• ३ जेठ २०८३, आइतबार

मनास्लु संरक्षण क्षेत्रमा दुर्लभ हिमाली वन्यजन्तु झारल भेटियो

blog

मनास्लु संरक्षण क्षेत्रमा देखिएको दुर्लभ वन्यजन्तु झारल । तस्बिर : सुदीप श्रेष्ठ

गुणबहादुर रोका 

सुलीकोट, जेठ ३ गते । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका अन्तर्गत पर्ने मनास्लु संरक्षण क्षेत्रमा दुर्लभ हिमाली वन्यजन्तु झारल भेटिएको छ । स्थानीय बासिन्दा तथा मनास्लु संरक्षण क्षेत्रमा खटिएका कर्मचारीहरूले हालै उच्च हिमाली भेगको भिरको चट्टानी क्षेत्रमा झारल भेटिएको मनास्लु संरक्षण क्षेत्र आयोजना एकाइ गोरखाका सुचना अधिकारी भुवन ओझाले जानकरी दिनुभयो । 

दुर्लभ झारलाई अंग्रेजीमा हिमालयन तहर पनि भनिने गरेको छ, सूचना अधिकारी ओझाले भन्नुभयो, ‘उच्च हिमाली क्षेत्रमा पाइने एक प्रकारको जङ्गली जनावर भएकाले यो प्राय समुद्री सतहबाट उच्च उचाईमा रहेका भीर, चट्टान र घाँसे ढलानमा बसोवास गर्ने गरेकाे छ ।’

झारलको बाक्लो रौ, बलिया खुट्टा तथा ठाडा चट्टानमा सहजै हिँड्डुल गर्न सक्ने क्षमता यसको मुख्य विशेषता मानिन्छ । हिमाली कठोर मौसममा पनि सजिलै बाँच्न सक्ने भएकाले झारललाई पहाडी पारिस्थितिक प्रणालीको महत्त्वपूर्ण प्रजातिको रूपमा हेरिने सुचना अधिकारी ओझाको भनाइ छ ।

पछिल्लो समय मनास्लु संरक्षण क्षेत्रमा वन्यजन्तुको बाक्लो उपस्थितिले यहाँको प्राकृतिक वातावरण अझै सुरक्षित रहेको सङ्केत गरेको छ । झारल प्राय समुहमा बस्ने जनावर भएकाले यसलाई देखिनु संरक्षण प्रयासको सकारात्मक परिणामका रूपमा लिइएको छ । स्थानियले झारल देखिएसँगै त्यस क्षेत्रको जैविक महत्त्व थप उजागर भएको बताएका छन् । 

मनास्लु संरक्षण क्षेत्र जैविक विविधताले भरिपूर्ण क्षेत्रका रूपमा परिचित छ । यहाँ झारलसँगै, हिउँ चितुवा, कस्तुरी नावर जस्ता दुर्लभ वन्यजन्तु पनि पाइने गरेको छ भने प्राकृतिक सम्पदाले भरिएको यो क्षेत्र अध्यान, अनुसन्धान तथा पर्यटकिय दृष्टिले पनि उत्तिकै महत्त्वपूर्ण मानिन्छ । 

स्थानीय संरक्षणकर्मी तथा चुमनुब्री गाउँपालिकाले दुर्लभ वन्यजन्तुको बासस्थान जोगाउन अवैध सिकार नियन्त्रण, वन संरक्षण र मानव गतिविधिलाई व्यवस्थित गर्न विभिन्न योजना बनाई दुर्लभ वन्यजन्तुको संरक्षणका लागि पहल गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मनोज लामिछानेले बताउनुभयो । 

उच्च हिमाली भेगमा पाइने यस्ता दुर्लभ जीवजन्तुको संरक्षणले मनास्लु क्षेत्रको प्राकृतिक पहिचान अझ बलियो बनाउने विश्वास मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय गोरखाका सूचना अधिकारी ओझाको भनाइ छ ।