राधा लुइटेल
फिदिम, जेठ ३ गते । पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ स्थित पर्यटकीय क्षेत्र बत्तिसे झरनामा निर्माण गरिएको झोलुङ्गे पुल सञ्चालनमा आएको छ।
पूर्वाधार विकास कार्यालय पाँचथरमार्फत कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयको ४८ लाख रुपियाँ लागतमा ९३ मिटर लामो झोलुङ्गे पुल निर्माण गरिएको हो। पूर्वाधार विकास कार्यालय पाँचथरका सूचना अधिकारी मुकेश शाहका अनुसार केही महिनाअघि निर्माण सम्पन्न भएको पुल अहिले पूर्ण रूपमा सञ्चालनमा आएको छ।
झोलुङ्गे पुलबाट नजिकै रहेको बत्तिसे झरना, निबु खोलाको कञ्चन पानी, बत्तिसे रिसोर्ट र त्यस क्षेत्रको वनमा पाइने वन्यजन्तुको दृश्यावलोकन गर्न सकिने भएकाले यहाँ आन्तरिक पर्यटकको भिड लाग्ने गर्दछ। पर्यटकको आवागमनलाई सहज बनाउँदै आन्तरिक पर्यटन प्रवर्द्धन गर्न उपभोक्ता समितिसँगको सहकार्यमा पुल निर्माण गरिएको कार्यालयले जनाएको छ।
नवनिर्मित पुलले बत्तिसे झरना अवलोकनका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सुरक्षित रूपमा दृश्यावलोकन गर्ने सुविधा प्रदान गरेको छ। स्थानीय रेनु राईका अनुसार पुल सञ्चालनमा आएपछि उक्त क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुग्नुका साथै पर्यटकले सुरक्षित रूपमा झरनाको अवलोकन गर्न पाएका छन्।
झोलुङ्गे पुलबाट झरना हेर्ने र तस्बिर खिच्नेहरूको सङ्ख्या दैनिक सयभन्दा बढी रहने गरेको स्थानीय बासिन्दा बताउँछन्।