्रपति ट्रम्पले राष्ट्रसङ्घलाई भन्दा आफूले बनाएको शान्ति समिति (बोर्ड अफ पिस) लाई महत्व दिनुभएको छ । उहाँले शान्ति समितिमार्फत विभिन्न मुलुकमा जारी युद्ध र द्वन्द्व समाधान गर्ने योजनाका साथ काम अगाडि बढाउनुभएको छ । यसले गर्दा सारा विश्वको आशाको केन्द्र राष्ट्रसङ्घ ओझेलमा पर्दै छ । आफ्नो नेतृत्वदायी भूमिकालाई प्रभावकारी बनाउन अब यो संस्थाको पुनर्संरचना गर्नुपर्ने बेला भएको छ । के कारणले राष्ट्रसङ्घको भूमिका प्रभावकारी बन्न सकेन भन्ने विषयमा गम्भीर समीक्षा गर्नुपर्ने बेला भएको छ । 

राष्ट्रपति ट्रम्पले दोस्रो कार्यकाल समालेको पहिलो वर्षमा विभिन्न मुलुकका युद्ध र द्वन्द्व रोक्न महत्वपूर्ण काम पनि गर्नुभएको छ । भारत र पाकिस्तानबिच सुरु भएको युद्ध, थाइल्यान्ड र कम्बोडिया युद्ध, इजरायल र हमासबिचको युद्ध, इजरायल र इरानबिचको युद्ध उहाँकै पहलमा रोकिए । गत वर्ष इजरायल र इरानबिचको युद्धमा अमेरिका स्वयम् पनि प्रवेश ग¥यो । इरानको आणविक केन्द्रमा अमेरिकाले बमबारी गरेसँगै १२ दिने युद्ध रोकियो । ट्रम्पले इजरायल र प्यालेस्टिनी हमासबिच तीन वर्षदेखि जारी युद्धलाई युद्धविराममा परिणत गर्नुभयो । उहाँले इजरायली आक्रमणका कारण ध्वस्त भएको प्यालेस्टाइनको गाजा क्षेत्रको पुनर्निर्माणका लागि शान्ति समितिमार्फत अन्तर्राष्ट्रिय सहयोग जुटाउने कामको नेतृत्व आफैँले गर्नुभएको छ । चीन र अमेरिकाबिचको व्यापार युद्धले स्वयम् अमेरिकालाई क्षति पुगेसँगै ट्रम्पले यसलाई पछि धकेल्नु भएको छ । ट्रम्पले भेनेजुयलामाथि सटिक सैन्य कारबाही गरी त्यहाँका राष्ट्रपति निकोलस मदुरो दम्पतीलाई अपहरण शैलीमा अमेरिका लगेर मुद्दा चलाउनुभएको छ । उहाँको यस कदमले अमेरिकाको विरोध गर्ने अन्य मुलुकको नेतृत्वमाथि डर र दबाब सिर्र्जना भएको छ । 

यता पाँचौँ वर्षमा प्रवेश गरेको रुस र युक्रेनबिचको युद्ध अन्त्य गराउन पनि राष्ट्रपति ट्रम्पले कूटनीतिक वार्तालाई निरन्तरता दिनुभएको छ । दोस्रो विश्वयुद्धपछिको सबैभन्दा लामो युरोपको यो युद्धको असर विश्वव्यापी देखिएको छ । रुसलाई एक्ल्याउँदै युक्रेनलाई आर्थिक र हतियार सहयोग दिएर युद्ध लम्ब्याउँदै जाँदा पनि युक्रेनले जित्न सम्भावना छैन । युक्रेनको २० प्रतिशतभन्दा बढी भूभाग रुसको कब्जामा गएको छ । यो लामो युद्धमा दुवैतर्फ ठुलो जनधनको क्षति भएको छ । आणविक शक्ति सम्पन्न रुसले जसरी पनि जति धेरै समय लागे पनि युक्रेनलाई हराउने रणनीतिका साथ युद्धलाई निरन्तरता दिएको छ । युद्धका कारण युक्रेनमा राष्ट्रपतिको निर्वाचन हुन सकेको छैन । युद्धको कारण देखाएर अनिर्वाचित सत्ता लम्ब्याउँदै जानुभएका युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीप्रति जनाधार खस्किँदै गएको छ । मूलतः उहाँकै कमजोरी र भूराजनीतिक विचलनका कारण रुससँग घातक युद्ध लड्नु परेको हो । उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) मा आबद्ध भएर युक्रेनलाई बलियो बनाउने र रुसलाई कमजोर बनाउने उहाँको सपना अन्ततः उहाँकै लागि आत्मघाती साबित हुँदै छ । आफूभन्दा ठुलो र शक्तिशाली छिमेकीसँग द्वन्द्व निम्त्याउने रणनीति बनाउनु र अरूको बहकावमा लाग्नु हितकर हुँदैन । राजनीतिका कच्चा खेलाडी जेलेन्स्कीको नेतृत्वले युक्रेनलाई अत्यन्तै कमजोर मात्र होइन, रणनीतिक महत्वको भूभाग नै गुमाउनुपर्ने अवस्था सिर्जना भएको छ । राजनीतिका पक्का खेलाडी रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले जसरी पनि, जति वर्ष लागे पनि युक्रेनलाई हराएरै छाड्ने रणनीतिसहित युद्धमोर्चालाई निरन्तरता दिनुभएको छ । पूर्वी युरोपमा नेटोको विस्तारले रुसको सार्वभौम सुरक्षा खतरामा पर्छ । छिमेकी युक्रेन नेटोमा समावेश भए नेटो सैनिक रुसको सिमाना घेर्न सक्ने सम्भावनालाई रोक्न र रुसको सार्वभौमिक सुरक्षा गर्न राष्ट्रपति पुटिनले युक्रेनविरुद्ध युद्ध छेड्नु भएको हो । यो कुरामा बहुसङ्ख्यक रुसी जनता सहमत छन् । युद्धकाबिच पनि रुसमा राष्ट्रपति निर्वाचन भयो । राष्ट्रपति पुटिन अत्यधिक बहुमतसहित पुनः निर्वाचित हुनुभयो । युक्रेन मामिलामा पुटिनले उठाउनुभएको जोखिमप्रति रुसी जनताको समर्थनले उहाँलाई ठुलो बल मिलेको छ । अमेरिकाका राष्ट्रपति ट्रम्प पनि रुसलाई हराएर युक्रेनलाई जिताउन नसकिने निष्कर्षमा पुग्नुभएको छ । त्यही भएर उहाँले युद्धविराम गराउन लामो कूटनीतिक प्रयासलाई जारी राख्नुभएको छ । सम्भवतः केही महिनाभित्रै रुस र युक्रेनबिच युद्धविराम हुने छ । 

पछिल्ला दिन दक्षिण एसियाका दुई छिमेकी पाकिस्तान र अफगानिस्तान पनि युद्धमा होमिएका छन् । अफगानिस्तानकातर्फबाट पाकिस्तानको सीमाभित्र प्रवेश गरी केही सेना मारिएसँगै पाकिस्तानले युद्धको घोषणा गरेको हो । पाकिस्तानले अफगानिस्तानको राजधानी काबुललगायत विभिन्न प्रान्तमा हवाई आक्रमणलाई तीव्रता दिएको छ । अफगानिस्तान विगत चार वर्षदेखि तालिबानले अनिर्वाचित अतिवादी सत्ता चलाइरहको छ । यही अतिवादी सत्तामा आतङ्कवाद मौलाइरहेको पाकिस्तानको आरोप छ । आणविक हतियार सम्पन्न पाकिस्तानले गरेको सैन्य आक्रमणप्रति अमेरिकालगायतले समर्थन गरेका छन् । तालिबानलाई कमजोर बनाउने सबालमा पश्चिमा मुलुकहरूले सहयोग र समर्थनले पाकिस्तानलाई युद्ध लड्न सहज भएको छ । अमेरिकाको चाहना पनि तालिबानलाई कमजोर बनाउनु हो । तालिबानको अतिवादी सत्ताले अफगानीलाई गरिबीको दुष्चक्रमा फसाएको छ । मुलुक विश्व समुदायबाट एक्लिएको छ । अर्थतन्त्र, स्वास्थ्य, शिक्षा र रोजगारीको अवस्था दयनीय छ । महिला अधिकारविहीन छन् । बालिकाहरूले पढ्न पाएका छैनन् । मानव अधिकार छैन भने पनि हुन्छ । तालिबान नेतृत्वको ध्यान अतिवाद लादेर सत्ता टिकाउने र युद्ध गर्नमै केन्द्रित छ । तालिबानकै कारण क्षेत्रीय सुरक्षासमेत कमजोर भएको छ । तालिबानी सत्ता हटाएर अमेरिकाले ल्याइदिएको लोकतान्त्रिक सत्ता बचाउन नसक्दा पुनः तालिबानले सत्ता कब्जा गरेको हो । अतः देशीय, क्षेत्रीय साथै विश्व शान्तिका लागि युद्ध रोकौँ, मेलमिलाप र वार्तालाई रोजौँ । ‘वसुधैव कुटुम्बकम्’ नै मानवता जोगाउने उत्तम विकल्प हो । 

   

Author
रामप्रसाद आचार्य

उहाँ गोरखापत्र दैनिकको प्रबन्धसम्पादक हुनुहुन्छ ।