टोपलाल अर्याल
रेसुङ्गा (गुल्मी), जेठ ३ गते । तेस्रो मुसिकोट मेयर रनिङ कप भलिवलको उपाधि बाग्लुङको गल्कोट नगरपालिकाले जितेको छ । फाइनल खेलमा मेदाने गाउँपालिकालाई सिधा तीन सेटमा पराजित गर्दै उपाधि हात पारेको हो ।
गल्कोटले नगद दुई लाख एक हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै, उपविजेता गुल्मीको मदाने गाउँपालकाले एक लाख ३५ हजार, तृतीय नवलपरासीको बर्दघाट नगरपालिकाले ४० र सान्त्वना बाग्लुङको निसी खोला गाउँपालकाले २६ हजार रुपियाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको मुसिकोट नगर खेलकुद विकास समितिका उपाध्यक्ष तथा खेलकुद संयोजक सोम दर्लामीले जानकारी दिनुभयो ।
दर्लामीका अनुसार ब्याटमिन्टन प्रतियोगितामा शान्तिपुरका बैकुण्ठ श्रेष्ठको समूह बिजेता र भुवाचिदीका टङ्क थापाको समूह उपविजेता भएको छ । विजेताले २० हजार र उपविजेताले १३ हजार ५०० रुपियाँ प्राप्त गरेको छ ।
खेलमा विजेता खेलाडीलाई पुरस्कृत गर्दै मुसिकोट नगरपालिकाका नगर प्रमुख जीवलाल खरेलले मुसिकोट खेलकुद महामेलाले नगरको पहिचान र प्रवर्धनमा टेवा पुगेको बताउनुभयो । उहाँले समग्रमा जिल्लाभरमा आफुहरूले धेरै प्रतियोगितामा सफलता प्राप्त गरेको र नगरभित्र खेलको आकर्षण राम्रो भएकाले उत्सवको रूपमा तीन प्रतियोगिता एकै पटक व्यवस्थापन गरेर सफल बनाइएको बताउनुभयो ।
मेयरकपसहित मुसिकोट खेलकुद महामेला सकिएको छ । महामेला अन्तर्गत तीन वटा प्रतियोगिता भएका थिए । मुसिकोट नगरपालिका–४, कुर्घाको ग्वादिकाचौर खेल मैदानमा सञ्चालन भएको १६ औ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पाँचौ पटक मुसिकोट नगरपालिकाले जितेको छ ।
लगातार यसअघिका चार वटा प्रतियोगीता पनि मुसिकोटले जितेको थियो । सोही खेल मैदानमा मुसिकोट नगरस्तरीय आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पनि सकिएको छ । मुसिकोट नगरस्तरीय आठौं राष्ट्रपति रनिङ शिल्ड त्रिभुवन माविले जितेको नगर खेलकुद विकास समिति अध्यक्ष सन्दिप क्षेत्रीले जानकारी दिनुभयो ।
क्षेत्रीका अनुसार एक साता सञ्चालन भएको तीन प्रतियोगितामा जिल्ला तथा जिल्ला बाहिरका करिब तीन हजार खेलाडी मुसिकोट आएको बताउनुभयो ।