• ३ जेठ २०८३, आइतबार

प्रिमियर कपमा उत्कृष्ट प्रदर्शन गर्दै एसियाली खेलकुदमा छनोट हुने कप्तान इन्दुको विश्वास

blog

काठमाडौँ, जेठ ३ गते । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले एसीसी महिला टी–२० प्रिमियर कपमा उत्कृष्ट प्रदर्शन गर्दै एसियाली खेलकुद (एसियन गेम्स) मा छनोट हुने विश्वास व्यक्त गर्नुभएको छ।

मलेसियामा आगामी जुन १ देखि १३ तारिखसम्म महिला टी–२० प्रिमियर कप आयोजना हुँदै छ। जापानमा आयोजना हुने एसियाली खेलकुदको छनोट चरणसमेत रहेको प्रिमियर कपमा नेपालसहित कुल १८ राष्ट्रले प्रतिस्पर्धा गर्दै छन्। नेपाली टोलीकी कप्तान इन्दुले यसपल्ट राम्रो तयारी भएकाले छनोट हुने आशा व्यक्त गर्नुभयो। उहाँले यसबीच दुईवटा अभ्यास खेल पनि खेलेको उल्लेख गर्दै त्यसमा देखिएका कमिकमजोरी सुधार गरिएको बताउनुभयो। अहिले टोली सन्तुलित बनेकाले राम्रो नतिजा आउनेमा आफू आशावादी रहेको उहाँको भनाइ छ। ओपनिङ, मिडल अर्डर वा बलिङमा पाएको भूमिकामा हरेक खेलाडीले आफ्नो जिम्मेवारी निभाउन सके सकारात्मक नतिजा आउने उहाँले विश्वास व्यक्त गर्नुभयो।

स्वदेशमा जसरी तयारी गरिएको छ, त्यस्तै प्रदर्शन विदेशमा पनि गर्न आवश्यक रहेको कप्तान बर्माले बताउनुभयो। एसोसिएट राष्ट्र एसियाली खेलकुदसम्म पुग्न सके भविष्यमा यसले नेपाली क्रिकेटलाई ठुलो मद्दत पुग्ने उहाँको भनाइ छ। उहाँले हरेक खेलमा विशेष ध्यान दिएर बिनादबाब मैदान उत्रिने स्पष्ट पार्नुभयो। प्रिमियर कपमा नेपाल समूह ‘डी’ मा छ। नेपाल रहेको समूह ‘डी’ मा भुटान, हङकङ चीन र कतार रहेका छन्। समूह चरणका सबै खेल केटीजे ओभल मैदानमा सञ्चालन हुनेछन्।

यसै प्रतियोगिताका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार नेपाली टोलीलाई बिदाइ गरेको छ। क्यानका उपाध्यक्ष रोशन सिंहलगायतले टोलीलाई बिदाइ गर्नुभएको थियो। सो अवसरमा उपाध्यक्ष सिंहले लगानी राम्रो भइरहेको अवस्थामा नेपाली महिला टोलीबाट धेरै आशा गरिएको बताउनुभयो। उहाँले टोलीलाई आपसी एकताका साथ खेल्न आग्रह गर्नुभयो। उपाध्यक्ष सिंहले प्रतियोगिता नभएको अवस्थामा पनि नेपाली खेलाडीले सदैव आफूलाई तयार राख्नुपर्नेमा जोड दिनुभयो। उहाँले नेपाली टोलीमा क्षमतावान् खेलाडी रहेकाले नतिजा सकारात्मक आउनेमा आफू आशावादी रहेको धारणा राख्नुभयो।

थाइल्यान्डको महिला टोलीलाई उच्च स्थानसम्म पुर्‍याएका मुख्य प्रशिक्षक साथमा हुँदा पनि पछिल्लो समय सोचेजस्तो नतिजा आउन नसकेको सन्दर्भमा टोलीले नयाँ रणनीति बनाएको छ। नेपाली महिला टोलीका मुख्य प्रशिक्षक हर्षल पाठकले रुवान्डामा भएको प्रतियोगितामा फरक वातावरण रहेकाले राम्रो नतिजा आउन नसकेको बताउनुभयो। यद्यपि महिला खेलाडीको प्रदर्शनबाट आफू खुसी रहेको उहाँले स्पष्ट पार्नुभयो।

प्रिमियर कप क्रिकेट प्रतियोगितामा भुटानले नेपालसँग प्रतिस्पर्धा गर्ने तालिका छ। मलेसियन क्रिकेट एसोसिएसनको आयोजना तथा एसियन क्रिकेट काउन्सिल (एसीसी) को तत्त्वावधानमा हुने प्रतियोगितामा एसियाका उदीयमान महिला क्रिकेट राष्ट्रहरूको सहभागिता रहनेछ। भुटानले जुन ३ मा हङकङ चीनविरुद्ध पहिलो खेल खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। त्यसपछि उसले जुन ४ मा नेपालसँग तथा जुन ६ मा कतारसँग प्रतिस्पर्धा गर्नेछ।