रमेश विश्वकर्मा
गुल्मि, जेठ ३ गते। गुल्मीको सदरमुकाम तम्घासमा मुस्लिम समुदायलक्षित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। यहाँस्थित गुल्मी मोडेल हस्पिटल प्रालिले सामाजिक उत्तरदायित्व अन्तर्गत मदरसा अहले सुन्नत प्राथमिक विद्यालयमा मुस्लिम समुदायलक्षित एक दिने निःशुल्क स्वास्थ्य शिविर स्वास्थ्य शिविर सञ्चालन गरेको हो।
शिविरमा सहभागीहरूको सुगर, प्रेसर जाँचसँगै मुटुको इसिजी गरिएको थियो। गुल्मी मोडेल हस्पिटलका डा. सन्देश आचार्यले स्वास्थ्य परीक्षण गर्नुभएको थियो। शिविरमार्फत १८ जनाले प्रत्यक्ष स्वास्थ्य सेवा लिनुभएको थियो। स्वास्थ्य परीक्षणको क्रममा केही व्यक्तिमा उच्च रक्तचाप तथा सुगरसम्बन्धी समस्या देखिएको थियो। उहाँहरूलाई आवश्यक परामर्श, नियमित औषधी सेवन तथा थप उपचारका लागि सुझाव दिइएको थियो।
त्यसअवसरमा रेसुङ्गा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थीले निजी स्वास्थ्य संस्थाहरूले केवल व्यावसायिक दृष्टिकोण मात्र नभई सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। उहाँले समाजका सबै वर्ग र समुदायसम्म स्वास्थ्य सेवा पहुँच पुर्याउन यस्ता कार्यक्रम प्रभावकारी हुने भन्दै निजी क्षेत्रसँग सहकार्य गरेर मात्रै समुन्नत समाज निर्माण गर्न सकिने बताउनुभयो।
अस्पतालका सञ्चालक रमेश अधिकारीले जिल्लामा लामो समयदेखि विभिन्न पेशा तथा व्यवसायमा संलग्न मुस्लिम समुदायका नागरिकहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै यस पटक विशेष रूपमा उनीहरूलाई लक्षित गरेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको जानकारी दिनुभयो। उहाँले आगामी दिनमा पनि अस्पतालले विभिन्न समुदाय तथा दुर्गम क्षेत्रका नागरिकलाई लक्षितगरी स्वास्थ्यसम्बन्धी कार्यक्रम गर्ने बताउनुभयो।
मदरसा अहले सुन्नत प्राथमिक विद्यालयका अध्यक्ष जबल मियाले अस्पतालप्रति विशेष धन्यवाद व्यक्त गर्दै यस्ता स्वास्थ्य सेवा समुदायस्तरमै पुग्दा नागरिक लाभान्वित हुने बताउनुभयो। उहाँले आर्थिक अवस्था कमजोर भएका नागरिकका लागि निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम निकै उपयोगी बनेको बताउनुभयो।