• ३ जेठ २०८३, आइतबार

तम्घासका नेवार समुदाय मौलिक बाजा सिक्दै

blog

धिमे बाजा सिक्दै तम्घासका नेवार महिला । तस्बिरः टोपलाल अर्याल

टोपलाल अर्याल

रेसुङ्गा (गुल्मी), जेठ ३ गते । गुल्मीको तम्घासमा ८१ घरधुरी नेवार समुदाय छन् । उनीहरूले अहिले तीन चरणमा आफ्नै मौलिक बाजा बजाउन सिकिरहेका छन् । नेवार समुदायको आफ्नै मौलिक संस्कृति छ । 

त्यसमध्येको धिमे बाजा जसलाई सिक्ने र प्रवर्धन गर्ने अभियानमा बच्चादेखि उमेर पुगेकाले सिकिरहेका छन् । नेवा खलः को अगुवाइमा धिमे बाजाको प्रशिक्षण चलिरहेको छ । 

यो समुदायले परम्परागत लाखे नाचसँग जोडिएको बाजा बजाउँदै आएका छन् । धिमे बाजा आफूहरूको मौलिक बाजा भएकाले प्रशिक्षणपछि अझ सांस्कृतिक रूपमा सशक्त बन्ने विश्वास गरिएको नेवा खल ः तम्घासका अध्यक्ष राजकुमार श्रेष्ठले बताउनुभयो ।

तम्घासमा नेवा खलःले लामो समयदेखि विभिन्न मेला, पर्व तथा उत्सवहरूमा लाखे नाच प्रदर्शन गर्दै आएको छ । अब लाखे बाजासँगै धिमे बाजा थपिएपछि नेवार संस्कृतिको मौलिकता अझ समृद्ध हुने अपेक्षा गरिएको गुल्मी उद्योग वाणिज्य सङ्घका अध्यक्ष मृगेन्द्रप्रसाद श्रेष्ठले बताउनुभयो । 

अहिले नेवार समुदायले दैनिक तीन चरणमा बाजा बजाउन सिकिरहेको छ । नियमित अभ्यासमार्फत नयाँ पुस्तालाई परम्परागत बाजासँग जोड्ने उद्देश्य राखिएको छ । प्रशिक्षणमा सहभागी बालबालिका र युवामा विशेष बाजा सिक्ने उत्साह देखिएको छ । नेवार समुदायबाट बाजा सिक्ने अधिकांश नयाँ पुस्ता विद्यालय उमेर समूहका छन् । 

नयाँ बाजा सिकाइले नयाँ अनुभूति भएको सहभागी रेसुङ्गा नगरपालिका–१ का हिमाल श्रेष्ठले बताउनुभयो । हिमालले लामो समयदेखि लाखे बाजा बजाउँदै आउनुभएको छ । उहाँले आगामी विभिन्न सांस्कृतिक कार्यक्रममा धिमे बाजा प्रस्तुत गर्ने गरेरै आफूहरूले सिकिरहेको बताउनुभयो । 

उमेर पुगेकाहरू पनि युवासँगै बाजा सिक्न सहभागी भएपछि समुदायमा सांस्कृतिक एकता र पुस्तान्तरणको राम्रो सन्देश दिएको जिल्ला समन्वय समिति गुल्मीका समन्वय अधिकारी होमनाथ काफ्लेले बताउनुभयो । उहाँले आर्थिक सवलीकरणका नाममा धेरै बजेट खर्च भए पनि सांस्कृति पहिचान र संरक्षणमा गरिएको कार्य नवीनतम र फलदायी देखिएको बताउनुभयो ।

नेवार समुदायले भाषा, भेषभूषा, नाचगान र बाजागाजामार्फत आफ्नो मौलिक संस्कृति जोगाउँदै आएको छ । पछिल्लो समय आधुनिकताको प्रभाव बढ्दै जाँदा परम्परागत संस्कृति हराउने चिन्ता भइरहेका बेला तम्घासमा सुरु गरिएको धिमे बाजा प्रशिक्षणले समुदायलाई सांस्कृतिक रूपमा थप एकताबद्ध बनाउने अपेक्षा गरिएको प्रशिक्षक सुदन मुनिकारले बताउनुभयो । 

प्रशिक्षण दिइरहेको धिमे बाजा केवल मनोरञ्जनको साधन नभई नेवार सभ्यता र पहिचानसँग जोडिएको सांस्कृतिक सम्पदा भएको मुनिकारको भनाइ छ । छोटो समय भएकाले धिमे बाजा र बाँसुरीको आधारभूत ज्ञान मात्रै प्रशिक्षण दिइएको छ ।

धिमे बाजा सिकाइका लागि घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको बजेट व्यावस्थापन गरेको छ । उद्यम विकास, प्रवर्धन र सहजीकरण मात्र नभएर सांस्कृतिक पक्षमा पनि आफूहरूले काम गरिरहेको घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख राजीव अर्यालले बताउनुभयो ।