• ३ जेठ २०८३, आइतबार

कान्सको ७९ औँ शृङ्खला मे १२ देखि २३ सम्म आयोजना हुँदै

कान्स फिल्म फेस्टिभलमा सहभागी हुन कार्यवाहक प्रमुख डङ्गोल फ्रान्स प्रस्थान

blog

फ्रान्स उड्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोललगायत ।

काठमाडौँ, जेठ ३ गते । कान्स फिल्म फेस्टिभलको ७९ औँ शृङ्खलामा भाग लिन काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोल शनिबार फ्रान्स प्रस्थान गर्नुभएको छ। कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा उहाँ फेस्टिभलमा भाग लिन जानुभएको हो। फेस्टिभलका विभिन्न सत्रमा सहभागी भई उहाँ जेठ ८ गते स्वदेश फर्कने कार्यक्रम छ।

कान्स र काठमाडौँ दुवै संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन (युनेस्को) को ‘क्रिएटिभ सिटी’ (रचनात्मक सहर) को चलचित्र विधाका सदस्य नगर हुन्। कान्सका मेयरले कार्यवाहक प्रमुख डङ्गोललाई पठाउनुभएको निमन्त्रणापत्रमा भनिएको छ, “फेस्टिभल रचनात्मक सहरलाई एकै ठाउँमा ल्याउने अवसर हो। फेस्टिभलमा ‘अन–एयर’ शीर्षकमा सञ्चालन हुने अडियो भिजुअल कन्टेन्ट चेनबारे बुझ्न यसले सहज बनाउनेछ।”

कार्यवाहक प्रमुख डङ्गोल फेस्टिभलका विभिन्न कार्यक्रममा सहभागी हुनुहुनेछ। त्यस क्रममा मेयर लिसनार्ड र फेस्टिभल निर्देशकसँग उहाँको भेटवार्ता हुने कार्यक्रम छ। यस वर्ष फेस्टिभलका लागि नेपालबाट अविनाश विक्रम शाहको ‘इलिफेन्ट इन द फग’ चलचित्र प्रदर्शन हुँदै छ।

युनेस्कोबाट वि.सं. २०८० कात्तिक १४ गते काठमाडौँ महानगरपालिका चलचित्र सहर सञ्जालको सदस्य नगरका रूपमा चयन भएको हो। त्यतिबेला विश्वका ५५ वटा नगरलाई विभिन्न विधाका रचनात्मक सहरका रूपमा थप गरिएको थियो। सोही समयमा काठमाडौँ महानगरसहित विश्वका २६ वटा नगर चलचित्र विधाबाट सदस्य भएका थिए। रचनात्मक सहरको विश्व सञ्जालमा १०० भन्दा बढी देशका ४०० वटा सहर आबद्ध छन्।

रचनात्मक उद्योगअन्तर्गत चलचित्र, सङ्गीत, डिजाइन, शिल्प तथा लोककला, साहित्य, ग्यास्ट्रोनमी (खानाका परिकार) र मिडिया कलालगायत विधामा सदस्यता प्रदान गर्ने गरिएको छ।

चलचित्र सहरका रूपमा सबैभन्दा पहिले छनोट भएको सहर संयुक्त अधिराज्य (वेलायत) को ब्राडफोर्ड हो। यो सन् २००९ मा छनोट भएको हो। सन् २०१० मा अस्ट्रेलियाको सिड्नी छानियो भने सन् २०१४ मा दक्षिण कोरियाको बुसान, आयरल्यान्डको गल्वे र बुल्गेरियाको सोफिया यस विधामा छानिए। सन् २०१५ मा नर्थ म्यासेडोनियाको विटोला, इटालीको रोम र ब्राजिलको सान्तोस चयन भए। सन् २०१७ मा संयुक्त अधिराज्यको ब्रिस्टोल, पोल्यान्डको लोज, चीनको क्वान्दो, स्पेनको टेरेसा र जापानको यामागाता गरी पाँचवटा नगर छानिएका थिए।

त्यसैगरी सन् २०१९ मा भारतको मुम्बई, जर्मनीको पोस्टडाम, बोस्निया हर्जगोभिनाको साराजेभो, स्पेनको भालाडोलिड र न्युजिल्यान्डको वेलिङ्टन गरी पाँचवटा सहर छानिएका हुन्। सन् २०२१ मा पोल्यान्डको ग्ड्यानिया, फ्रान्सको कान्स र रोमानियाको क्लुज नेपोका गरी तीनवटा सहर चलचित्र विधामा छानिएका थिए।