• ३ जेठ २०८३, आइतबार

रसियन जिएम पेटलाई अन्तर्राष्ट्रिय बुद्धिचाल उपाधि

blog

खुलातर्फ विजेता जिएम किरियाकोभ पेट उपाधिसहित ।

काठमाडौँ, जेठ ३ गते । छैटौँ संस्करणको दोलखा खुला अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि रसियाका जिएम किरियाकोभ पेटले जित्नुभएको छ । 

उच्च वरीयताका खेलाडी पेटले भारत र नेपालका खेलाडीलाई पछि पार्दै उपाधि जित्नुभएको हो । नवौँ चरणको खेलसम्म ७.५ अङ्क बनाउनुभएका पेटले प्रोग्रेसिभ प्वाइन्टका आधारमा बाजी मार्नुभयो । उपाधिसँगै उहाँले एक लाख रुपियाँ पुरस्कार पाउनुभयो । 

यस्तै दोस्रो वरियताका २३२४ रेटेड भारतीय खेलाडी अर्पण दासले दोस्रो हुनुभयो । उहाँले ६० हजार रुपियाँ पुरस्कार पाउनुभयो । नेपालका २०४० रेठेड खेलाडी रिसोन थापा तेस्रो हुनुभयो । प्रोग्रेसिभ ५१.५ प्वाइन्ट जोड्नुभएको उहाँले ४० हजार रुपियाँ पुरस्कार पाउनुभयो । 

यसैगरी तीन जना खेलाडीले समान सात अङ्क जोड्दै चौथो देखि छैटौँ स्थानमा रहन सफल भए । नेपालका पुरुषोत्तम सिलवाल चौथो, भारतका अंकित दास पाँचौँ र नेपालका धिरेन राई छैठौँ हुनुभयो । उहाँहरुले क्रमशः २५, १५ र १० हजार रुपियाँ पाउनुभयो । 

भारतका राहुल गुरुङ सातौँ, थेन्दुप तामाङ आठौँ, विनायक सिंह यादव नवौँ र नेपालका प्रसान्त गुरुङ १०औँ स्थानमा रहनुभयो । खुला कूल पाँच लाख दुई हजार रुपियाँ राशी रहेको प्रतियोगितामा विभिन्न आठ देशका एक सय ४० खेलाडीले प्रतिस्पर्धा गरेका थिए । 

यस्तै सुजेन्द्रप्रसाद श्रेष्ठ स्मृति अन्तर्राष्ट्रिय र्‍यापिडतर्फ भारतका १९८१ रेटेड राहुल गुरुङ पहिलो हुनुभयो । ७.५ अङ्क बनाउनुभएका राहुलले उपाधिसँगै २५ हजार रुपियाँ पुरस्कार पाउनुभयो ।

रसियाका जिएम किरियाकोभ पेट दोस्रो हुनुभयो । सात अङ्क बनाउनुभएका पेटले १५ हजार रुपियाँ पुरस्कार पाउनुभयो । समान सात अङ्क बनाउनुभएका भारतका १६०६ रेटेड रनित मैती तेस्रो हुनुभयो । उहाँले १० हजार रुपियाँ पुरस्कार पाउनुभयो । नेपालका रुपेश जैसवाल चौथो बन्दै सात हजार रुपियाँ हात पार्नुभयो । 

दोलखा चेस होमले आयोजना गरेको ६ दिने प्रतियोगिताका विजेतालाई भिमेश्वर नगरपालिकाका इश्वर नारायण मानन्धर, मेलुङ गाउँपालिकाका अध्यक्ष हिराकुमार थोकर, नेपाल बुद्धिचाल महासङ्घका अध्यक्ष हेराकाजी महर्जन, दोलखा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष आशिष घिसिङ,  बुद्धिचाल महासङ्घका प्रवक्ता राजु ताम्राकार, आयोजक दोलखा चेस होमका अध्यक्ष गोविन्दमान श्रेष्ठलगायतले पुरस्कार प्रदान गर्नुभयो ।