बेलौरी समाचारदाता
बेलौरी (कञ्चनपुर), जेठ ३ गते । जल तथा मौसम विज्ञान विभागले आगामी जेठ १८ गतेदेखि मनसुन प्रारम्भ हुने अनुमान गरेसँगै त्यसको पूर्वतयारीमा यहाँका स्थानीय तह जुटेका छन् । मनसुनजन्य विपत्को उच्च जोखिममा रहेका क्षेत्रमा पूर्वसावधानी अपनाउनका लागि पूर्वतयारी थालिएको यहाँका नौ वटै स्थानीय तहले जनाएका छन् ।
जेनजी आन्दोलनका क्रममा खोज तथा उद्धार सामग्री नष्ट भएपछि विभिन्न सङ्घ संस्थाको सहयोगमा आवश्यक सामग्री खरिदको कार्य अगाडि बढाइएको पुनर्वास नगरपालिकाका विपत् सम्पर्क व्यक्ति ओमनाथ ढकालले बताउनुभयो । पुनर्वास वडा नम्बर १० स्थित विकास बस्ती, वडा नम्बर ५ मा रातो ताल, सिमरी तथा वडा नम्बर २ स्थित दशरथ बस्तीका दुई सयभन्दा बढी घरधुरी मनसुनजन्य विपत्को उच्च जोखिममा छन् । विपत्मा परेकालाई सुरक्षित स्थानमा राख्नका लागि यस वर्ष वडा नम्बर ५ को रातोतालमा सुरक्षित आवास निर्माणको काम गरिएको विपत् सम्पर्क व्यक्ति ढकालले बताउनुभयो ।
सामुदायिक विपत् व्यवस्थापन समितिलाई तालिम प्रदान गर्नुका साथै उद्धारमा खटिन तथा पूर्वतयारीमा रहन सतर्क गराइएको उहाँले बताउनुभयो । उहाँका अनुसार दुई स्थानमा साइरनको व्यवस्था गरिएको छ भने विपत्मा परेकाको उद्धारका लागि सुरक्षा निकायसँग समन्वय तथा आवश्यक राहत सामग्रीको व्यवस्थापन गरिएको छ । विपत्बाट महामारी फैलिन नदिन स्वास्थ्य शाखामार्फत आवश्यक औषधी उपचारको व्यवस्था पनि मिलाइएको उहाँले बताउनुभयो ।
बेलौरी नगरपालिकाले पनि मनसुनजन्य विपत् जोखिम न्यूनीकरणका लागि वडाहरूसँग छलफल तथा खोज उद्धारमा खटिने सामुदायिक विपत् व्यवस्थापन समितिलाई आवश्यक तालिम प्रदान गरिरहेको जनाएको छ । खहरेखोला तथा नदीका कारण डुबानमा पर्दे आएका नौ वटै वडामा मनसुनजन्य विपत् जोखिम न्यूनीकरणका लागि पूर्वतयारीका काम अगाडि बढाइएको कृष्णपुर नगरपालिकाले जनाएको छ । यसका साथै डुबान प्रभावित क्षेत्रमा तटबन्ध, नाला सफाइका काम अगाडि बढाइएको उहाँले बताउनुभयो ।
त्यसै गरी यहाँको वेदकोट नगरपालिकाले विपत् पूर्वतयारी तथा प्रतिकार्य योजना परिमार्जनको कार्य भइरहेको जनाएको छ । विपत् जोखिम न्यूनीकरणका लागि विभिन्न सङ्घ संस्थाको सहकार्यमा पूर्वतयारी थालिएको नगरपालिकाका विपत् सम्पर्क व्यक्ति सुनील चन्दले बताउनुभयो । विपत्मा परेकाको खोज तथा उद्धारका लागि नगर प्रहरीलाई पाँच दिनको तालिम पनि प्रदान गरिएको विपत् सम्पर्क व्यक्ति चन्दले बताउनुभयो ।
वेदकोट नगरपालिकाका–४ स्थित सार्कीपार्की टोल, वडा नम्बर १० स्थित चतहरी क्षेत्र तथा वडा नम्बर ९ स्थित बैजनाथ टोलका गरेर चार सयभन्दा बढी घरधुरी डुबानको उच्च जोखिममा रहेका छन् । बेलडाँडी गाउँपालिकाले पनि मनसुनजन्य विपत् जोखिम न्यूनीकरणका लागि पाँच वटा वडामा १० वटा सामुदायिक स्तरीय विपत् व्यवस्थापन समिति गठन गरी पूर्वतयारी थालिएको जनाएको छ । गाउँपालिकाका विपत् सम्पर्क व्यक्ति पुरुषोत्तम जोशीले पूर्वतयारीका लागि समितिहरूलाई आवश्यक तालिम प्रदान गरेर सूचना प्रवाह, खोज तथा उद्धारमा खटिन सक्रिय तुल्याइएको बताउनुभयो । बेलडाँडीमा नदीको बाँध भत्किँदा गत वर्ष अत्यधिक क्षति पुग्न गएपछि यस वर्ष मर्मतको काम गरिएकाले यस वर्ष जोखिम कम हुने आकलन गरिएको उहाँले बताउनुभयो ।
त्यसै गरेर यहाँको लालझाँडी गाउँपालिकाले पनि मनसुनजन्य विपतबाट उद्धारका लागि १४ वटा सामुदायिक विपत् व्यवस्थापन समितिलाई तालिम प्रदान गरिएको जनाएको छ । लालझाँडीका वडा नम्बर २, ३ र ४ बाढीजन्य विपत्को उच्च जोखिममा रहेका छन् । भीमदत्त, शुक्लाफाँटा र दोधाराचाँदनी नगरपालिकाले पनि मनसुनजन्य विपत् जोखिम न्यूनीकरणका लागि पूर्वअभ्यास तथा सामुदायिक विपत् व्यवस्थापन समितिलाई पूर्वतालिम प्रदान गरिनुका साथै आवश्यक सामग्री व्यवस्थापनको कार्य गरिरहेको जनाएका छन् ।
भीमदत्तका महाकाली नदी तटीय क्षेत्रमा मात्रै एक हजारभन्दा बढी परिवार बाढीको उच्च जोखिममा छन् । दोधारा चाँदनी नगरपालिकाका विपत् सम्पर्क व्यक्ति अमृत विकले पनि विपत् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी थालिएको बताउनुभयो ।