• ३ जेठ २०८३, आइतबार

झिमरुक गाउँपालिकामा विद्यार्थीलाई कानुनी शिक्षा

blog

झिमरुक गाउँपालिकामा सञ्चालित कानुनी शिक्षा कार्यक्रम । तस्विरः सुजल श्रेष्ठ

सुजल श्रेष्ठ

प्युठान, जेठ ३ गते । झिमरुक गाउँपालिका प्युठानले क्याम्पस तथा विद्यालयमा अध्यनरत विद्यार्थीको लागि कानुनी शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । झिमरुक गाउँपालिकाको न्यायिक समितिले विद्यार्थीलाई लक्षित गरेर कानुनी शिक्षा कार्यक्रम सञ्चालन गरेको हो । 

अघिल्लो आर्थिक वर्षदेखि थालिएको कानुनी शिक्षा कार्यक्रमलाई यसवर्ष पनि निरन्तरता दिएको पालिकाले जनाएको छ । विद्यालय तहदेखि बालवालिकालाई कानुनी शिक्षा दिएमा मात्र भविष्यको रेखा कोर्न सहज हुने भएकाले यस्तो कार्यक्रमको अवधारणा अघि सारिएको गाउँपालिका उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक प्रमोद पोख्रेलले जानकारी दिनुभयो ।  

स्थानीय सरकार गठन, सञ्चालन, सेवा प्रवाह, विकास निर्माणसहित पालिकामा गठित न्यायिक समितिमार्फत हुने सेवाको बारेमा विद्यार्थीलाई अभिमुखीकरण गराइएको उहाँले जानकारी दिनुभयो । 

न्यायिक समितिका संयोजक पोख्रेलसहित अदालत प्युठानका श्रेस्तेदार राजेन्द्रकुमार शर्मा, जिल्ला सरकारी वकिल कार्यालय प्युठानका जिल्ला न्यायधिवक्ता जयप्रसाद धितालले विद्यार्थीलाई प्रशिक्षण दिनुभएको छ ।  

पालिकाले यो कार्यक्रम माध्यमिक तहका सबै विद्यालयमा सञ्चालन गर्ने योजना बनाएको छ । पालिकाभर कुल सामुदायिक र संस्थागत गरी १४ वटा माध्यमिक विद्यालय र एउटा  क्याम्पस सञ्चालनमा छन् ।