• ३ जेठ २०८३, आइतबार

वीरगन्जको घण्टाघर क्षेत्रमा सरसफाइ

blog

वीरगन्ज (पर्सा), जेठ ३ गते ।  राष्ट्रिय सरसफाइ सप्ताह अन्तर्गत वीरगन्ज महानगर र ग्रिनिसिटी सामुदायिक प्रहरी सेवा केन्द्रले आज वीरगन्जको घण्टाघर परिसरमा बृहत् सरसफाइ गरेको छ । सङ्घीय सरकारले सप्ताहव्यापी रूपमा राष्ट्रिय सरसफाइ सप्ताह सञ्चालन गर्न अनुरोध गरे अनुसार नै यहाँ पनि सरसफाइ गरिएको हो । 

ग्रिनिसिटी सामुदायिक  प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले सरसफाइ सप्ताह अन्तर्गत दिनहुँजसो सरसफाइ गर्दै आइरहेको जानकारी दिनुभयो । “हामीले वीरगन्जलाई स्वच्छ र हराभरा बनाउनका लागि एक दिन मात्रै नभएर वर्षभरि नै सरसफाइ र वृक्षरोपणको काम गर्दै आइरहेका छौँ,” उहाँले भन्नुभयो, “सङ्घीय सरकारले राष्ट्रिय सरसफाइ सप्ताह मनाउन अनुरोध गरेपछि सरसफाइ नगर्ने त कुरै नै भएन ।” 

वीरगन्ज महानगरको फोहोरमैला व्यवस्थापन गर्दै आएको एनके इन्टरनेसनल इन्टरप्राइजेजका सञ्चालक शिव गुप्ताले वीरगन्जमा दिनको तीन पटकभन्दा धेरै सयम फोहोरमैला सङ्कलन गर्दै आइरहेको बताउनुभयो । “हामीले नियमित रूपमा तीन पटकभन्दा धेरै समय सरसफाइकर्मी खटाएर वीरगन्जलाई सफा बनाउने काममा खटिरहेका छौँ,” उहाँले भन्नुभयो, “विगतको एक दशकको तुलना वीरगन्जको सरसफाइ निकै राम्रो भइरहेको छ ।” 

वीरगन्जको घण्टाघर सन् १९७९ फ्रेबुअरी ७ तारिखमा स्थापना भएको थियो । जापानको योनागो सहरका विद्यार्थीको एक दिनको खाजाको पैसा कटाएर घण्टाघर र त्यहाँ घडी राख्न आवश्यक बजेटको प्रबन्ध मिलाइएको स्थानीय ज्येष्ठ नागरिकको कथन छ । रासस