• ३ जेठ २०८३, आइतबार

नेपालगन्ज म्याराथनलाई एम्सको अवार्ड

blog

म्याराथनमा सहभागी खेलाडिहरु ।

कमल खत्री

धम्बोझी, जेठ ३ गते । वर्ल्ड रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) ले नेपालको धारा नेपालगन्ज म्याराथनलाई यस वर्षको ‘एम्स सोसल अवार्ड‘ प्रदान गर्ने निर्णय गरेको छ । 

संसारभरका रेस आयोजकमध्येबाट छनौट हुने यो एम्सको प्रतिष्ठित अवार्ड हो । नर्वेको ट्रम्सोमा जुन १८–२० मा हुने एम्सको २५ औं वल्र्ड कंग्रेसमा उक्त अवार्ड प्रदान गरिने छ । छनोट समिति संयोजक एवं एम्स उपाध्यक्ष मार्था मोरालेसबाट अवार्डबारे जानकारी र बधाई प्राप्त भएको नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले बताउनुभयो ।

यसअघि २०१३ मा ग्रेट इथोपियन रन (इथोपिया), २०१४ मा टोकियो म्याराथन (जापान), २०१५ मा म्याराथन इन्टरनेसनल लाला (मेक्सिको), २०१६ मा म्युनिख म्याराथन (जर्मनी), २०१७ मा म्याराथन दि लस फ्लोरेस मेडेलिन (कोलम्बिया), २०१८ मा बेलग्रेड म्याराथन (सर्बिया), २०१९ मा हार्मोनी जेनेभी म्याराथन फर युनिसेफ (स्वीटजरल्याण्ड) ले यो अवार्ड प्राप्त गरेका थिए । विविध कारणले बिचमा केही बर्ष रोकिएको यो अवार्ड यस बर्षदेखि निरन्तर प्रदान गर्न लागिएको उपाध्यक्ष मार्थाले बताउनुभयो । 

उपाध्यक्ष मार्थाले नेपालगन्ज म्याराथनका संस्थापक ठकुरीलाई पत्र लेख्दै भन्नुभएको छ,  ‘हामी तपाईंलाई यो जानकारी गराउन पाउँदा अत्यन्त हर्षित छौं, नेपालगन्ज म्याराथन यस बर्षको प्रतिष्ठित एम्स सोसल अवार्ड प्राप्तकर्ताका रुपमा चयन भएको छ ।’ दौडको दुनियाँमा यो अत्यन्तै सम्मानित पुरस्कार भएको मार्थाले उल्लेख गर्नुभएको छ । 

‘प्रत्येक बर्ष त्यस्ता उत्कृष्ट म्याराथनलाई प्रदान गरिन्छ, जसले म्याराथन आयोजनामा उत्कृष्ट अभ्यास प्रस्तुत गर्दै खेलकुदको दिगो विकासका पक्षमा आफ्नो सशक्त प्रतिबद्धता जनाएको हुन्छ’ उहाँले भन्नुभएको छ, ‘यो बिशेष पुरस्कारमार्फत तपाईं र तपाईंको संस्थाले समाजमा सञ्चालन गरेका सामाजिक पहलहरु र सकारात्मक कार्यहरुको सम्मान गरिएको हो ।’

एम्सले अन्य सदस्य संस्थालाई पनि आफ्ना कार्यक्रमहरुमा यस्ता उत्कृष्ट अभ्यासहरु अपनाउन प्रेरित गर्ने उद्देश्य राखेको छ । कोभिडकालमा समेत नेपाल सरकारको प्रोटोकल कायम राख्दै टोकियो ओलम्पिकका लागि खेलाडि छनोट गर्ने काम नेपालगन्ज म्याराथनले गरेको थियो ।