चन्द्र पन्दाक
ताप्लेजुङ, जेठ ३ गते । आठ वर्षअघि निर्माण गर्न सुरु गरिएको निघुरादिनको लिम्बुनीस्थित तमोर नदीको मोटर गुड्ने (मोटरेवल) पुलको ट्रस जडान गर्न थालिएको छ । तमोर कोरिडोर सडकअन्तर्गत ताप्लेजुङको निघुरादिन र पाँचथरको अमरपुर जोड्ने तमोर नदीमा निर्माण गरिँदै आएको पुलको ट्रस जडान गर्न थालिएको हो ।
पाँचथरको हिलिहाङ गाउँपालिकास्थित अमरपुरको आङ्बुङ र ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिका–१ निघुरादिन जोड्नेगरी तमोर नदीको लिम्बुनीमा मोटरेवल पुल निर्माण गरिँदै आएको छ । उक्त मोटरेवल पुलको ट्रस जडानको कार्य यही शुक्रबारदेखि सुरु गरिएको निर्माण कम्पनीले जनाएको छ ।
निर्माण कम्पनी एमएस सपना याक्थुङ जेभीका प्रतिनिधि तेजकुमार कुरुम्बाङका अनुसार पुलको ट्रस जडान गर्न सुरु भएसँगै कामलाई तीब्रता दिइएको छ । अबको २० देखि २५ दिनभित्र ट्रस जडान गरी सक्ने लक्ष्यसहित कामलाई तीब्रता दिएको कम्पनीका प्रतिनिधि कुरुम्बाङले उल्लेख गर्नुभएको छ ।
पुलका लागि आवश्यक ट्रस सामग्री निर्माण स्थलमा उपलब्ध रहेको र काम गर्ने जनशक्ति तथा औजार उपकरणको अभाव नरहेकाले लक्ष्यअनुसार नै ट्रस जडान कार्य सम्पन्न हुने कम्पनीले जनाएको छ । ट्रस जडानको काम हुन थालेपछि मोटरेवल पुलको प्रतीक्षामा रहेका स्थानीय बासिन्दामा खुसी छाएको छ । स्थानीय तहका जनप्रतिनिधिसहितका सरोकारवाला र स्थानीयवासीले सामाजिक सञ्जालमार्फत पुलको ट्रस जडान गर्न थालेकोमा खुशी व्यक्त गर्दै निर्माण कम्पनीलाई धन्यवाद दिएका छन् ।
स्थानीयवासीमा भने बर्खायाम सुरु भइसकेकाले पुलको काम निरन्तर हुने नहुनेमा संशय रहेको छ । वर्षातको समयमा तमोर नदीमा पानीको बहाव बढ्ने र बाढी आउन सक्नेभन्दै ढुक्कले काम गर्न पाउने र लक्ष्यअनुसार पुल जडानको काम सम्पन्न हुनेमा स्थानीयलाई संशय लागेको हो । बर्खायामको समय भइसकेकाले पुलको ट्रस जडानको काम सुरु गर्न केही ढिलो भएको स्थानीयको भनाइ रहेको छ ।
यता पाँचथर र ताप्लेजुङ दुवैतर्फ यातायातका साधन सञ्चालन गर्न मिल्नेगरी तमोर कोरिडोर सडक निर्माण भए पनि समयमा पुल निर्माण नहुँदा यात्रु तथा उपभोक्ताले यातायात सुविधाबाट बञ्चित हुनुपरेको छ । लामो समयसम्म अर्थात सात÷आठ वर्षको अवधिमा पनि तमोर नदीको उक्त पुल निर्माण नगर्दा सरोकारवाला र स्थानीय आक्रोसितसमेत हुँदै आएका थिए ।
यहाँको आठराई त्रिबेणी गाउँपालिकाका अध्यक्ष दीपेन्द्र पोमु (दिपेन) ले पछिल्लो केही वर्षयता पुल निर्माणका लागि निर्माण कम्पनी र नियमक निकाय तमोर कोरिडोर (सुभाङखोला–दोभान–ओलाङ्चुङगोला) सडक योजनामा निरन्तर दबाब दिँदै आउनुभएको थियो । अध्यक्ष पोमुले पुल निर्माण गर्न सम्बन्धित पक्षलाई निरन्तर दबाब दिने तथा ध्यानाकर्षण र पहल गरिरहनु भएको थियो ।
ताप्लेजुङबाट प्रमुख जिल्ला अधिकारीहरु, उद्योगी व्यवसायी लगायतका सरोकारवालाले पनि पुल निर्माण स्थलको पटक–पटक स्थलगत अनुगमन र निरीक्षण गर्ने गर्नुभएको थियो । स्थानीय तहका पदाधिकारी, सरोकारवाला लगायतको चौतर्फी दबाब बढ्दै गएपछि गत वर्षदेखि मात्र निर्माण कम्पनीले पुलको काममा केही सक्रियता बढाएको थियो ।
मोटरेवल पुलको बेस निर्माणसहित जिप बनाउने लगायतका काममा निर्माण पक्षले बढाएको सक्रियता र जनप्रतिनिधि तथा अन्य सरोकारवालाको नियमित निगरानीकै कारण पुलको ट्रस जडान गर्ने स्तरसम्मको प्रगति भएको हो । निर्माण कम्पनी एमएस सपना याक्थुङ जेभीले २०७४ फागुन पहिलो साता भ्याट र पिएससहित २२ करोड पाँच लाख ७७ हजार ८९० रूपियाँमा उक्त पुल निर्माण गर्ने जिम्मा पाएको थियो ।
स्थानीयका अनुसार पुल निर्माण गर्ने जिम्मा पाएपछि निर्माण कम्पनीले काम (ठेक्का) को सम्झौता गरी सुरुदेखि नै बेला बेलामा काम गर्ने गरेको थियो । काम गरे झैँ गर्दै नियमित र निरन्तरता नदिई काममा हेलचेक्र्याइँ गरेका कारण आठ वर्ष बितिसक्दा पनि पुल निर्माण नभएको स्थानीयको आरोम रहेको छ । तमोर नदीको उक्त पुल निर्माण नभएकै कारण तमोर कोरिडोरअन्तर्गत पाँचथरको पञ्चमी र ताप्लेजुङको निघुरादिन–फुलबारी खण्डमा अहिलेसम्म यातायात सञ्चालन हुन सकेको छैन । तमोर कोरिडोर नेपाल, भारत र चीन जोड्ने छोटो सडक मार्गको रूपमा रहेको छ ।