• ३ जेठ २०८३, आइतबार

असुरक्षित गर्भपतनले महिलाको ज्यान जोखिममा

blog

सिँजा समाचारदाता 

सिँजा (जुम्ला), जेठ ३ गते । साबिक कर्णालीको जुम्ला, कालीकोट, मुगु र डोल्पालगायतका जिल्लामा अझै पनि असुरक्षित गर्भपतनका कारण अत्यधिक रक्तस्राव भएपछि मात्र महिला अस्पतालको सम्पर्कमा आउने गरेका छन् । 

औषधी सेवन गरी गर्भपतन भएपछि घरमै बस्ने र यदि स्वास्थ्यमा गम्भीर असर देखिएपछि मात्र ढिलो अस्पतालको सम्पर्कमा आउने गरेको स्वास्थ्यकर्मीले बताएका हुन् । मान्यताप्राप्त स्वास्थ्य संस्थाभन्दा पनि स्थानीय औषधी पसल तथा कोही चिनेको स्वास्थ्यकर्मीमार्फत औषधी सेवन गर्ने, घरमा बच्चा खसेपछि अस्पताल नजाने, यदि अप्ठ्यारो अवस्थामा मात्र अस्पतालमा आउने गरेको उनीहरूको भनाइ छ । 

नजिकको स्थानीय औषधी पसलबाट गर्भपतनको औषधी लिएर खाँदा अत्यधिक मात्रामा रक्तस्राव भएपछि मात्र आफू अस्पतालको सम्पर्कमा आएको जुम्लाको तिला गाउँपालिका–६ की एक महिलाले बताउनुभयो । घरमा दुई वटा छोरी छन्, उनीहरूलाई कसरी पालनपोषण गर्ने हो भन्ने चिन्ताले परिवारको सल्लाह अनुसार गर्भमा रहेको बच्चा फाल्ने निधो गरेपछि मेडिकलबाट औषधी लिएर सेवन गरेको उहाँको भनाइ छ । औषधी सेवन गर्दा अत्यधिक मात्रामा रगत बगेपछि मात्र आफू अस्पतालको सम्पर्कमा आएको उहाँले बताउनुभयो । 

उहाँ एक प्रतिनिधि पात्र मात्र हुनुहुन्छ । उहाँ जस्ता धेरै किशोरी तथा महिला छोरा जन्माउने आशामा असुरक्षित रूपमा गर्भपतन गराउने गरेका छन् । अन्तिम अवस्थामा मात्र अस्पतालको सम्पर्कमा आउँदा महिलाको ज्यान जोखिममा मात्र होइन, अकालमा जान सक्ने भएको जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत स्त्रीरोग विशेषज्ञ डा. सिर्जना रावलले बताउनुभयो । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको तथ्याङ्क अनुसार अस्पतालमा आउने महिलामध्ये १० प्रतिशत महिला असुरक्षित रूपमा गर्भपतनकौ औषधी सेवन गरेर अन्तिम अवस्थामा मात्र अस्पतालको सम्पर्कमा आउने गरेका छन् । गाउँघरमा सचेतनाको कमीका कारण महिला आफ्नो ज्यान जोखिममा राखेर भए पनि समाजका कुरा मान्न बाध्य रहेको देखिन्छ । जुम्लाका ३० वटा स्वास्थ्य संस्थामध्ये १३ वटा स्वास्थ्य संस्थाले मात्र सुरक्षित गर्भपतन गर्ने मान्यता पाएका छन् । 

अहिलेसम्म जिल्लामा सञ्चालनमा रहेका कुनै पनि मेडिकल सुरक्षित गर्भपनका लागि सूचीकृत नभएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ । मान्यताप्राप्त स्वास्थ्य संस्थामा गएर मात्र सुरक्षित गर्भपतनको सेवा लिनुपर्ने जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख किरणकुमार शर्माले बताउनुभयो । स्वास्थ्य संस्थाको सल्लाह अनुसार गर्भपतनको औषधी सेवन गर्दा स्वास्थ्य समस्या भए पनि तत्काल महिलाको ज्यानलाई बचाउन सकिन्छ । महिलाले मनोमानी ढङ्गबाट गर्भपनको औषधी खाँदा अकालमा ज्यान जान सक्ने भएकाले त्यसो नगर्न आग्रह गरेका छन् ।