काठमाडौँ, जेठ ३ गते । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाल सुपर लिग (एनएसएल) फुटबलको आयोजनाले नेपाली फुटबललाई नयाँ उचाईमा लैजाने बताउनुभएको छ ।
आइतबार एनएसएलको आगामी संस्करणको घोषणा कार्यक्रममा बोल्दै मन्त्री पोखरलले हरेक खेलको फ्रेन्चाइज लिगले खेलकुदको विकासमा महत्वपूर्ण भुमिका खेल्ने बताउनुभएको हो ।
यसअघि नेपाल प्रिमियर लिगड (एनपिएल) ले पनि नेपाली क्रिकेटको विकासमा राम्रो भुमिका खेलेको उल्लेख गर्दै एनएसएल पनि त्यस्तै माध्यम रहेको उहाँको भनाइ छ । मन्त्री पोखरेलले आजको दिनसम्म खेलकुदमा निजी क्षेत्रलाई राम्रोसँग जोड्न नसकेको दाबी पनि गर्नुभयो ।
चौथो संस्करणको एनएसएल भदौ २० गतेदेखि सुरु हुने भएको छ । आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले आइतबार लिगको घोषणा गरेको हो ।
लिगमा यसपटक १० देखि १२ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । सहभागी टोलीलाई होम एन्ड अवे ढाँचामा खेलाइने छ । यसअघि प्रतियोगिता दशरथ रङ्गशालामा माञ सञ्चालन हुँदै आएको थियो ।