• ३ जेठ २०८३, आइतबार

संरक्षणको अभावमा जीर्ण बन्दै शिवमन्दिर

blog

सिर्सिहवाको प्राचीन शिवमन्दिर ।

कपिलवस्तु समाचारदाता

कपिलवस्तु, जेठ ३ गते । कपिलवस्तुको कृष्णनगर नगरपालिका–४, सिर्सिहवामा अवस्थित प्राचीन शिवमन्दिर संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । 

ऐतिहासिक तथा धार्मिक दृष्टिले महत्वपूर्ण उक्त मन्दिर १३ औँ शताब्दीमा लाहुर शैलीमा निर्माण गरिएको थियो । समयमै संरक्षण तथा मर्मतसम्भार नहुँदा मन्दिरको संरचना कमजोर बन्दै गएको स्थानीयले बताएका छन् । मन्दिरमा रहेको अभिलेख अनुसार सन् १२९० मा भोनु र निहाल नामक दम्पतीले सन्तानप्राप्तिको कामनासहित सात वटा मन्दिर, २७ वटा कुवा (इनार) र २७ वटा पोखरी निर्माण गराएका थिए । 

यसलाई धार्मिक आस्थासँगै सामाजिक सेवाका रूपमा समेत लिइएको स्थानीय अगुवा मुक्तेश्वर मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार हाल ती संरचनामध्ये धेरै जसो माटोले पुरिएका छन् भने केही पूर्ण रूपमा नष्ट हुने अवस्थामा पुगेका छन् । शिवमन्दिरभित्र स्थापना गरिएका मूर्ति खण्डित अवस्थामा रहेकाले स्थानीयले त्यसको पुनर्निर्माणको माग गरेका छन् । 

लुम्बिनी प्रदेश सभा सदस्य अर्जुनकुमार केसीले सिर्सिहवाको शिवमन्दिर ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको सम्पदा भएकाले यसको समुचित व्यवस्थापन आवश्यक रहेको बताउनुभयो । कलात्मक विशेषता बोकेको मन्दिर क्षेत्रको उत्खनन, संरक्षण र प्रवर्धन गर्न सके धार्मिक पर्यटनको सम्भावना थप बलियो हुने उहाँको भनाइ छ ।