• २९ फागुन २०८२, शुक्रबार

विश्व मिर्गौला दिवस

बढ्दै मिर्गौला बिरामी

blog

काठमाडौँ, फागुन २९ गते । नेपालमा नसर्ने रोगको समस्या दिनप्रतिदिन बढ्दै जाँदा मिर्गौलाको समस्या जनस्वास्थ्य समस्याका रूपमा देखा परेको छ । 

नेपालमा मात्र वार्षिक तीन हजार जनाको मिर्गौला फेल हुने गरेको छ । तीमध्ये केही बिरामीको मात्र नेपालमा प्रत्यारोपण गर्न सकिने अवस्था छ । भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रकी कार्यकारी निर्देशक डा. कल्पनाकुमारी श्रेष्ठले नेपालमा प्रत्येक वर्ष झन्डै तीन हजार जनाको मिर्गौला पूर्ण रूपमा काम गर्न नसक्ने अवस्थासम्म पुग्ने गरेको जानकारी दिनुभयो । उहाँले बिरामीलाई जीवनरक्षा गर्न नियमित डायलासिस वा मिर्गौला प्रत्यारोपण आवश्यक हुने भन्दै केन्द्रमा जग्गा अभावका कारण सीमित स्रोत र साधनले मात्र प्रत्यारोपण गर्नु परेको गुनासो गर्नुभयो । “सीमित स्वास्थ्य संरचना, जनचेतना अभाव र आर्थिक कठिनाइका कारण धेरै बिरामी समयमै उपचार पाउन नसक्ने अवस्थासमेत देखिन्छ,” डा. श्रेष्ठले भन्नुभयो, “नेपाललाई सम्र्पूण रूपमा सक्षम बनाउने हो भने वार्षिक बिदेसिने गरेको पैसा रोक्न सकिन्छ ।”

भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र नेपालमा मिर्गौला प्रत्यारोपण गर्ने प्रमुख सरकारी स्वास्थ्य संस्था हो । यस केन्द्रले स्थापनापछि हालसम्म एक हजार ६०० भन्दा बढी बिरामीमा सफल मिर्गौला प्रत्यारोपण गरिसकेको छ । सो उपलब्धिले नेपालमा प्रत्यारोपण सेवाको विकासलाई सकारात्मक ढङ्गले सङ्केत गरे पनि बिरामी बढ्दै जाँदा अझै पर्याप्त स्वास्थ्य सेवा, संरचना र जनशक्ति आवश्यक देखिन्छ ।

वरिष्ठ मिर्गौला प्रत्यारोपण सर्जन डा. पुकारचन्द्र श्रेष्ठले नेपालमा मिर्गौला रोग बढ्नुका पछाडि जनचेतना मुख्य विषय रहेको उल्लेख गर्नुभयो । उच्च रक्तचाप, मधुमेह, अस्वस्थ जीवनशैली, धूमपान, मदिरापान तथा मोटोपनजस्ता कारणले मिर्गौला रोग बढिरहेको उल्लेख गर्दै डा. श्रेष्ठले नेपालमा प्रत्यारोपणका लागि भौतिक संरचनासमेत नरहेको उल्लेख गर्नुभयो । 

प्रत्यारोपण केन्द्रकी कार्यकारी निर्देशक कल्पना श्रेष्ठले केन्द्रका ४०० कर्मचारीको मिर्गौला परीक्षण गर्दा पाँच जनाको मिर्गौलामा समस्या देखिएको जानकारी दिनुभयो । उहाँले मिर्गौला परीक्षण गरिएकामध्ये पिसाबमा प्रोटिन चुहिने समस्या छ जनामा रहेको जानकारी दिनुभयो । 

उहाँले मिर्गौलाले शरीरमा रहेको फोहोर पदार्थ फिल्टर गर्ने, शरीरको पानी तथा लवणको सन्तुलन कायम राख्ने र रक्तचाप नियन्त्रण गर्न सहयोग गर्ने जानकारी दिँदै मिर्गौला खराब हुन थालेपछि शरीरमा विभिन्न जटिलता देखा पर्न थाल्ने र सुरुवाती चरणमा मिर्गौला रोगको स्पष्ट लक्षण नदेखिने भएकाले धेरै बिरामीले ढिलो गरी मात्रै रोगबारे थाहा पाउने गरेको जानकारी दिनुभयो । 

मिर्गौला पूर्ण रूपमा फेल भएपछि बिरामीलाई दुई प्रमुख उपचार विधि अपनाउने गरिन्छ । डा. श्रेष्ठका अनुसार डायलासिस भनेको मेसिनको सहायताले रगतबाट फोहोर पदार्थ हटाउने प्रक्रिया हो । धेरै बिरामीले हप्तामा दुई वा तीन पटक डायलासिस गर्नु पर्छ, जसकारण समय, आर्थिक भार र शारीरिक कष्ट बढ्छ । यस्तो अवस्थामा स्थायी समाधानका रूपमा मिर्गौला प्रत्यारोपणलाई प्रभावकारी उपचार मानिने भन्दै प्रत्यारोपणपछि बिरामीले सामान्य जीवनयापन गर्न सक्ने सम्भावना बढ्ने बताउनुभयो । 

डा. श्रेष्ठले बिरामी बढ्दै जाँदा केन्द्रमा स्थान अभाव, उपकरण सीमितता तथा जनशक्ति अभाव जस्ता चुनौती देखिएको बताउनुभयो । पछिल्लो समय नेपालका केही निजी अस्पतालमा पनि मिर्गौला प्रत्यारोपण सेवा सुरु भएको छ । यसले बिरामीलाई थप विकल्प दिएको छ तर निजी अस्पतालमा प्रत्यारोपणको खर्च तुलनात्मक रूपमा धेरै हुने भएकाले सबै बिरामीले यो सेवा उपयोग गर्न सक्ने अवस्था भने छैन । डा. श्रेष्ठले केन्द्रमा प्रत्यारोपणका लागि आउने बिरामी अत्यधिक भए पनि स्थान अभावका कारण सेवा विस्तार गर्न चुनौती भइरहेको बताउनुभयो । 

यसैबिच बिहीबार विश्व मिर्गौला दिवस मनाइएको छ । नेपालमा पनि विभिन्न जनेचतनामूलक कार्यक्रम गरी मिर्गौला दिवस मनाइएको छ । हरेक वर्ष मार्चको दोस्रो बिहीबार दिवस मनाइन्छ । यो दिवसको मुख्य उद्देश्य मिर्गौला स्वास्थ्यसम्बन्धी जनचेतना जगाउनु र यस रोगको जोखिम कम गर्नु हो । भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले बिहीबार बिहान प्रभातफेरी आयोजना गरेर दिवस मनाएको छ । यस्तै स्वास्थ्य अभियान नेपालले पनि ललितपुरस्थित ग्वार्कोमा प्रभातफेरी गरेको थियो । मिर्गौला रोगका लक्षण नदेखिँदै यसको जोखिम बढ्न सक्ने भएकाले समयमै परीक्षण गराउनुपर्ने चिकित्सकको सुझाव छ । 

   

Author
सरोज ढुङ्गेल

उहाँ गोरखापत्रका लागि स्वास्थ्य क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।