विजयकुमार साह
ढल्केबर, जेठ ३ गते । धनुषाको छिरेश्वरनाथ नगरपालिकका नगर प्रमुख सुखदेव यादवले घरघरमा पुगेर ज्येष्ठ नागरिकलाई सम्मान गर्नुभएको छ ।
जेष्ठ नागरिकलाई हिँडडुल गर्न कठिनाइ हुने भएकाले घरदैलोमै पुगेर सम्मान गरिएको उहाँले बताउनुभयो । नगर प्रमुख यादवले नगर क्षेत्रभित्र तीन हजार पाँच सयभन्दा बढी ज्येष्ठ नागरिक रहेको बताउँदै अहिलेसम्म एक हजार पाँच सय बढीलाई सम्मान गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार सम्मानमा महिलालाई साडी र पुरुषलाई धोती प्रदान गरिएको गरिएको बताउँदै उहाँले बाँकी रहेका जेष्ठ नागरिकलाई पनि क्रमशः घरमै पुगेर सम्मान गरिने बताउनुभयो ।
नगरपालिकाका १० वटा वडामध्ये हालसम्म वडा नम्बर १ देखि ५ सम्मका जेष्ठ नागरिकलाई घरमै पुगेर सम्मान गरिएको उहाँले जानकारी दिनुभयो ।
नगर प्रमुख यादवका अनुसार कार्यालयमा कार्यक्रम आयोजना गरेर सम्मान गर्दा धेरै जेष्ठ नागरिकलाई वृद्धालाई आउन शारीरिक समस्या हुने भएकाले घरघरमै पुगेर सम्मान गरिएको उहाँको भनाइ छ ।
घरघरमा पुगेर सम्मान गर्दा उहाँहरूको स्वास्थ्य अवस्था र जीवनशैलीबारे जानकारी प्राप्त गर्ने अवसरसमेत मिलेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,“जेष्ठ नागरिक समाजका मार्गदर्शक हुन् । उहाँहरूलाई सम्मानपूर्वक सेवा दिनु स्थानीय सरकारको दायित्व हो ।”
उहाँले जेष्ठ नागरिकलाई समाजिक सुरक्षा भत्ता पनि घरघरमा पुर्याउने व्यवस्था मिलाउने जानकारी दिनुभयो । आगामी दिनमा अशक्त तथा हिँडडुल गर्न नसक्ने नागरिकलाई लक्षित गरी सामाजिक सुरक्षा भत्ता घरमै उपलब्ध गराउने विषयमा छलफल अघि बढाएको नगर प्रमुख यादवले बताउनुभयो ।