काठमाडौँ, जेठ ३ गते । अनुसन्धानकर्ता वीणा जोशी राजभण्डारीले लेख्नुभएको ‘नेवार समुदायको परम्परागत मकुन्डोनाच’ नामक पुस्तक सार्वजनिक भएको छ । आइतबार काठमाडौँमा आयोजित विशेष कार्यक्रममा काठमाडौँ उपत्यका भित्रका विभिन्न क्षेत्रका नेवार समुदायका गुरुहरूले संयुक्त रुपमा पुस्तक सार्वजनिक गर्नुभएको हो ।
यल नेवाः समाजले आयोजना गरेको कार्यक्रमको उद्घाटन लोपोन्मुख महाली बाजाको धुनबाट भएको थियो । मुहाली बाजालाई कतिपयले सनाइ बजा भनेरसमेत बुझ्ने गरेका छन् ।
करिब १४ सय पृष्ठको ‘नेवार समुदायका परम्परागत मकुन्डोनाच’ पुस्तकका लेखककी सय वर्षीया आमा गङ्गादेवी राजभण्डारीसँगै १५ जना नेवार गुरुले पुस्तक सार्वजनिक गर्नुभएको हो । ङ्यात भुलु अजिमाका मुलगुरु देवकृष्ण महर्जन, किलागलको देवीनाचका मुलगुरु ब्रम्हु महर्जन, सिकाली प्याखंका मुलगुरु महन्तलाल डङ्गोल, जल प्याखंको मुलगुरु धनबहादुर महर्जन, कीर्तिपुरको इन्द्रायणी देवी प्याखंको मुलगुरु बेखालाल माली, ठेच्वको इन्द्रायणी देवीको नाचका मूलगुरु धर्मराज माली, काठमाडौँ गथुप्याखंका नृत्यगुरु सूर्यनारायण मालाकार, ललितपुर कार्तिक नाच परम्परागत गुरु प्रतापधर शर्मा, संस्कृत शिरोमणि हरिराम जोशी, चर्या सङ्गीतविद् यज्ञमानपति बज्राचार्य, ललितपुर चर्या नृत्यगुरु पदमराज बज्राचार्य, ललितपुर चर्या नृत्यगुरु हेमबज्र बज्राचार्य, आधुनिक रङ्गमञ्च नाचका गुरु रमा मास्के राजवाहक, दाप्चा तल्लो हदियाको नाचगुरु रामेश्वर श्रेष्ठलगायतले पुस्तक एकसाथ सार्वजनिक गर्नुभएको हो ।

लेखक जोशीले २०२६ सालदेखि अनुसन्धान र सङ्कलन गरेर बृहत् अनुसन्धानमुलक कृति सार्वजनिक गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै लेखक जोशीले सुरुमा नेपालभरका सबै जातजातिको अनुसन्धान गर्ने योजना बनाएको भए पनि त्यो सम्भव नभएपछि मकुन्डो नाचमा केन्द्रित भएको बताउनुभयो ।
उहाँले पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेपछि नृत्यमा विभिन्न आयाम थपिएको उल्लेख गर्नुहुँदै २०१६ सालदेखि मात्र केटी अर्थात् युवतीलाई नाच्न दिएको कुरा सम्झना गर्नुभयो । उहाँले नृत्य शारीरिक मात्र नभएर मानसिक व्यायाम भएको बताउनुभयो ।
पुस्तकलाई विभिन्न १७ खण्डमा बाँडेर प्रकाशन गरिएको छ । पहिलो खण्डमा ऐतिहासिक परिपेक्ष्यमा नाच, नेवार समुदायको परम्परागत मुकुन्डोनाचका रङ्गभूमि, रङ्गकर्मी नेवारको संक्षिप्त चिनारी र नेपाल उपत्यककामा नृत्यको इतिहास र यसका आयाम बारे लेखिएको छ ।

दोस्रो खण्डमा नेवार समुदायको परम्परागत मुकुन्डोनाच प्रस्तुत गरिने सन्दर्भबारे उल्लेख गरिएको छ भने तेस्रो खण्डमा पात्र परिचय समेटिएको छ । चौथो खण्डमा शास्त्रीय नर्तन प्रविधि र पाँचौँ खण्डमा चर्यानर्तन पद्धति समेटिएको छ । त्यसैगरी कात्तिक नाच, गथु प्याखँ, देवीनाचलाई क्रमश छैटौं, सातौं र आठौं खण्डमा समेटिएको छ ।
पुस्तकको नवौ खण्डमा भक्तपुर थिमीका महाकालीनाचको चर्चा गरिएको छ । दशौँ खण्डमा बोद्यको नीलवाराहीनाच, एघारौँ खण्डमा भैरवनाच र बाह्रौँ खण्डमा श्वेतकालीनाच समेटिएका छन् । जल, हर वा हरसिद्धिनाच तेहौँ खण्डमा राखिएको छ भने चौधौँ खण्डमा सिकालीप्याखं अर्थात् रुद्रायणीनाच समेटिएको छ ।
हलचोकको आकाशभैरवनाच अर्थात् सवःभकुप्याखं पन्धौँ खण्डमा समेटिएको छ भने सोहौँ खण्डमा लाखम् नाच र सत्रौँ खण्डमा भक्तपुरको माकः प्वाखं एवम् बाग्लुङ, बेनी र कुस्माका हनुमान्नाच समेटिएका छन् ।

यल नेवाः समाजका अध्यक्ष नानुकाजी शाक्यले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा नेवार समुदायका विभिन्न नृत्य प्रस्तुत गरिएको थियो ।