• ३ जेठ २०८३, आइतबार

यौनिक अल्पसङ्ख्यक समुदायलाई विकासको मूल प्रवाहमा ल्याउन जोड

blog

यौनिक अल्पसङ्ख्यक समुदायमाथि हुने घृणाविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागिहरु ।

काठमाडौँ, जेठ ३ गते । यौनिक तथा अल्पसङ्ख्यक समुदायलाई विकासको मूल प्रवाहमा सहभागी गराउने भन्ने विषयमा सरोकारवालाबिच छलफल भएको छ । 

यौनिक अल्पसङ्ख्यक समुदायमाथि हुने घृणाविरुद्धको अन्तर्राष्ट्रिय दिवसका सन्दर्भमा आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा सो समुदायका नागरिक, पत्रकार, राजनीतिक दलका नेता तथा सरोकारवालाबिच छलफल भएको हो । यो वर्ष ‘एट द हर्ट अफ डेमोक्रेसी’ अर्थात् ‘लोकतन्त्रको केन्द्रमा’ भन्ने नाराका साथ यो दिवस मनाइएको छ । 

अभियन्ता टीकाराम भुसालले यौनिक तथा अल्पसङ्ख्यक समुदायका विषय उठान तथा विकासको मूल प्रवाहमा उनीहरुको सहभागीतालाई कसरी सुनिश्चित गर्ने भन्ने विषयमा भएको छलफल फलदायी भएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय रुपमा यौनिक तथा अल्पसङ्ख्यक समुदायमाथि हुने घृणाविरुद्धको दिवस मनाइरहेका छौँ । मे १७, आजको दिनमा यो समुदायले भोग्नुपरेका चुनौती, समस्याहरु मिडियाले कस्तो खालको भूमिका निर्वाह गर्दा चाहिँ समुदायलाई विकासको मूल प्रवाहमा ल्याउन सकिन्छ भनेर यो छलफल आयोजना गरिएको छ ।”

सञ्चारकर्मी एवम् लैङ्गिक विश्लेषक आरती चटौतले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक विषयमा जिम्मेवार मिडिया अभ्यासका सन्दर्भमा प्रस्तुती राख्नुभयो । उहाँले सोच एवम् सामाजिक भेद्भावका कारण यौनिक अल्पसङ्ख्यक समुदायको विषय बाहिर आउन नसकेको बताउनुभयो । 

यसैगरी, आधिकारिक जनगणनामा प्रश्न सोध्ने तरिकामा सीमितता, राज्यबाट संरक्षित नहुनु एवम् सशक्तिकरणमा समेत प्रश्न उठ्ने गरेका कारण उनीहरुको आवाज बुलन्दरुपमा बाहिर आउन नसकेको उहाँको भनाइ छ । 

उहाँले नेपालको संविधानले यौनिक अल्पसङ्ख्यक समुदायलाई संवैधानिक मान्यता र कानुनी संरक्षण प्रदान गरेको भन्नुहुँदै संविधान कार्यान्वयनमा पत्रकारिताको पनि महत्वपूर्ण भूमिका रहने बताउनुभयो । 

यौनिक अल्पसङ्ख्यक समुदायको सुरक्षित, मर्यादित र सम्मानित जीवनयापनका लागि सबै पक्षले आ–आफ्नो तर्फबाट जिम्मेवारपूर्ण तरिकाले भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाइ छ ।