• ३ जेठ २०८३, आइतबार

प्रविधिमैत्री बन्दै थानपति आधारभूत विद्यालय

blog

कम्प्युटर ल्याबमा थानपति आधारभूत विद्यालयका विद्यार्थीहरु। तस्बिर: रमेश विश्वकर्मा

रमेश विश्वकर्मा

गुल्मी, जेठ ३ गते । गुल्मीको ग्रामीण भेगमा अवस्थित एक सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै गएको छ। जिल्लाको मालिका गाउँपालिका–८, बरारुखस्थित थानपति आधारभूत विद्यालय पछिल्लो समय प्रविधिमैत्री शिक्षाको नमुनाका रूपमा विकसित हुँदै गएको हो। यस विद्यालयले आधुनिक शैक्षिक सामग्रीमार्फत शिक्षण सिकाइलाई प्रविधिसँग जोडेको छ।

विद्यालयले स्मार्ट बोर्ड, कम्प्युटर, प्रोजेक्टर, सिसिटिभी क्यामेरा र इन्भर्टरसहितका उपकरण जडान गरी शिक्षण पद्धतिलाई आधुनिक बनाएको छ। मालिका गाउँपालिकाको १० लाख रुपियाँ बजेट विनियोजनबाट विद्यालयमा अत्याधुनिक पुस्तकालय र विज्ञान प्रयोगशालासमेत निर्माण गरिएको छ। विद्यालयका प्रधानाध्यापक गोविन्द बुढामगरले प्रविधिको प्रयोगले विद्यार्थीमा व्यावहारिक ज्ञानको विकास भएको बताउनुभयो। पहिले किताबका चित्रमा मात्र सीमित रहने प्रविधिलाई अहिले विद्यार्थीले प्रत्यक्ष रूपमा प्रयोग गर्न पाउँदा सिकाइ उपलब्धिमा वृद्धि भएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिबी खड्काको नेतृत्वमा सुरु गरिएको विद्यालय सुधार अभियानले सकारात्मक नतिजा दिन थालेको छ। अध्यक्ष खड्काले भन्नुभयो, “पहिले विद्यार्थीले ल्यापटप र कम्प्युटर किताबमा मात्र देख्थे, अहिले आफ्नै हातले चलाउन पाउँछन्। यसले विद्यार्थीको आत्मबल र सिक्ने क्षमता दुवै बढाएको छ।” किताबका चित्रमा सीमित प्रविधिका साधन आफ्नै हातले चलाउन र सिक्न पाउँदा विद्यार्थी पनि खुसी भएका छन्। ग्रामीण क्षेत्रका विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दो क्रममा रहे पनि थानपति आधारभूत विद्यालयमा भने आकर्षण बढ्दो छ।

विद्यालय प्रशासनका अनुसार गुणस्तरीय र प्रविधिमैत्री शिक्षाका कारण यसै शैक्षिक सत्रमा मात्रै थप २५ जना नयाँ विद्यार्थी भर्ना भएका छन्। हाल यस विद्यालयमा १२० जना विद्यार्थी अध्ययनरत छन्। यसैबीच अध्यक्ष खड्काकै अगुवाइमा विद्यालयको दीर्घकालीन शैक्षिक सुधारका लागि बृहत् आर्थिक सङ्कलन अभियान पनि सञ्चालन भइरहेको छ। अभियानमार्फत स्थानीय अभिभावक तथा शिक्षाप्रेमीहरूबाट हालसम्म करिब ११ लाख रुपियाँ सङ्कलन भएको अध्यक्ष खड्काले जानकारी दिनुभयो। सङ्कलित रकमको ब्याजबाट विद्यालयमा विभिन्न शैक्षिक सुधारका गतिविधि सञ्चालन भइरहेको उहाँले बताउनुभयो। ग्रामीण विद्यालयमा आधुनिक प्रविधि, प्रयोगात्मक शिक्षण र समुदायको सक्रिय सहभागिताले शिक्षाको स्तर सुधार्न मद्दत पुगेको छ।