काठमाडौँ, जेठ ३ गते । मौसम पूर्वानुमान महाशाखाकाअनुसार मधेसमा विकसित पानी पर्ने प्रणाली पूर्वतर्फ सर्दै गएको छ ।
मौसमविद् सरोज पुडासैनीका अनुसार अहिले देशको हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लागेको छ । हाल मधेस प्रदेशमा स्थानीय एवम् पश्चिमी वायुको प्रभावका कारण मध्यमस्तरको हावाहुरीसहित वर्षा भइरहेको छ ।
यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
उहाँले भन्नुभयो, “मधेस प्रदेशका केही स्थानमा हावाहुरीसहित पानी परिरहेको छ । ठुलो हावाहुरी होइन, सामान्यभन्दा अलि ठुलो मध्यमस्तरको छ । मधेसमा विकसित भएको यो प्रणाली बागमतीको दक्षिण हुँदै कोशीतर्फ सर्दै गएको छ ।”
उहाँले आज बेलुकासम्म काठमाडौँ लगायत आसपासका जिल्लाका थोरै स्थानमा वर्षाको सम्भावना रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बेलुकापख काठमाडौँ लगायत आसपासका जिल्लाका थोरै स्थानमा वर्षा हुने सम्भावना देखिन्छ ।”